मेलम्ची खानेपानी आयोजनाभित्रको सुरूङको ढोका फुटेकोबारे अध्ययन गर्न प्राविधिक समिति

फाइल तस्बिर।
फाइल तस्बिर।

खानेपानी मन्त्रालयले मेलम्ची खानेपानी आयोजनाभित्रको सुरूङको ढोका फुटेकोबारे अध्ययन गर्न प्राविधिक समिति बनाएको छ।

मन्त्रालयका प्रवक्ता सहसचिव रितेशकुमार शाक्यले सेतोपाटीलाई दिएको जानकारीअनुसार बुधबार सहसचिव रमाकान्त दवाडीको नेतृत्वमा छ जना प्राविधिकको अध्ययन समिति बनाइएको हो।

उक्त समितिले आयोजनाअन्तर्गत सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका अम्बाथानभित्र रहेको गेट नम्बर १७ को ढोका के कारणले खुलेको हो? अध्ययन गरी प्रतिवेदन दिनेछ।

‘सुरूङभित्रको गेट अचानक खुलेको भन्ने आयो। के कति कारणले खुल्यो अध्ययन गरी छिटो प्रतिवेदन दिन छ सदस्यीय प्राविधिक टोली बनाएका छौं। सम्भवत आजै उक्त टोली आयोजनास्थल जानेछ,’ सहसचिव शाक्यले भने।

समितिलाई प्रतिवेदन दिन समय तोकिएको छैन। तर सकेसम्म छिटो प्रतिवेदन दिन भनिएको छ।

अध्ययनपछि मर्मत गर्नुपर्ने देखिएमा छिट्टै मर्मत गरी पुन: सुरूङमा पानी परीक्षण गर्नुपर्नेछ।

आयोजनाको इन्टेकदेखि करिब आठ सय मिटरको दूरीमा अम्बाथानभित्र पानी शुद्धीकरण गर्ने ठाउँ छ। त्यहाँ तीन वटा ढोका छन्। तीमध्ये एउटा ढोका अचानक खुल्दा मंगलबार आयोजनाका इञ्जिनियरसहित दुई जना बेपत्ता र दुई जना घाइते छन्।

आयोजनाका प्रमुख त्रिरेशप्रसाद खत्रीले प्राविधिक टोलीले अध्ययन गरेर प्रतिवेदन दिएपछि मात्रै के कारणले सुरूङको ढोका खुलेको पत्ता लाग्ने बताए।

‘मन्त्रालयले बनाएको प्राविधिक टोली घटनास्थल पुगेर अध्ययन गरेर प्रतिवेदन दिएपछि मात्रै यही कारणले ढोका खुलेको हो भन्न सक्छु,’ आयोजना प्रमुख खत्रीले सेतोपाटीसँग भने,‘पानीको चापले सुरूङको ढोकाको नटबोल्ट खुस्केर खुलेको हो कि भन्ने अनुमान छ।’

उनले अहिले नै मर्मतका लागि कति समय लाग्छ भन्न नसकिने बताए।

‘एक/दुई दिनमा प्राविधिक समितिले रिपोर्ट देला। त्यसपछि मर्मत तत्कालै हुन्छ,’ उनले भने, ‘सुरूङको ढोका फुटेजस्तो हामीलाई लाग्दैन। जुन हिसाबले ढोका बन्द हुनुपर्ने हो त्यो भएन। पानीको चाप बढ्दै जाँदा अकस्मात ढोका खुल्यो र तीव्र वेगको पानीले इञ्जिनियरसहितलाई बगाएको हुनुपर्छ।’

पानीको चाप नाप्न सुरूङभित्रको गेट नम्बर १७ पुगेर फर्कंदै गरेका चार जना सुरूङको उक्त ढोका खुलेर आएको पानीमा परेका थिए।

दुई जनाको उद्धार गरिए पनि दुई जना अझै बेपत्ता छन्। उनीहरू चढेर सुरूङभित्र पुगेको रातो हाइलक्स गाडी पनि पानीले बगाएर मेलम्ची खोलामा पुर्‍याइदिएको छ।

‘सुरूङको ढोकामा १७ मिटर लेबल बराबरको चाप थियो। सुरूङको गेटमा छ तलाको घरजतिको चाप थियो भनौं न,’ उनले भने, ‘उक्त चापले सुरूङको ढोकाको नटबोल्ट खुलेर पानी बाहिर आएको हुनुपर्छ।’ 

मुहानस्थलबाट पठाइएको पानी गेट नम्बर १७ मा शुद्धीकरण भएपछि त्यहाँबाट सुन्दरीजलतर्फ पठाइने उनले बताए।

असार २१ गते मुहानदेखि अम्बाथानसम्म पानी पठाएर सफल परीक्षण गरिएको थियो।

त्यहाँबाट सुन्दरीजलतर्फ सुरूङबाट पानी पठाउन पानी ताल्ने काम भइरहँदा एक्कासि गेट नम्बर १७ को ढोका खुलेको हो।

मुहानदेखि सुन्दरीजलसम्म करिब २७ किलोमिटर सुरूङमा चार ठाउँमा मुख्य सुरूङ हेर्न जानका लागि वैकल्पिक सुरूङ छन्। 

‘गामथुम, सिन्धु, सुन्दरीजल र अम्बाथाममा गरी चार वटा सुरूङ छ, जहाँबाट मुख्य सुरूङको अवस्था हेर्न जान मिल्छ,’ उनले भने।

हिजो घटना भएको ठाउँमा तीन वटा ढोका छन्। तीमध्ये एउटा खुल्दा पानी वैकल्पिक टनेलबाट बाहिर मेलम्ची खोलामा निस्केको थियो।

उक्त घटनामा परेर इञ्जिनियर शेखर खनाल र प्राविधिक पेम्बादोर्जे तामाङ घाइते भएका छन्।

सुरूङभित्रको ढोका खुलेपछि आएको तीव्र बेगको पानीमा बग्दै आएका उनीहरूलाई उद्धार गरी हेलिकप्टरबाट काठमाडौंस्थित ग्रान्डी अस्पताल ल्याइएको थियो।

दुई जना बेपत्ताको अझै खोजी कार्य जारी छ। सिन्धुपाल्चोक प्रहरी प्रमुख उज्ज्वल महर्जनले घटनास्थलदेखि दोलालघाटसम्म मेलम्ची खोला किनारमा प्रहरी परिचालन गरेर बेपत्ताहरूको खोजी भइरहेको जानकारी दिए।

मेलम्चीको पानी काठमाडौं ल्याउन सुरूङमा पानी पठाएर परीक्षण गर्ने क्रममा सुरूङको ढोका खुलेको हो।सुरूङ भरिन करिब २० दिन लाग्ने आयोजनाको भनाइ थियो।

मुहानबाट सुरूङमा प्रतिसेकेन्ड छ हजार लिटर पानी पठाउन सकिने भए पनि परीक्षणका क्रममा दुर्घटना नहोस् भनेर पाँच प्रतिशत पानी मात्रै पठाइएको थियो। थोरै पानी पठाए पनि चाप थेग्न नसक्दा गेट नम्बर १७ को ढोका अकस्मात् खुल्दा दुई घाइते र दुई बेपत्ता भएका हुन्।

स्राेतःसेताेपाटी

सिफारिस

Leave a Reply

Your email address will not be published.