२ साउन, काठमाडौं । कोरोनाबाट अतिप्रभावित होटेल, पर्यटन तथा हवाईसहित यातायात क्षेत्रलाई समेत मौद्रिक नीतिले सम्बोधनको प्रयास गरेको छ । खासगरी बजेटमा उल्लेख कतिपय सहुलियत र कोष स्थापनाका कार्यक्रममार्फत मौद्रिक नीतिमा यी क्षेत्रलाई सम्बोधनको प्रयास गरिएको छ ।
कोभिड १९ को संक्रमणबाट अर्थतन्त्रलाई पुनरुत्थान गर्न कृषि, उर्जा, पर्यटन, घरेलु, साना तथा मझौला उद्योगमा कर्जा लगानीलाई प्रोत्साहन गर्ने नीति नेपाल राष्ट्र बैंकले लिएको छ । राष्ट्र बैंकले पुनरकर्जाको पहुँच विकेन्दि्रत गर्दै यी क्षेत्रलाई प्राथमिकतामा राखेको छ ।
कोभिड १९ संकटबाट अतिप्रभावित हवाई उड्डयन व्यवसाय, यातायात, होटेल, रेष्टुरेन्टलगायत पर्यटन क्षेत्रका उद्यम-व्यवसाय पुनरुत्थानका लागि चालु पुँजी कर्जा, सहुलियतपूर्ण कर्जा र पुनर्कर्जा प्रवाहलाई प्राथमिकता दिइने गभर्नर महाप्रसाद अधिकारीले बताए ।
पर्यटन क्षेत्रसँग सम्बन्धित निर्माणाधिन आयोजना निर्माण सम्पन्न गर्न पूँजिको अभाव हुने भएमा त्यस्ता आयोजनाका लागि बैंक तथा वित्तीय संस्थाबाट सहज ढंगले कर्जा उपलब्ध गराइने समेत उनको भनाइ छ । यसले तत्काल पूँजीको अभावले रोकिएका पर्यटकीय संरचना, होटेल तथा अन्य लगानी सूचारु हुने विश्वास लिइएको छ ।
होटेल, पर्यटन र हवाई उद्योगले विगतबाटै मागिरहेका विषयवस्तुलाई बजेट र मौदि्रक नीतिले सम्बोधन गरेपनि कार्यान्वयनमा भने शंका रहेको व्यवसायीको भनाइ छ । होटेल संघ नेपाल (हान)का प्रथम उपाध्यक्ष विनायक शाह भन्छन्, ‘नीति त राम्रो छ, नेपालमा नीति राम्रो, कार्यान्वयन कमजोर हुने परिपाटी नदोहोरियोस ।’
राष्ट्र बैंकले घोषणा गरेका कतिपय नीतिहरुसमेत संचालक समितिको निर्णयलगायत अन्य बाहना बनाएर निजी बैंकले आनाकानी गर्ने गरेको भन्दै उनले यसको सम्बोधनमा राष्ट्र बैंक चुस्त हुनुपर्ने उनको सुझाव छ ।
कोभिड लक्षित गरी आएका कार्यक्रमको कार्यान्वयन, उत्पत्न भएका समस्या समाधान गर्न छुट्टै संयन्त्रको आवश्यकता उनले औल्याए । ‘घोषणा भएका सुविधा टाठाबाठा र ठूलाले लैजाने, साना उद्यमी हेरेको हेर्यै भयो भने ?,’ उनको प्रश्न छ ।
सानो लगानीकर्तालाई कर्जामा प्राथमिकता
१ करोड रुपैयाँ भन्दा कम रकमका कर्जालाई प्रोत्साहन गर्ने गरी नेपाल राष्ट्र बैंकले मौदि्रक नीति ल्याएको छ । खासगरी सानो लगानीबाट स्वद्यमी बन्न चाहनेलाई लक्षित गर्दै सानो कर्जालाई प्रोत्साहन गर्ने गरी नीति आएको छ ।
वाणिज्य बैंकहरुले २०८१ असार मसान्तसम्म लघु, साना तथा मझौता उद्यमका क्षेत्रमा १ करोड भन्दा कम रकमका कर्जा आफ्नो कुल कर्जा लगानीको न्यूनतम १५ प्रतिशत हुने गरी प्रवाह गर्नुपर्ने व्यवस्था मिलाइने गभर्नर अधिकारीले जानकारी दिए ।
यसबाट थोरै लगानीबाट उद्यमी बन्न चाहने युवाले बैंकबाट सहजै कर्जा प्राप्त गर्नेछन् । अहिले बैंक तथा वित्तीय संस्थाको प्राथमिकता ठूलो लगानीको कर्जामा आकषिर्त देखिन्छ ।
५० अर्बको कोष
सरकारले चालु आर्थिक वर्ष २०७७/७८ को बजेटमा व्यवस्था भएअनुसार कोरोनाबाट अति प्रभावित पेशा/व्यवसाय सञ्चालनका लागि ५० अर्बको कोष कार्यान्वयनमा आउने भएको छ । मौदि्रक नीतिले उक्त कोष परिचालनको घोषणा गरेको हो । निश्चित मापदण्ड बनाएर ५० अर्बको कोष परिचालन गरिने गभर्नर अधिकारीले जानकारी दिए ।
उनका अनुसार यो कोषको रकम पर्यटन, घरेलु, साना तथा मझौला उद्यमलगायत व्यवसायको संचालन र निरन्तरतामा उपयोग गरिने भएको छ ।
ती क्षेत्रका श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानी र अति प्रभावित क्षेत्रका रोजगारी गुम्नेलाई उद्यमशिलताको अवसर दिन यो रकम उपयोग हुने भएको छ । कोषको रकम बैक तथा वित्तीय संस्थाबाट ५ प्रतिशत ब्याजमा कर्जाका रुपमा उपलब्ध हुनेछ ।
कोरोनाबाट अतिप्रभावित उद्योग-व्यवसाय सूचारु गर्न सहजीकरण गर्ने उद्देश्यले ऋणीको आवश्यकता र परियोजना/व्यवसायको सम्भाब्यताका आधारमा २०७६ चैतमा कायम भएको चालु पूँजि कर्जाको सीमा बढीमा २० प्रतिशतसम्म सम्बन्धित बैंक तथा वित्तीय र्सस्थाले थप कर्जा प्रवाह गर्न सक्ने व्यवस्था समेत मौद्रिक नीतिले गरेको छ ।
विकास बैंक र वित्त कम्पनीले समेत अब सानो लगानीलाई प्राथमिकता दिनुपर्ने भएको छ । यसमा कृषि, लघु, घरेलु तथा साना उद्यम, उर्जा र पर्यटन क्षेत्रलगायत तोकिएको छ ।
२०८१ असार समान्तसम्म यी क्षेत्रमा विकास बैंकले कुज कर्जा लगानीको न्यूनतम २० र वित्त कम्पनीले १५ प्रतिशत लगानी गर्नुपर्ने नीति आएको छ । यसले ग्रामिण भेगसम्म लगानी विस्तारमा सहयोग पुग्ने अपेक्षा छ ।
आर्थिक पुनरुत्थान लक्षित विशेष कार्यक्रम
मौदि्रक नीतिमार्फत आर्थिक पुनरुत्थान लक्षित विशेष कार्यक्रमबाट समेत पर्यटन, हवाई र यातायात क्षेत्रलाई सम्बोधनको प्रयास गरिएको छ ।
यसमा पुनर्कर्जाको परिचालनलाई प्राथमिकता दिइएको छ । कर्जाको भुक्तानीको अवधिको म्याद थप, कर्जाको पुनसंरचना तथा पुनर्तालिकीकरणमा समेत कोरोनाबाट अतिप्रभावित पर्यटन क्षेत्रलाई सहुलियत दिइएको छ ।
गभर्नर अधिकारीका अनुसार कोभिड १९ को नियन्त्रण र रोकथामका लागि चालिएका कदमका कारण पर्यटनलगायत क्षेत्रले लिएको साँवा ब्याजको भुक्तानीको अवधिको म्याद थप, कर्जाको पुनर्संरचना तथा पुनर्तालिकीकरण गरिने भएको छ ।
कोरोनाबाट अतिप्रभावित क्षेत्रले असार २०७७ सम्म बुझाउनु पर्ने कर्जाको अवधि २०७८ असार मसान्त पुर्याइएको छ । कोरोनापछि तत्काल पुनस्र्थापना हुन नसक्ने पर्यटनलगायत क्षेत्रलाई अति प्रभावित मानेर यस्तो क्षेत्रमा रहेको कर्जा भुक्तानी आवश्यकताअनुसार समय थप समेत गर्न सकिने सुविधा राष्ट्र बैंकले दिएको छ ।
अति प्रभावित क्षेत्रका परियोजनामा प्रवाह भएको कर्जालाई पुनसंरचना तथा पुनर्तालिकीकरणमार्फत पुनरुत्थान गर्न पर्याप्त नभएमा आवश्यकता अनुसार सम्बन्धित निकायसँग समन्वय गरी अन्य विद्युतीय औजारको समेत प्रयोग गरी सुविधा प्रदान गरिने भएको छ ।
निर्माणाधीन पर्यटक स्तरीय होटेललाई कोरोनाका कारण प्रभावित ग्रेस अवधि २ वर्षसम्म मान्न सकिने गरि मौदि्रक नीति आएको छ ।
मुलुकभर स्थानीय तहले गाडी खरिदमा ठूलो धनराशि खर्चेको विषयमा आलोचना भइरहेका बेला झापाको कनकाई नगरपालिकाले सवारीसाधन खरिदका लागि छुट्याएको बजेट प्राविधिक शिक्षामा सदुपयोग गरेको छ।
गत आर्थिक वर्ष २०७६/७७ मा कनकाई नगरसभाले नगरपालिकाको प्रमुख चढ्नका लागि ६० लाख रूपैयाँ बजेट विनियोजन गरेको थियो तर नगरप्रमुख राजेन्द्र पोखरेलले लाखौँ खर्चेर आफ्ना लागि सवारीसाधन खरिद गर्ने प्रस्ताव अस्वीकार गर्दै प्राविधिक शिक्षालय स्थापनामा सो रकम खर्च गरेका हुन।
‘बजेटमा रकम छुट्याइएको थियो, प्रमुखले सवारीसाधन किन्न मान्नुभएन’, कनकाईकी उपप्रमुख मञ्जु प्रसाईले भने, ‘त्यसपछि गाडी किन्ने बजेट प्राविधिक शिक्षालय स्थापनामा खर्च गरियो।’
नगरलाई शैक्षिक हब बनाउने र रोजगारीमूलक शिक्षा प्रदान गर्ने योजनाअनुरुप नगरप्रमुख पोखरेलले नै इञ्जिनीयरिङ विषयको पढाइ हुने कलेज खोल्ने प्रस्ताव अघि बढाएका हुन।
अहिले त्यही सवारीसाधन खरिद गर्ने भनिएको बजेटबाटै सुरू भएको कनकाई पोलिटेक्निक इन्स्टिच्युट सञ्चालनमा छ।
नगरपालिकाले गाडी खरिदका लागि विनियोजन भइसकेको ६० लाख रूपैयाँमध्ये ३० लाख रूपैयाँ रकम कनकाई पोलिटेक्निक इन्स्टिच्युट स्थापनाका लागि लगानी गरिएको र अरु रकम साइकल लेन र पुल निर्माणमा छुट्याइएको प्रमुख प्रशासकीय अधिकृत रुद्र न्यौपानेले जानकारी दिए।
कनकाई–७ दुर्गापुरमा सञ्चालित कनकाई पोलिटेक्निक इन्स्टिच्युटमा पहिलो ब्याचमा ४६ जना विद्यार्थी भर्ना भएका थिए।
त्यहाँ सिटीइभिटीअन्तर्गत तीन वर्षे डिप्लोमा तहको सिभिल इञ्जिनीयरिङ, जियोमेटिक्स इञ्जिनीयरिङ र इन्फरमेसन टेक्नोलोजीको पठनपाठन हुँदै आएको छ।
सो इन्स्टिच्युटलाई नगरपालिकाको सहयोग र विश्वविद्यालयको सम्बन्धनमा सामुदायिक साझेदारीमा आधारित इञ्जिनीयरिङ कलेजको रुपमा विस्तार गर्ने योजना रहेको नगरप्रमुख पोखरेलले बताए।
नयाँ आर्थिक वर्ष २०७७-७८ मा समेत कनकाई नगरपालिकाले सो इन्स्टिच्युटका लागि ३० लाख रूपैयाँ बजेट विनियोजन गरिसकेको छ।
नगरप्रमुख पोखरेलका अनुसार नगरको वडा नं ५ मा इञ्जिनीयरिङ कलेजका लागि आवश्यक भौतिक पूर्वाधार निर्माण गर्न १६ बिगाहा जग्गा लिजमा लिने कार्य भइसकेको छ।
यो परियोजनालाई नगरको गौरव आयोजनामा समेटिएको छ।
यहाँ अध्ययन गर्ने स्थानीय विद्यार्थीलाई नगरपालिकाले नगरभित्रै रोजगारी दिलाउने सोचसमेत बनाएको छ।
‘कमाइका लागि शिक्षा’ कार्यक्रमअन्तर्गत प्राविधिक विद्यार्थीलाई निर्माणाधीन परियोजनामा पारिश्रमिक दिएर काम गराउँदै सिकाउने नयाँ कार्यक्रम अघि बढाइएको नगरपालिकाले जनाएको छ।
साइकल चढ्छन् प्रमुख
नगरपालिका स्थापना हुँदा प्रदेश सरकारले कनकाईलाई एउटा सानो पुरानो जीप दिएको थियो।
अति आवश्यक पर्दा नगरप्रमुख र उपप्रमुखले त्यही गाडी प्रयोग गर्दै आएका छन्।
नगरप्रमुख पोखरेल कहिलेकाहीँ घरबाट साइकल चढेर नगरपालिका आउँछन् भने नजिक फिल्ड जाँदासमेत उनले साइकल प्रयोग गर्ने गरेका छन्।
‘साइक्लिङ कल्चर बनोस् भनेर साइकलको प्रयोग गरेको हुँ’, उनले भने, ‘सानो आम्दानी भएको नगरपालिकाले गाडी खरिदमा लाखौँ खर्च गर्नहुँदैन भन्ने हाम्रो सोच हो।’
नगरपालिकाले गत आर्थिक वर्षको बजेटमा गाडी खरिदका लागि छुट्याइएको बजेट रकमान्तर गरेर छ लाख रूपैयाँ साइकल लेन निर्माणमा लगाउने तयारी गरेको थियो तर कोरोना कहरका कारण साइकल लेनको निर्माण नयाँ आर्थिक वर्षमा मात्र हुने भएको छ।
खानेपानी मन्त्रालयले मेलम्ची खानेपानी आयोजनाभित्रको सुरूङको ढोका फुटेकोबारे अध्ययन गर्न प्राविधिक समिति बनाएको छ।
मन्त्रालयका प्रवक्ता सहसचिव रितेशकुमार शाक्यले सेतोपाटीलाई दिएको जानकारीअनुसार बुधबार सहसचिव रमाकान्त दवाडीको नेतृत्वमा छ जना प्राविधिकको अध्ययन समिति बनाइएको हो।
उक्त समितिले आयोजनाअन्तर्गत सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका अम्बाथानभित्र रहेको गेट नम्बर १७ को ढोका के कारणले खुलेको हो? अध्ययन गरी प्रतिवेदन दिनेछ।
‘सुरूङभित्रको गेट अचानक खुलेको भन्ने आयो। के कति कारणले खुल्यो अध्ययन गरी छिटो प्रतिवेदन दिन छ सदस्यीय प्राविधिक टोली बनाएका छौं। सम्भवत आजै उक्त टोली आयोजनास्थल जानेछ,’ सहसचिव शाक्यले भने।
समितिलाई प्रतिवेदन दिन समय तोकिएको छैन। तर सकेसम्म छिटो प्रतिवेदन दिन भनिएको छ।
अध्ययनपछि मर्मत गर्नुपर्ने देखिएमा छिट्टै मर्मत गरी पुन: सुरूङमा पानी परीक्षण गर्नुपर्नेछ।
आयोजनाको इन्टेकदेखि करिब आठ सय मिटरको दूरीमा अम्बाथानभित्र पानी शुद्धीकरण गर्ने ठाउँ छ। त्यहाँ तीन वटा ढोका छन्। तीमध्ये एउटा ढोका अचानक खुल्दा मंगलबार आयोजनाका इञ्जिनियरसहित दुई जना बेपत्ता र दुई जना घाइते छन्।
आयोजनाका प्रमुख त्रिरेशप्रसाद खत्रीले प्राविधिक टोलीले अध्ययन गरेर प्रतिवेदन दिएपछि मात्रै के कारणले सुरूङको ढोका खुलेको पत्ता लाग्ने बताए।
‘मन्त्रालयले बनाएको प्राविधिक टोली घटनास्थल पुगेर अध्ययन गरेर प्रतिवेदन दिएपछि मात्रै यही कारणले ढोका खुलेको हो भन्न सक्छु,’ आयोजना प्रमुख खत्रीले सेतोपाटीसँग भने,‘पानीको चापले सुरूङको ढोकाको नटबोल्ट खुस्केर खुलेको हो कि भन्ने अनुमान छ।’
उनले अहिले नै मर्मतका लागि कति समय लाग्छ भन्न नसकिने बताए।
‘एक/दुई दिनमा प्राविधिक समितिले रिपोर्ट देला। त्यसपछि मर्मत तत्कालै हुन्छ,’ उनले भने, ‘सुरूङको ढोका फुटेजस्तो हामीलाई लाग्दैन। जुन हिसाबले ढोका बन्द हुनुपर्ने हो त्यो भएन। पानीको चाप बढ्दै जाँदा अकस्मात ढोका खुल्यो र तीव्र वेगको पानीले इञ्जिनियरसहितलाई बगाएको हुनुपर्छ।’
पानीको चाप नाप्न सुरूङभित्रको गेट नम्बर १७ पुगेर फर्कंदै गरेका चार जना सुरूङको उक्त ढोका खुलेर आएको पानीमा परेका थिए।
दुई जनाको उद्धार गरिए पनि दुई जना अझै बेपत्ता छन्। उनीहरू चढेर सुरूङभित्र पुगेको रातो हाइलक्स गाडी पनि पानीले बगाएर मेलम्ची खोलामा पुर्याइदिएको छ।
‘सुरूङको ढोकामा १७ मिटर लेबल बराबरको चाप थियो। सुरूङको गेटमा छ तलाको घरजतिको चाप थियो भनौं न,’ उनले भने, ‘उक्त चापले सुरूङको ढोकाको नटबोल्ट खुलेर पानी बाहिर आएको हुनुपर्छ।’
मुहानस्थलबाट पठाइएको पानी गेट नम्बर १७ मा शुद्धीकरण भएपछि त्यहाँबाट सुन्दरीजलतर्फ पठाइने उनले बताए।
असार २१ गते मुहानदेखि अम्बाथानसम्म पानी पठाएर सफल परीक्षण गरिएको थियो।
त्यहाँबाट सुन्दरीजलतर्फ सुरूङबाट पानी पठाउन पानी ताल्ने काम भइरहँदा एक्कासि गेट नम्बर १७ को ढोका खुलेको हो।
मुहानदेखि सुन्दरीजलसम्म करिब २७ किलोमिटर सुरूङमा चार ठाउँमा मुख्य सुरूङ हेर्न जानका लागि वैकल्पिक सुरूङ छन्।
‘गामथुम, सिन्धु, सुन्दरीजल र अम्बाथाममा गरी चार वटा सुरूङ छ, जहाँबाट मुख्य सुरूङको अवस्था हेर्न जान मिल्छ,’ उनले भने।
हिजो घटना भएको ठाउँमा तीन वटा ढोका छन्। तीमध्ये एउटा खुल्दा पानी वैकल्पिक टनेलबाट बाहिर मेलम्ची खोलामा निस्केको थियो।
उक्त घटनामा परेर इञ्जिनियर शेखर खनाल र प्राविधिक पेम्बादोर्जे तामाङ घाइते भएका छन्।
सुरूङभित्रको ढोका खुलेपछि आएको तीव्र बेगको पानीमा बग्दै आएका उनीहरूलाई उद्धार गरी हेलिकप्टरबाट काठमाडौंस्थित ग्रान्डी अस्पताल ल्याइएको थियो।
दुई जना बेपत्ताको अझै खोजी कार्य जारी छ। सिन्धुपाल्चोक प्रहरी प्रमुख उज्ज्वल महर्जनले घटनास्थलदेखि दोलालघाटसम्म मेलम्ची खोला किनारमा प्रहरी परिचालन गरेर बेपत्ताहरूको खोजी भइरहेको जानकारी दिए।
मेलम्चीको पानी काठमाडौं ल्याउन सुरूङमा पानी पठाएर परीक्षण गर्ने क्रममा सुरूङको ढोका खुलेको हो।सुरूङ भरिन करिब २० दिन लाग्ने आयोजनाको भनाइ थियो।
मुहानबाट सुरूङमा प्रतिसेकेन्ड छ हजार लिटर पानी पठाउन सकिने भए पनि परीक्षणका क्रममा दुर्घटना नहोस् भनेर पाँच प्रतिशत पानी मात्रै पठाइएको थियो। थोरै पानी पठाए पनि चाप थेग्न नसक्दा गेट नम्बर १७ को ढोका अकस्मात् खुल्दा दुई घाइते र दुई बेपत्ता भएका हुन्।
३१ असार, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले ७ फागुनदेखि सुरु हुने पार्टीको १४ औं महाधिवेशनबाट नेतृत्व परिवर्तन हुनुपर्ने बताएका छन् ।
समृद्धि अभियान सञ्चालन गर्न सक्ने नेतृत्व पार्टीलाई आवश्यक परेको बताउँदै उनले आगामी महाधिवेशनबाट नेतृत्व परिवर्तन हुनुपर्छ भनेर आफूहरू लागिपरेको उनले बताए ।
ठमेलको चाक्सीबारीस्थित आफ्नै निवासमा बुधबार आयोजित पार्टी प्रवेश कार्यक्रममा कांग्रेसका पूर्वमहामन्त्री सिंहले भने, ‘हाम्रो महाधिवेशन फागुनमा छ । नेतृत्व परिवर्तन हुनुपर्छ भनेर हामी लागिरहेका छौं ।’
कम्युनिष्टहरुले समृद्धि अभियान अगाडि नबढाएको भन्दै उनले अब कांग्रेसले समृद्धि अभियान अगाडि बढाउने बताए । त्यसका लागि नेतृत्व परिवर्तन गर्नुपर्ने उनको जोड छ ।
नेकपा नेतृत्वको वर्तमान सरकारले कोरोना महामारीमा प्रभावकारी काम गर्न नसकेको, कोरोना परीक्षणका लागि आवश्यक सामग्री खरिदमा भ्रष्टाचार भएको र नेपालको आन्तरिक राजनीतिमा सरकारले विदेशीलाई खुलेआम हस्तक्षेप गर्न दिएको आरोप सिंहले लगाए ।
पूर्वउपप्रधानमन्त्रीसमेत रहेका सिंहले भने, ‘चाहिने नचाहिने कुरा गरेर हाम्रो आन्तरिक मामिलामा खुलेआम विदेशीलाई स्वागत गरेजस्तो देखिएको छ ।’
कार्यक्रममा ठमेल क्षेत्रका २७ जनालाई नेता सिंहले अबिर लगाइदिएर र काठमाडौं जिल्ला अध्यक्ष सबुज बानियाँले खादा लगाइदिएर पार्टीमा स्वागत गरेका थिए ।
काठमाडौँ – देशभर मनसुनी वायुको प्रभावका कारण सक्रिय हुँदा मौसम बदली भएको छ।
अहिले देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
बिहीबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही सातै प्रदेशका धेरैजसो स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा र प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।
राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रही सातै प्रदेशका धेरैजसो स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
प्रदेश १, प्रदेश २ ,बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदुर पश्चिम प्रदेशका थोरै स्थान र कर्णाली प्रदेशका एक–दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको मौसमविदले जानकारी दिएका छन् ।
देशभरका नदीहरुमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू–क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढलरपानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।
अबको केही दिन कनकाइ, कोशी, कमला, बागमती, नारायणी तथा यसका सहायक नदीमा पानीको सतह बढेर खतराको तहसम्म हुनसक्ने पूर्वानुमान छ ।
खासगरी प्रदेश १ र २ को चुरे तथा तराई क्षेत्रमा बग्ने खोला तथा नदीमा ठूलो बाढी आउने हुनाले त्यस क्षेत्रका बासिन्दालाई सतर्क र विशेष चनाखो रहन आग्रह गरिएको मौसमपूर्वानुमान महाशाखाले जनाएको छ ।
उक्त समयमा तराईको झापा, मोरङ, सुनसरी, सप्तरी, धनुषा, महोत्तरी, सिरहा, सर्लाही, बारा, पर्सा, रौतहट, चितवनलगायत जिल्लाका कतिपय होचो ठाउँमा डुबानको सम्भावना छ ।
प्रदेश १ सरकारले कोभिड– १९ रोकथाम, नियन्त्रण तथा उपचारका लागि हालसम्म २७ करोड ३३ लाख ८९ हजार रुपैयाँ खर्च गरेको छ । शुक्रबार पत्रकार सम्मेलन गरी कोभिड– १९ रोकथाम, नियन्त्रण तथा उपचारको विवरण सार्वजनिक गर्दै प्रदेश १ सरकारले हालसम्म जम्मा २७ करोड ३३ लाख ८९ हजार आठ सय ९० रुपैया खर्च भएको जानकारी गराएको हो ।
प्रदेश १ सरकारले सार्वजनिक गरेको कोभिड– १९ को खर्च विवरणअनुसार हालसम्म १९ करोड ८२ लाख ७१ हजार रुपैयाँ निकासा भएर खर्च भइसकेको छ । बाँकी रकम निकासा भएर खर्च हुने क्रममा रहेको छ ।
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सरकारलाई पारदर्शी र जवाफदेही बनाउन कोभिड– १९ का लागि आफ्नो नेतृत्वको सरकारले गरेको सबै खर्च विवरण सार्वजनिक गरेको र आगामी दिनमा हरेक हप्ता सार्वजनिक गर्दै जाने बताए । उनले कोभिड– १९ रोकथाम, नियन्त्रण र उपचारका लागि सरकार सक्रिय र पारदर्शी तरिकाले निरन्तर लागिपर्ने र एक पैसा पनि हिनामिना हुन नदिने प्रतिबद्धता जनाए ।
बारामा चट्याङ लागेर ४ जना महिलाको मृत्यु भएको छ भने रौतहटको एक घरमा लाखौँको क्षती भएको छ । आज बिहान वर्षासँगै परेको चट्याङ लागेर बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १२ शीतलपुर र फेटा गाँउपालिका वडा नम्बर १ मा गरी ४ जनाको मृत्यु भएको हो ।
चट्याङ लागेर मृत्यु हुनेमा शीतलपुरस्थित खेतमा रोपाइँ गरिरहेकी ३५ वर्षीया आशादेवी महतो, ४५ वर्षीया हलिमा खातुन रहेकी बारा प्रहरी प्रवक्ता डिएसपी गौतम मिश्राले जानकारी दिएका छन् ।
त्यसैगरी फेटा गाँउमा एउटा घरमा चटाङ लग्दा एकै घरका ३० वर्षीया ईन्दु देवी महतो र ४० वर्षीया सुनारपति देवी महतोको घटानस्थलमै मृत्यु भएको प्रवतmा मिश्रले जानकारी दिएका छन् ।
चटाङ लागेर घाइते भएका फेँटाका ५ जनालाई कलैया अस्पताल लगिएको छ ।
उता, बिहान ८ बजेको समय रौतहटको कटहरिया ५ बजारमै एउटा घरमा चट्याङ लाग्दा लाखौँ बराबरको क्षति भएको छ । स्थानीय कृपाशंकर यादवको घरमा चट्याङ लागेर घरमा रहेको एकथान एलिडि टिभी, कम्प्युटर, राउटरलगायत लाखौँ बराबरको सामान पूर्णरुपमा क्षति भएको पीडित यादवले बताएका छन्
मोरङको सुन्दरहरैँचा नगरपालिका– १२ विराटचौकमा सोमबार राति आगलागी हुँदा तीनवटा होटेलमा क्षति पुगेको छ । ए–वान खाजा घरबाट राति १ बजेदेखि आगलागी सुरु भएको थियो ।
आगो फैलिएर पोख्रेल स्टाफ होटेल र धनकुटे समीर स्टाफ होटेलमा पनि क्षति पुगेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी प्रमुख ऋषिराज ढकालले बताए । ढकालका अनुसार आगो निभाउने क्रममा ६ जना स्थानीय घाइते भएका छन् ।
तीनजनाको अवस्था गम्भीर छ । आगोले पोलेर सुन्दरहरैँचा–१२ का ५६ वर्षीय छत्रबहादुर थापा, सुन्दरहरैँचा–९ का ४२ वर्षीय गोविन्द दाहाल, ३३ वर्षीय खगेन्द्र लुइँटेल, ३८ वर्षीय रणबहादुर बस्नेत, सुन्दरहरैँचा– १० का ४२ वर्षीय बाबुराम बस्नेत र ४५ वर्षीय अम्बिकाप्रसाद ढुंगेल घाइते भएको प्रहरीले जनाएको छ ।
घाइतेहरूको विराटनगरका अस्पताल र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ । आगलागीको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । आगलागीमा परेर ६ लाखभन्दा बढीको क्षति भएको प्रहरीको अनुमान छ
भारतद्वारा अतिक्रमित भूमि समेटेर नक्सा, निसान छाप तयार गर्ने र संविधानको अंग बनाउन नेपालका सबै दलहरूले सर्वसम्मति देखाएकोमा राष्ट्रपति विद्यादेवी भण्डारीले सबै राजनीतिक दलहरूलाई धन्यवाद दिएकी छिन् । शीतलनिवासमा बुधबार राजनीतिक दलहरूका शीर्ष नेताहरूलाई बोलाएर भण्डारीले राष्ट्रिय सवालमा एकता देखाएको भन्दै धन्यवाद दिएको राष्ट्रिय जनमोर्चाका नेता चित्रबहादुर केसीले जानकारी दिए ।
‘अतिक्रमित भूभागलाई समेटेर नेपालले नक्सा सार्वजनिक गर्ने, निसान छाप बनाउने र संविधान संशाेधन गरी यसको अंग बनाउने विषयमा राजनीतिक दलहरूले राष्ट्रिय एकता देखाएकोमा धन्यवाद दिन राष्ट्रपतिले बोलाउनुभएको रहेछ,’ केसीले नयाँ पत्रिकासँग भने, ‘राष्ट्रियताको सवालमा देशभरका दल एकजुट भएकोले बधाई दिन बोलाएकी हुँ । राष्ट्रिय अखण्डताको पक्षमा यसरी दलहरूले एकता देखाउँदा राष्ट्रियता झन् बलियो हुँदै जान्छ भन्ने उहाँको कुरा थियो ।’
राष्ट्रपतिले देश कोरोना महामारीको जोखिममा छ, सबैले सहयोग गर्नुपर्ने पनि बताएकी थिइन् । कोरोनालाई परास्त गर्न सबैलाई सहयोग गर्न उनले आग्रह गरेकी थिइन् । उनको आग्रहपछि शीतलनिवासमा कुनै दोहोरो कुरा नभएको केसीले बताए । कांग्रेस नेता रामचन्द्र पौडेलले पनि नक्साका विषयमा राष्ट्रपतिले सामान्य वक्तव्य दिएपछि चिया पिएर फर्किएको जानकारी दिए । छलफलमा प्रधानमन्त्री केपी ओली, उपराष्ट्रपति, सभामुखसहित राजनीतिक दलबाट शीर्ष नेताहरू सहभागी थिए ।
मजस्तो ‘नन प्रोफेसनल’ लेखकले प्रायः आफ्नो मोजमस्ती, आमोदप्रमोद, भावना र अभिव्यक्ति सम्प्रेषण हेतु लेख्छन्। यसको पहिलो लक्ष्य एवं सर्त ‘स्वान्त सुखाय’ नै हुन्छ।
चीन-भारत र विश्वका अन्य कतिपय शक्तिशाली राष्ट्रहरुको काम कारवाहीले वर्तमानको परिदृश्य भीषण युद्ध उन्मुख हुँदै गइरहेको यथार्थलाई नजरअन्दाज गर्न सकिन्न। चीन- भारत बीच लद्दाखको गलवान घाटीमा भएको हिंस्रक भिडन्त विश्व शान्ति हरण गर्ने दिशाको संकेत होइन भन्ने आशा र विश्वास राख्नु सहज एवं बुद्धिमत्तापूर्ण आँकलन हुन सक्दैन।
यसै प्रकरणबारे एकजना पत्रकार मित्रसँग गफ हुँदा उहाँको अभिव्यक्तिले मलाई यसबारे लेखन विवश तुल्यायो। निश्चय पनि युद्ध विषयक लेख्दा मलाई कुनै सुखद अनुभूति हुँदैन।
निकट भविष्यमा चीन समावेश रहेको कुनै युद्ध भएको खण्डमा पहिलो कुरा त त्यसको श्रेय कोरोना भाइरसलाई जान्छ। चीनमाथि कोही जाइलागे अथवा चीन कसैमाथि जाइलागे ‘विवेक र प्रज्ञारहित’ इतिहासले त्यसको मूल कारणमा कोरोना भाइरस रहेको प्रमाणित गर्न किञ्चित पनि धक् मान्दैन।
विषयवस्तुमा प्रवेश गर्नुभन्दा पहिला विश्वप्रसिद्ध अर्थशास्त्रीहरुको भविष्यवाणी बारम्बार स्मृतिमा सल्बलाइरहेको छ। अधिकांश अर्थशास्त्रीहरुको परिकल्पनामा आउँदो एक दशकभित्र चीन विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र भएको देश हुनेछ। अर्थात वर्तमानमा २१ ट्रिलियन डलरको सबैभन्दा ठूलो अर्थतन्त्र भएको अमेरिका, १४ ट्रिलियन डलरको दोश्रो ठूलो अर्थतन्त्र भएको चीनबाट अत्यन्त फरक अन्तरले तेश्रो स्थानमा खुम्चिने छ। अर्थशास्त्रीहरुको ‘प्रोजेक्शन’मा २०३० सम्ममा चीनको अर्थतन्त्रले ६४ ट्रिलियन डलरको ग्राफ छुनेछ, भारतले ४६ ट्रिलियन डलरमा पुगेर (भारत वर्तमानमा ६ नम्बरको अर्थतन्त्र २ दशमलब ८४ ट्रिलियन डलर) अमेरिकालाई ३१ ट्रिलियन डलरको तेस्रो नम्बरमा खुम्च्याइदिने छ।
तर कुनै प्रकारले चीन र भारत युद्धमा गुथ्थमगुत्था भए भने निश्चय पनि अमेरिकाको बादशाहत कायम रहने छ। चीन र भारत बाहेक संसारको अन्य कुनै पनि देशसँग अर्थको मामलामा अमेरिकालाई पछि पार्न सक्ने क्षमता छैन।
चीन युद्धोन्मुख छ, भारत युद्धलोलुप छ। दुबै देश बीच निकट भविष्यमा हुन सक्ने सम्भावित युद्धको स्थानीय र क्षेत्रीय कारण र समस्या आदिको विश्लेषण गर्नुअघि यदि २०३० बारेको वैश्विक अर्थतन्त्रको परिकल्पनालाई महत्त्व दिइँदैन भने त्यस्ता सबै विश्लेषण एकांगी र अर्थहीन हुने छन्।
नबिर्सौँ- चीन र भारत युद्धमा होमिए भने त्यसबाट लाभान्वित हुनेमा अग्रणी अमेरिका, रूस र यूरोपियन देश नै हुने छन्। कोरोनाले थिलथिलो पारेको यी देशका अर्थतन्त्रलाई स्वास फेर्न युद्धजन्य सामग्रीको बिक्री हुनु अति आवश्यक छ। यो नहुँदा यिनीहरुलाई टिक्नै गाह्रो हुने अवस्था छ। युद्ध नभएको खण्डमा केही वर्षसम्म यिनीहरुको अर्थतन्त्र धानेको टेक्नोलोजी र अस्त्र शस्त्रको ग्राहक कुनै अर्को ग्रहबाट आउने होइन।
वर्तमानमा चीन विश्वको दोश्रो अर्थतन्त्र हुनुका साथै सैन्यशक्तिमा विश्वको तेश्रो शक्ति हो। पहिलो शक्तिबारे भनिराख्नु परेन, दोश्रो शक्ति रूस हो। चौथो नम्बरमा भारत नै आउँछ। हुन त अणु आयुध शक्ति सम्पन्नता हासिल गरेका देशहरुमा सैन्यशक्तिको चर्चा गर्दा पहिला-दोश्रो -तेश्रोको चर्चा गर्नुको कुनै औचित्य हुन्न। यस्ता देश बीच युद्ध भएको खण्डमा जीतको भविष्यवाणी गर्नु सम्भव छैन, हो मानवता पराजित हुने निश्चित छ। उत्तर कोरियासँग विश्वका समस्त शक्ति राष्ट्र थर्कमान हुनुको कारण यति मात्रै हो, ऊसँग पनि २०-३० वटा अणु बम छन्।
तेश्रो र चौथो सैन्य शक्ति संपन्न राष्ट्र के कस्ता कुराले सम्पन्न छन्? तपाईँलाई जान्न मन लाग्यो होला? सैन्य शक्तिमा ‘ग्लोबल फायर इंडेक्स’ बाट सैन्य शक्तिको मूल्याङ्कन हुन्छ र यो जति कम भए त्यति नै बलियो मानिन्छ। अहिलेसम्म ‘जिरो पावर इन्डेक्स’मा कुनै राष्ट्र पुगेको छैन। चीन यस ‘क्याटेगरी’मा ० दशमलब ०६९१ ‘पावरइंडेक्स’
का साथ तेश्रो तथा भारत ० दशमलब ०९५३ ‘पावरइंडेक्स’का साथ चौथो नंबरमा छ। पहिलो र दोश्रो नंबरमा शीतयुद्धका नाइकेहरु क्रमशः ० दशमलब ०६०६ तथा ० दशमलब ०६८१ अंकका साथ रहेका छन्।
२०१९ को तथ्यांक अनुसार सबै किसिमका सेनामा २०,३५००० सक्रिय सैनिक लिएर चीन विश्वकै सबैभन्दा बढी सक्रिय सैनिक हुने देश हो। यसका साथै चीनसँग ५,१०००० ‘रिजर्भ फोर्स’ पनि छ। तपाईँले परम्परागत रूपमा सुनेको जल ( नेभी), थल (ग्राउन्ड), नभ (एयरफोर्स) सेनाका अतिरिक्त आधुनिक विश्वमा सेनाका केही नयाँ अवतार पनि थपिएका छन्। ती हुन्- ‘रकेट फोर्स’ र ‘स्ट्रेजिक सपोर्ट फोर्स।’
‘रकेट फोर्स’ शब्दले नै बुझिन्छ ,’स्ट्रेजिक सपोर्ट फोर्स’ अन्तर्गत साइबर – स्पेस -इलेक्ट्रानिक
‘वारफेयर’ को काम हुन्छ। १७७ बिलियन डलर वार्षिक बजेट रहेको चीन यस मामलामा विश्वको दोश्रो रैंकिंगमा पर्छ।
१४,४४,५०० सक्रिय सैनिकका साथ भारत यस मामलामा चीन पछि दोश्रो नम्बरमा आउँछ। तर २१ लाख ‘रिजर्भ फोर्स’ रहेको भारतका दुबै सैन्य संख्या जोड्दा विश्वकै सबैभन्दा ठूलो सैनिक संख्या भएको देश हुन पुग्छ। अर्थात यसले चीनको ‘पीएलए’ – पीपुल्स लिबरेशन आर्मीलाइ उछिन्छ। भारतको वार्षिक सैन्य बजेट चीनको तुलनामा आधाभन्दा कम जम्मा ६७ बिलियन डलर रहे पनि रैंकिंगमा यो चीनपछि तेश्रो नम्बरमा आउँछ। विदेशी मुद्रा मौज्दातमा भने चीन विश्वकै अग्रणी छ। अप्रिल २०२० को तथ्यांक अनुसार चीनसँग ३१०० अर्ब डलरको सञ्चिति छ। भारत यस मामलामा धेरै पछाडि ४६८ अर्ब डलरको सञ्चितिका साथ आठौँ नम्बरमा छ। युद्धको समयमा यही सञ्चिति देशको सबैभन्दा ठूलो शक्ति साबित हुन्छ।
सामरिक शक्तिको कुरा गर्दा चीनसँग सबै खाले ‘एयरक्राफ्ट’को संख्या ३,२१० रहेको छ भने भारतसँग २,१२३ ‘एयरक्राफ्ट’ रहेका छन्। ‘एयरक्राफ्ट’मा सबैभन्दा शक्तिशाली मानिने ‘कम्ब्याट (combat) एयरक्राफ्ट’ चीनसँग १,२३२ छन् भने भारतसँग यिनको संख्या ५३८ छ। ‘कम्ब्याट एयरक्राफ्ट’ नै ‘एयरफोर्स’ को सबैभन्दा घातक साधन हो। यिनले आकाशमा भिडन्त गर्नुका साथै आकाशबाट पृथ्वीमा सफल लक्ष्यभेदन गर्न सक्छन्। भारत र चीन बीच युद्ध भएको खण्डमा तिब्बतको उचाइ दुबै देशलाई अफाप सिद्ध हुने छन्। प्रायः ‘कम्ब्याट एयरक्राफ्ट’ मा जेट इन्जिन हुन्छ। जेट इन्जिन सक्रिय हुन अक्सिजन आवश्यक हुन्छ। ५-६ हजार मिटरसम्म त तिब्बतकै उचाइ छ। दुबै देशका ‘कम्ब्याट’ विमानले यो उचाइ पार गर्न यो भन्दा माथिबाट उडेर लक्ष्यमा पुग्नु पर्ने हुन्छ। यस कारणले यी विमानको अस्त्र शस्त्र बोक्ने क्षमता एक तिहाइभन्दा पनि कम हुन जान्छ।
यसैगरी चीनसँग ‘अट्याक एयरक्राफ्ट’ ३७१ र भारतसँग १७२ छन्। चीनसँग रहेको ‘जे-२०’ नामक ‘ एयरक्राफ्ट’ ले एकै पटकमा १२ वटा लक्ष्यमा आक्रमण गर्न सक्छ भने भारतसँग रहेको ‘सुखोई एयरक्राफ्ट’ले एकै पटकमा १६ वटा लक्ष्य भेदन गर्न सक्छ। चीनसँग सैनिक र युद्ध सामग्री ओसार पोसार गर्ने २२४ ठूला विमान छन् भने भारतसंग यिनको संख्या २५० छ।
युद्धमा हेलिकप्टरको बेग्लै महत्व हुन्छ। चीनसँग हेलिकप्टर संख्या ९११ छ भने भारतसँग ७२२ छन्। भारतसँग एमआई-१७ भी-५ र चिनूक जस्ता आधुनिक हेलिकप्टर छन्। ‘अटयाक हेलिकप्टर’ चीनसँग २८१ छन् भने भारतसँग जम्मा २३ वटा छन्। तर भारतसँग एमआई -२४ र अपाचे जस्ता अति उन्नत र नया प्राविधि सम्पन्न हेलिकप्टर छन्। अपाचे हेलिकप्टरको विशेषता के छ भने यसमा रहेको गनले निशाना लाउनु पर्दैन। पाइलटका आँखाले जता हेर्छन्, अटोमेटिक रूपमा गनले त्यही ‘फायर’ गर्छ। अर्थात यसको गन पाइलटको आँखाले नै सञ्चालित हुन्छ।
थल सेनासँग शक्तिको रूपमा चीनसँग ३५,००० ट्यांक छन्, भारतसँग जम्मा ४,२९२ ट्यांक छन्। अर्को युद्ध सामग्री ‘आर्म्ड भीहाइकल’ चीनसँग ३३,००० र भारतसँग ८,६८६ छन्। ‘सेल्फ आर्टलरी’ चीनसँग ३,८०० र भारतसँग २३५ छन्। चीनसँग ‘फिल्ड आर्टलरी’ ३,६००, भारतसँद्बग ४,०६० छन्। चीनसँग ‘रकेट लञ्चर ‘ २,६५० तथा भारतसँग २६६ छन्।
‘नेभी’को मामलामा चीनसँग जहाज संख्या ७७७ छ भने भारतसँग यो संख्या २८५ छ। अति विशाल ‘एयरक्राफ्ट कैरियर’ जहाज चीनसँग २ वटा र भारतसँग जम्मा १ छ। ‘साइलेन्ट किलर’ का नामले कुख्यात ‘सबमरिन’ चीनसँग ७४ र भारतसँग १६ वटा मात्रै छन्। भारतका अधिकांश ‘सबमरिन’ पुराना तथा पुरानो प्राविधियुक्त छन्। भारतले यो कमी पूरा गर्न अमेरिकाको ‘सबमरिन हन्टर’ भनिने ‘पी-८ आई’ विमान राखेको छ। यो विमानले माथि आकाशबाट पानीमुनि रहेका ‘सबमरिन’लाई ‘लोकेट’ गरी निशाना बनाउन सक्छ।। ‘नेभी’ सँग हुने अर्को जहाज जसलाई ‘ड्रेस्टायर’ भनिन्छ, यस्ता जहाज चीनसँग ३६ र भारतसँग १० मात्रै छन्। यसैगरी अर्को घातक जहाज जसलाई ‘फ्रिगेट’ भनिन्छ, चीनसँग ५२ तथा भारतसँग १९ रहेका छन्। समुद्रमा ‘पेट्रोलिङ’ गर्ने जहाज चीनसँग २२० र भारतसँग १३९ छन्। क्षेत्रफल, स्थानीय समस्या र छिमेकी शत्रुको आँकलन गर्दा चीनसँग रहेको सैनिक उपकरण बढी भए पनि भारत उसको तुलनामा कमजोर छैन। कारण चीनले भारतसँगको युद्धमा आफ्ना सबै शक्ति भारतविरुद्ध होम्न सक्दैन। आफ्नो विशाल क्षेत्रको सुरक्षा, स्थानीय समस्या र छिमेकको सुरक्षामा उसले आँखा चिम्लन मिल्दैन।
परम्परागत सैन्य शक्ति बाहेक दुबै देशसँग पर्याप्त भन्दा पनि पर्याप्त मात्रामा ‘क्रूज’ ,’बैलेस्टिक’ ,’इंटरकन्टिनेन्टल’,र ‘हाइपर सोनिक’ मिसाइल छन्। सबैभन्दा चर्को र विनाशकारी भनेर चिनिने एटम बम चीनसँग झण्डै ४०० र भारतसँग झण्डै १५० रहेका छन्। के यत्रा विघ्न सैन्य शक्ति भएको देश बीच युद्ध भयो भने विनाश बाहेक अन्य केही परिणाम आउने अपेक्षा गर्न सकिन्छ?
चीनलाई पनि थाहा छ- भारतलाई पनि थाहा छ किनकि जब म जस्तो सामान्य लेखकलाई थाहा छ भने यी देशका सरकार र सेनालाई थाहा छैन भन्ने विश्वास गर्न सकिन्न। चीन र भारतका बीचको उच्च हिमाली सीमाले ‘ग्राउन्ड आर्मी’ सँग भएका ठुलठूला घातक /मारक ट्यांकको त्यति साह्रो उपयोग हुन सक्दैन। दुबैका बीच ‘नेभी’को उपयोग पनि सीमित नै हुन्छ। बढी भूमिका ‘एयरफोर्स’ कै हुन्छ, क्रूज, बैलेस्टिक र विभिन्न मिसाइलकै हुन्छ। दुबैसँग घरमा बसी बसी एक अर्काको जुनसुकै शहर ध्वस्त गर्न सक्ने क्षमता छ।
अलिक फरक चर्चा गर्दै समाप्तितिर उन्मुख हुन चाहन्छु। अबको हुने जुनसुकै युद्ध अति नै ‘हाइटेक’ हुन्छ। यस्तो ‘हाइटेक’ कि यसले ‘हाइटेक’ प्रणालीलाई नै ध्वस्त बनाइदिन्छ। तपाईँलाई विदित नै छ ‘हाइटेक’ को सम्बन्ध ‘स्याटेलाइट’सँग हुन्छ। पृथ्वी सतहबाट ४ सय किमी माथि (लो अर्थ अर्बिट) देखि ४०००० किमी माथि ( हाई अर्थ अर्बिट) फनफनी घुमिरहेका ‘सैटेलाइट’ले अनेक तवरले हामीलाई ‘हाइटेक’ हुने सुविधा उपलब्ध दिएका छन्।
विश्वका चार देशसँग हजारौँ किमीमाथि घुमिरहेका ‘स्याटेलाइट’लाई टुक्राटुक्रा पार्ने क्षमता छ। चीन र भारतबाहेक यस पंक्तिमा अमेरिका र रूस नै अग्रणी छन्। तर आफ्नो बाहेक अन्य देशका ‘स्याटेलाइट’ लाई सटिक ‘लोकेट’ गर्ने क्षमता अमेरिका र रूस बाहेक चीन-भारत दुबैसँग छैन। हो,’लोकेट’ भए पछि टुक्राटुक्रा पार्ने क्षमता भने चीन र भारतसँग छ।
अब हुने युद्धमा सबैभन्दा चर्को मूल्यमा बिक्ने कुरा यही ‘टेक्नोलोजी’ हुनेछ। युद्धमा संलग्न देशले एक अर्काका अनेक थरिका ‘स्याटेलाइट’ ध्वस्त गरेर एक अर्कालाई पंगु बनाउने होडबाजी हुन्छ। युद्धको फैसला जल, थल, नभबाट होइन, सुदूर अन्तरिक्षमा गरिएको ‘अप्रेसन’ले निर्धारित गर्छ। चीनले यस कुरामा गहिरिएर विचार पुर्याउनुपर्ने आवश्यकता छ। वर्तमान परिस्थिति अनुसार अमेरिकाले भारतलाई यो प्रविधि सहजै उपलब्ध गराउँछ। रूससँग भारतको पुरानो विशेष सम्बन्ध नै छ। आर्थिक लोभले रूसले यो प्रविधि चीनलाई दिनसक्छ भन्ने सम्भावनालाई इन्कार गर्न सकिन्न। तर, तर, तर यो यस्तो युद्ध हुनेछ जसले पहिला हान्यो- ‘द गेम इज ओभर।’ आफ्ना ‘स्याटेलाइट’ ध्वस्त भएपछि सबै प्रविधि हुँदाहुँदै पनि ‘स्याटेलाइट’को सहयोग बिना केही गर्न सकिन्न।
चीन र भारतबीच रहेको ३,४८८ किमी बोर्डर अथवा गलवान घाटी, नाथुला पास वा तवांग घाटीको केही विवादित भूमिका लागि के दुबै देशले युद्ध गर्न न्यायोचित हुन्छ?
यसबारे पहिलो कुरा चीनले भारतलाई १९६२ को भारत (जुन बेला त्यहाँका सैनिकसँग राम्रा हथियार त के राम्रा जुत्तासम्म थिएनन्।) सम्झिने भूल गर्नु हुन्न। चीन तेश्रो नम्बरको शक्तिशाली देश हो भने भारत पनि चौथो नम्बरको सैन्य शक्ति भएको देश हो। छिमेकी र घरेलु शत्रुको हिसाब गर्दा त चीनको सामर्थ्य भारतभन्दा पनि कम हुन जान्छ। दोश्रो कुरा १९६२ पछि पटकपटक चीनबाट सीमाना उल्लंघन हुँदा भारतमा नेहरू -गान्धीको ‘सेक्युलिरिजम’मा हुर्केका सत्तासीन थिए जसले चीनको ‘प्रोपोगन्डा र बार्गेनिङ’ सामु घुँडा टेके। अहिले भारतमा’ नैनम छिदन्ति शस्त्राणि नैनम दहति पावकः’ मा विश्वास गर्नेहरु सत्तासीन छन्।
गलवानमा भएको हिंस्रक झड़प मत्थर हुन्छ कि यसले झनै व्यापकता लिन्छ अर्थात दुबै देशबीच युद्ध हुने कि नहुने यसको एकलौटी निर्णय गर्ने अधिकार चीनसँग रहेको छ। भारत आफैँ युद्धमा जाँदैन तर एक इन्च पनि पछाडि सर्दैन। यसबाहेक विश्वका अन्य शक्ति जसरी पनि यी दुबैको भिडन्त गराउने सुरसारमा छन्।
भारतको तर्फबाट ‘ट्रेडवार’ शुरू नै भइसक्यो। नागरिक स्तर र सरकारी स्तर दुबैबाट चीनलाई प्रतिबन्ध लाउने एकपछि अर्को निर्णय भइरहेका छन्। संसारभरिकै मान्यता विपरीत ‘लाइन अफ एक्चुअल कन्ट्रोल” मा भारत सरकारले आफ्ना सैनिकलाई हथियार बोक्ने र प्रयोग गर्ने सम्मको अनुमति दिइसकेको छ।
निकट भविष्यमा संसारकै स्वरुप परिवर्तन गर्न सक्ने महायुद्ध हुने अथवा टर्ने चिनियाँ राष्ट्रपतिकै बुद्धि र विवेकमा निर्भर छ। अमेरिकी राष्ट्रपति निर्वाचनसम्म उनले संयम कायम राख्न सके भने चुनावको परिणाम जे भए पनि (ट्रम्प नै निर्वाचित भए पनि, यसकै सम्भावना प्रतिशत बढी छ) विश्वको राजनीतिक र अन्य परिदृश्य परिवर्तित हुन्छन्। अमेरिकाले अहिले नै दक्षिणी सागरमा दुईवटा ‘फ्लिट’ तैनाथ गरे पनि यो सैन्य रणनीतिको धमासबाज़ी मात्रै हो। अमेरिका चीनसँग आफै युद्धमा होम्मिने काम गर्दैन।
अमेरिकाको सारा प्रयास २०३० मा आर्थिक रूपमा उसलाई पछार्ने चीन र भारतलाई भिडाउने हो। चीन-भारतले यो कुरा नबुझेका होइनन् तर ‘विनाश काले विपरीत बुद्धि’ यी दुईका सन्दर्भमा के कति सत्य साबित हुन्छ त्यो निकट भविष्यमै साबित हुन्छ।