देश, दल र दलदल !

देश, दल र दलदल !

दीपकराज जोशीदीपकराज जोशी

दल र दलबाट राजनीति गर्नेलाई सल्लाह र सुझाव दिनुपर्ने व्यक्ति र दबाब समूह नै दलाल छन्, हाम्रो समाजमा । राजनीतिक दलहरू स्वाभाविकरूपमा राष्ट्रिय हुन्छन् र यसका सदस्यहरू समाज, राष्ट्र र राज्यको राजनीतिक हितको पक्षमा लड्ने र रक्षा गर्ने साझा इच्छा तथा आदर्शको आधारमा स्वैच्छाले देश नागरिकहरूको समूहले गठन गर्दछन्।

जहिले पनि सरकार सीमित अविभाज्य (एलिट) को हातबाट जनतामा पुर्‍याउनु पर्छ भनिन्छ, तर जब प्रत्येक व्यवस्था परिवर्तन हुन्छन्, तब नागरिक सरकारमा पुग्छन् र उनीहरू सम्भ्रान्त समूहमा परिवर्तित हुन्छन्। अनि फेरि सरकार जनताको हातमा जानुपर्छ, अर्को छलफल शुरू हुन्छ । यसरी देश दुष्चक्रमा फसी नै रहन्छ।
हामीकहाँ राजनीतिक विसंगति यतिसम्म बढिसक्यो कि डाक्टरले हड्ताल गरेर बिरामी नहेर्ने, वकिलले मुद्दा नलड्ने, न्यायाधीश बेञ्चमा नबस्ने, शिक्षकले विद्यार्थी नपढाउने, ट्याक्सी र बसले यात्रु नबोक्ने ! आज यो अवस्थामा देश पुग्नु भनेको राजनीतिको चरम दुरुपयोग नै हो। यति मात्र कहाँ हो र, धर्मलाई अफिम भन्नेले नै धर्मप्रचार गर्ने धार्मिक च्यानलको उद्घाटन गर्न पछि पर्दैनन्।

अस्ति भर्खर मात्र ‘हुम्ला उड्नै लागेको सीता एयरको जहाज तीनवटा बँदेलसँग ठोक्कियो, उडान रद्द’ भनेर बजार तात्यो । बाँच्नु मात्र पर्छ, धेरै कुरा देख्न र सुन्न पाइन्छ भन्थे बुढापाकाले, हो रहेछ। नेपालगञ्च एयरपोर्टमा झाडी बढेर जंगल भएकाले बँदेल बास बस्न थालेछ। यता निजगढमा भने बँदेल बस्ने जङ्गल मासेर एयरपोर्ट बनाइँदैछ। नेपालगञ्ज एयरपोर्टलाई राष्ट्रिय निकुञ्ज बनाउने हो कि ? राष्ट्रिय निकुञ्ज बनाउने ठाउँ मासेर एयरपोर्ट बनाउने हो? यो विषय अन्योलमा छ।

हुन त हाम्रोमा काटेर फाइदा हुने काम मात्र गरिन्छ। जनयुद्धको नाममा सर्वसाधारणका टाउको काट्दा सत्तामा जान पाइने, खोलानाला काट्दा गिट्टी बालुवा निकाल्न पाइने, डाँडाकाँडा काट्दा प्लटिङ गर्न पाइने, पार्टीको आफ्ने मान्छेको बेस्सरी कुरा काट्दा मन्त्री बन्न पाइने। अनि त्यो नेपालगञ्ज एयरपोर्टको झाडी काटेर कसलाई के फाइदा ? होइन त ?

त्यति मात्र नभएर अस्ति रामदेव बाबा आउँदा कुनै ठूलै देशको राष्ट्र प्रमुखलाई दिनेभन्दा बढी सम्मान दिइयो । हुन त सम्मान गर्नु हाम्रो संस्कृति हो, तर चाहिनेभन्दा बढी सम्मान सम्मान नभएर गुलामी हो ।

राजा प्रताप मल्लको पालामा अर्थात् (वि.सं. १६९८–१७३१)मा शुरु भएको दक्षिण एसियाकै ठूलो आयुर्वेदिक औषधि उत्पादन गर्ने वैद्यखानालाई टाट पल्टाएर रामदेवको पतञ्जलीलाई विना लगानी जग्गा दिन लाग्दा पनि नसुने झैँ गरी वडा र प्रदेशको चुनावमा मस्त छौं हामी नेपाली। वि.सं. २०४७ सालदेखि अहिलेसम्म ४९ वटा कलकारखाना कौडीको भाउमा बेचिए। भएका कलकारखाना बन्द गरी देशलाई परनिर्भरतातर्फ धकेल्ने षड्यन्त्र भएको वर्षौँ भएको छ।

भारत र चीन मात्र नभएर विश्वका धेरै देशसँग निर्भर हुन बाध्य बनाउँदै नेपालीहरूलाई वैदेशिक रोजगारीका नाममा होस् या अध्ययनका निम्ति होस्, परनिर्भर बन्न बाध्य बनाइएको वर्षौं बितेको छ। देशमा प्रजातन्त्र आएपछि प्रजाहरू राजाको हैसियत बाँच्न पाउँछन् भन्ने भ्रम पनि बेच्नु बेचियो। तर कस्तो दुर्भाग्य! बीपी र महेन्द्रले बनाएको उद्योग प्रजातन्त्र आएपछि निजीकरणको नाममा किनिए, बेचिए र पनि, यसबारे कोही बोल्दैनन्। बोलिहाले पनि निजी स्वार्थ पूरा गरुञ्जेलसम्मका लागि मात्रै हो। जसरी हाम्रा नेताहरूले देशलाई सिंगापुर र स्विट्जरल्यान्ड बनाउने नारा बेचिरहेका छन्।

राज्यव्यवस्था र सरकारको तौरतरिका हेर्दा त यसो भन्न मन लाग्छ– ‘सरकार म पनि बेचिन तयार छु, मलाई पनि बेचिदेऊ !’ किनकी आफ्नै बेचिने पालो नआइञ्जेलसम्म हाम्रो पुस्ता टिकटकमा नै मस्त रहन्छ। अब एकदिन हामी आफैँ र आफ्नै सन्ततिलाई पनि हाम्रै भोटले सत्तामा पुगेका नकावधारीहरूले खुल्ला बिक्री वितरण गर्नेछन्। तब मात्रै तपाईँ हाम्रो घैंटोमा घाम लाग्नेछ।

विना जागिर, विना व्यापार ५ आना जग्गा नभएकाहरूले ५ रोपनी जग्गा जोड्न सफल भए। हिजो स्कूटर चढ्ने हैसियत नराख्नेहरू करोडौँको गाडीमा हुइँकने भएका छन्।

देशमा प्रजातन्त्र आएपछि झन्डै ७७७८ नेपाली विदेशिन बाध्य भए भने ती विदेशिएका नेपालीहरूको झन्डै ८ सय शव बाकसमा फर्क्यो। यता देश विकास र समृद्धिको नाममा राजनीति गर्नेहरूले पटक-पटक देश र जनतालाई लुटी नै रहे। हाम्रो लोकतन्त्रमा ३१ वर्षको राजनैतिक प्रयोगले कुनै बेला चप्पल पड्काएर काठमाडौं छिर्नेहरूलाई सम्पन्न बनायो भने देशका लागि केही गर्नुपर्छ, भन्नेलाई बिदेसिन बाध्य बनायो ।

देश र जनताको पक्षमा काम गर्छौं भन्ने आश्वासन दिने कुनै पनि पार्टी आफ्नो विचार र सिद्धान्तमा हिँडेको देखिँदैन । जनतालाई विस्तारै कार्यकर्ता, झोले हुँदै दलाल बनाइँदैछ । यहाँ त यतिसम्म छ कि समाजमा सामाजिक हैसियत बनाउन पनि दलाल बन्नुपर्छ। शासकको पूजा र शासितको शोषण वर्षौंदेखि हुँदै आएको छ र पनि हामी रमिता हेर्न बाध्य छौं। यस्तो कहिले सम्म ? र, केका लागि ?

हुन त वैकल्पिक राजनीति गरेर देशलाई अगाडि लानुपर्छ भन्दै ठूला कुरा गर्नेको जमात पनि ठूलै छ। प्रत्येक पार्टी र सरकार त्यो भन्दा अगाडिको सरकार र पार्टीको वैकल्पिक पार्टी नभएको होइन । कांग्रेस राणाको, पञ्चायत कांग्रेसको, कम्युनिस्ट कांग्रेसको, त्यसपछि माओवादी अहिले आएर विवेकशील साझा पार्टी लगायतका थुप्रै पार्टीहरू ।

आज देशमा दलालका पनि पदक्रम छन्। स्वदेशी, विदेशी, स्थानीय, फरक-फरक रकमको कारोबारका लागि फरक-फरक दलाल छन् । विकासको काम विकासका लागि नभएर आफ्नो मान्छेलाई ठेक्का दिलाउनका लागि मात्र हुन्छ।

राम्रो काम गरेर राम्रो बन्ने कि राम्रो भएर राम्रो काम गर्ने ? फरक काम गरेर फरक बन्ने कि फरक हुँ भनेर फरक काम गर्न शुरू गर्ने ? १ लाखको फोन लिएर जूम, क्लब हाउस, फेसबूकमा कुर्लेर फोन नै किन्न नसक्नेको आधारभूत आवश्यकता पूर्ति हुँदैन। चिन्तन समाजवादको होइन दालभातको हुनुपर्छ ।

अहिलेको समयमा दर्शनले होइन प्रदर्शन (काम) मात्र विकास सम्भव छ ।बेलाबेलामा हक र अधिकारका लागि आन्दोलन नभएको होइन, तर जनताले एउटा कुरा बुझ्न सकेनन्। अधिकार माग्नेहरू कहिल्यै स्वतन्त्र हुँदैनन् । जोसँग अधिकार मागिन्छ, त्योसँग परतन्त्र बनी नै रहने छ ।

नेपाली कांग्रेस राष्ट्रियता, प्रजातन्त्र, समाजवादबाट एकता, सहकार्य र सहमति हुँदै अहिले सत्ता, सम्पत्ति र सम्भोगमा लिप्त छ। धर्मको नाममा राजनीति गर्नेहरूको पनि कमी छैन । शास्त्रलाई शस्त्र बनाएर लड्ने पनि धेरै नै छन् । शास्त्र जीवनको विकास गर्छ भने शस्त्र जीवनको विनाश । अब तपाईं नै भन्नु शस्त्रको आधारमा चालेको हाम्रो राजनीतिले विनाश गरेको छ कि विकास ?

विना लगानी सबैभन्दा छिटो पैसा कमाउने व्यापार राजनीति भएको छ । फरक यत्ति हो, यो राजनीति भन्ने व्यापारमा मेरो देश ग्राहक बनेको छ। एउटा डाँकुलाई बन्दुक दिनुहोस्, उसले बैंक लुट्नु छ, तर एउटा नेतालाई सत्ता दिनुहोस्, उसले देश नै लुटिदिन्छ ।

देशलाई समृद्ध बनाउँछु भन्दै नेपालका सबै राजनैतिक दलहरू एक आपसमा मिलेर पालैपालो सरकार चलाइरहे । मानव अधिकारवादीहरू कुर्ली नै रहे । अभियन्ताहरू ले जुलुस निकाल्दै रहे, तर समृद्धि कहीँ कतै देखिएन।

हरेक वर्ष नेपाली टाउकोमा ऋण थपिँदै गयो। अब त यस्तो लाग्छ कि म यो देशको नागरिक होइन, ऋणमा डुबेको दास हुँ। दासत्वबाट उम्कने बाटोदेखि नै रहेको छैन । मर्नुभन्दा अगाडि देव ऋण, ऋषि ऋण र पितृ ऋण त तिरेर जाउँला, तर सरकारले लगाएको ऋण तिर्न भने सक्ने स्थिति छैन ।

समस्या राजनीतिमा होइन राजनीति गर्नेहरूमा छ । हाम्रो समाजमा राजनीतिज्ञ भन्नेहरूले राजनीतिलाई शक्ति, सम्पत्ति प्राप्त गर्न र अरूको विरुद्ध प्रयोग गर्दै आएका छन् ।

४o हजारको जागिरेले ३ करोडको घर १ करोडको गाडी, छोराछोरीलाई महिनाको ८० हजार फी तिर्नुपर्ने महंगा स्कूल र उनीहरूको जीवनशैली रह्यो भने यो देशमा प्रत्येक नेपालीको भागमा ५१ हजार ऋण कसरी भयो होला भनेर तपाईं आफैं अचम्म पर्नुहुन्छ ।

भन्सारमा काम गर्ने कर्मचारी, करमा काम गर्ने कर्मचारी, मालपोतमा काम गर्ने कर्मचारी, वनमा काम गर्ने कर्मचारीहरूको हैसियत र जीवनस्तर स्कूल कलेज पढाउने शिक्षकको जीवनस्तर हेर्नुहोस्। समाजको आर्थिक पाटो आफै छर्लङ्ग हुन्छ। राजनीति गर्नेबाहेक कर्मचारी (पुलिस, आर्मी)हरूको जीवनशैली हेर्नु भयो भने बुझ्न नसक्ने छ ।

वर्षौंवर्षसम्म नेपाली नागरिकले नेताको आँखामा आकाशगंगा देख्दा तिनीहरूले नागरिकको आँखामा तारा देख्न नसक्दा पनि हामी निन्द्राबाट बिउँझिन सकेनौं । एक दिन यस्तो आउनेछ कि तिनै खराब पात्रहरूले राजनीति गर्ने पार्टी नरहला तर हामी चुप लागेर बसिरह्यो भने यो नेपाल भन्ने देश नै रहने छैन। भाषण गरेर शासन गर्दै रासन कुम्ल्याउने भ्रमजीवीहरूको माझमा काम गरेर थोरै भएपनि पैसा कमाएर माम खाने श्रमजीवीहरूलाई बस्नलायक समाज बनाउन आजैबाट जुट्नुहोस्।

भनिन्छ, बौद्धिक गल्तीले असफलता निम्त्याउँछ; नैतिक गल्तीले चिन्ता ल्याउँछ र आध्यात्मिक गल्तीले डर निम्त्याउँछ। हाम्रो समाजमा आज जता हेरे पनि यी तीनै गल्ती दोहारिरहेको पाइन्छ ।

अब ढिला हुन लागिसक्यो। आजै जुट्नु भएन भने हाम्रा भावी सन्ततिले हामीलाई धिक्कार्ने छन् । तपाईं अहिले जहाँ उभिनुभएको छ, त्यहाँ राजनैतिक विचार, आदर्श, मूल्य मान्यता र अनुशासनको अन्त्य भएको छ। यस्तो लाग्छ, राजनीति र वेश्यावृत्ति यी दुई यस्ता पेशा हुन्, जसलाई अघिल्लो अनुभवको आवश्यकता पर्दैन । यौन वेश्यावृत्ति, यौन बेचबिखनको कार्य हो भने राजनीतिक वेश्यावृत्तिले जनताको आशा, इच्छा र आकाङ्क्षा बेच्दछ ।

हाम्रो देशमा जनताले उज्ज्वल भविष्यका लागि हरेकपटक मतदान गर्छन्, तर त्यो मतपत्रले हामीलाई अन्धकारमा बाँच्न बाध्य बनाई नै रहन्छ । ​​जब भ्रष्ट, बेइमान र अपराधी किसिमका मनुष्यहरूको हातमा जनशक्ति र धनशक्ति बढ्छ, तब देश र संसारमा हिंसा, अपराध, भय, आतंकवाद, अन्याय, शोषण चरमसीमामा पुग्दछ र अन्त्यमा विनाश हुन्छ। जब श्रेष्ठ मानिसहरूको हातमा जनशक्ति र धनशक्ति पुग्नेछ तब सेवा, सद्भावना, भाइचारा र प्रेम बढ्नेछ ।

राष्ट्रवाद, अध्यात्मवाद र मानवतावादलाई बल मिल्नेछ। राष्ट्रमा विकास र समृद्धि आउँनेछ । त्यसैले अब transactional leaders होइन transformational leaders लाई छान्ने कोशिश गरौं ।

आज देशमा दलालका पनि पदक्रम छन्। स्वदेशी, विदेशी, स्थानीय, फरक-फरक रकमको कारोबारका लागि फरक-फरक दलाल छन् । विकासको काम विकासका लागि नभएर आफ्नो मान्छेलाई ठेक्का दिलाउनका लागि मात्र हुन्छ। त्यसले गर्दा आज देशमा थुप्रै बन्न नसकेका बाटा, पुल र थुप्रै संरचनाहरू छन्। बनाइसकेका संरचनाको पनि क्वालिटी छैन ।

आज विना दलाल दल नचल्ने स्थितिमा पुगेको छ। जब दलमा दलाल हावी हुन्छ, तब समाज दलदलमा नफस्ने कुरै आउँदैन ।

 

दीपकराज जोशी
दीपकराज जोशी

लेखकबाट थप…

राजनीतिमा लागेका युवालाई सुझाव–  नेता बन्नुहोस्, अनुयायी होइन

राजनीतिमा लागेका युवालाई सुझाव– नेता बन्नुहोस्, अनुयायी होइन

राजनीति एक नागरिकको हरेक दिनको कार्य हो। कुनै शंका नै छैन, स्वस्थ्य लोकतन्त्रको ठूलो हिस्सा युवाहरूमा निर्भर गर्दछ । युवा पुस्ता राष्ट्रको प्रगति निर्धारण गर्ने मुख्य स्तम्भ पनि हो। नेपालको जनसंख्याको ६०% जनता ४० वर्षभन्दा कम उमेरका छन्, जो हाम्रो समाजका मुटु हुन् । हामीले के कुरा बुझ्नु पर्छ भने राजनीतिको पाङ्ग्रा युवाहरूको सहभागिता विना घुम्न सक्तैन र उनीहरू अघिल्लो पुस्ताको विचारधाराका कैदी पनि होइनन् ।

युवाहरू आशावादी गतिशील पात्रहरू हुन् । तर कहिले काहीँ उनीहरूमा अशान्त र भावनात्मक नियन्त्रणको कमी हुन्छ । नेपालमा राजनीतिक परिवर्तन र प्रगतिको प्रक्रियामा युवा एक महत्त्वपूर्ण शक्ति हुनु पर्छ । तर हाम्रो देशमा ७० वर्षमाथिका नेताहरूले देशको नेतृत्व गर्दै आएका छन्  ।

धेरैजसो पुराना नेताहरूको क्षमता न हिजो थियो, न आज नै छ । उनीहरूले जे प्रतिज्ञा गरे त्यो कहिल्यै पनि पूरा गरेनन् र गरेको कामको उत्तरदायित्व पनि लिएनन् । लिँदैनन् पनि, किनकि उनीहरू त्यो लायक नै छैनन् ।

नेपालका युवाहरू यस्तो देशमा बाँचिरहेका छन् जहाँ राजनीति गर्ने र सरकार चलाउनेहरू अयोग्य छन् भने स्नातक गरेका युवाहरू रोजगारीको खोजीमा सडकमा भौँतारिइरहेका छन् । एक राम्रो जागिर प्राप्त गर्नका लागि ४ वर्ष डिग्री त्यसमाथि ३-५ वर्षको अनुभवको आवश्यकता पर्छ। तर यहाँ राजनीति गरेर पद लिनेहरूमा न्यूनतम ज्ञान र अनुभव पनि हुनु आवश्यक छैन ।

अन्धोले अन्धोलाई डोहोर्‍याएर कहाँसम्म लान सक्छ, मार्गदर्शक नै खराब भयो भने गन्तव्यमा कहाँ पुगिन्छ र ? कलेज, विश्वविद्यालय नगई खासै केही पनि दृष्टिकोण नभएकाले कलेज, विश्वविद्यालय गएर दृष्टिकोण बनाएकाहरूलाई पार्टी हाँक्न दियो भने पार्टीको हालत कस्तो हुन्छ अब छिट्टै देखिने छ। युवाहरू निराश हुनुको कारणहरूमध्ये एउटा महत्त्वपूर्ण कारण यो पनि हो ।

नेपालको भविष्य राजनीतिक, आर्थिक,  कानूनी, आध्यात्मिक र नैतिक मूल्यहरूसहित एक नयाँ प्रकारको सामाजिक सम्बन्धको स्थापनामा निर्भर गर्दछ, जबकि युवाहरूलाई मतदाता समूहको रूपमा वा उम्मेदवारहरूलाई चुनाव जिताउनका लागि मात्र प्रयोग गरिन्छ।

नेपालका युवाहरू अहिले सामाजिक सञ्जालमा यति व्यस्त छन् कि उनीहरू समाज परिवर्तन गर्नका लागि कडी हुनुपर्छ भन्ने कुरा पनि बिर्सिएर सामाजिक सञ्जालमा अल्झिएका छन्। खास परिवर्तनका लागि उनीहरू स्थानीय, राज्य र संघीय स्तरबाट राजनीतिमा भाग लिनुपर्छ। यथास्थितिवादी शक्तिहरूलाई चुनौतीपूर्ण तवरले विस्थापित गर्नमा लाग्नुपर्छ।

राजनीति आमजनताको पक्षमा हुनुपर्छ। राजनीतिमा बौद्धिक युवाहरूको संलग्नताले जनताको पक्ष लिने नीतिहरू उत्पादन गर्दछ। राजनीति समाज परिवर्तन र देशलाई प्रगति पथमा लैजानका लागि सबैभन्दा प्रभावकारी उपकरण हो। राजनीति एउटा यस्तो चीज हो जुन सामाजिक जीवनबाट अलग हुन सक्दैन ।

पक्कै पनि राजनीति नेपाली युवाहरूद्वारा खेलेको भूमिकाबाट अलग गर्न सकिँदैन । परिवर्तनका लागि युवाको सहभागिता धेरै आवश्यक छ । आज धेरै युवाहरू राजनीतिप्रति उदासीन देखिन्छन्, जसको नजरमा राजनीति फोहोरी खेल हो । जसको एक मात्र कारण लोप भइरहेको राजनीतिक मूल्य र मान्यता हो।

युवामा राजनीति र राजनीति गर्नेहरूका प्रति विश्वास घटेको छ। त्यो मर्न लागेको विश्वासलाई फेरि जीवन दिन युवा पुस्ताको नै आवश्यकता पर्छ ।

भनिन्छ, हिरा काट्न हिरा नै चाहिन्छ। त्यस्तै यो परिस्थितिसँग जुध्न पनि युवा नै चाहिन्छ। नेपाली राजनीतिमा युवाहरूले उदाउनका लागि यो एउटा सुवर्ण अवसर पनि हो। युवा नेतृत्व आजको समयको माग हो । जसले देश परिवर्तनको सम्भावनालाई संकेत गर्छ। युवा नेतृत्वले देश बदल्नमा ठूलो भूमिका खेल्न सक्छ।

राष्ट्रको दिशा र लक्ष्य निर्धारण गर्न राजनीतिमा युवाहरूको सहभागिता ठूलो हुन्छ। युवाहरूलाई यो पनि थाहा हुनुपर्छ कि उनीहरू एक राष्ट्रको विकासको नेतृत्व गर्ने अगुवा हुन्।

आजको समयका आशाको किरण हुन् । युवाहरूसँग परिवर्तनको एजेन्टको रूपमा आफूलाई खडा गर्नुपर्ने चुनौती छ, जसको मतलब युवाहरूले आफ्नो देशको प्रगतिको केन्द्रमा हुनका लागि खराब समय र व्यवस्थाका विरुद्ध लड्नुपर्ने हुन्छ। भविष्यमा राष्ट्रको उत्तराधिकारीको रूपमा युवाको भूमिका अविभाज्य छ। युवाहरूलाई अनुत्पादक गतिविधिहरूमा फस्न दिनुहुँदैन जसले उनीहरूको भविष्यलाई नष्ट गर्दछ ।

विवेकशील पार्टी मात्र नभएर नेपाली कांग्रेस र अरू पार्टीहरूमा पनि विस्तारै युवाहरूको संलग्नता बिस्तारै बढ्दैछ । भर्खरै भइरहेको नेपाली कांग्रेसको चुनावमा स्थानीय स्तरमा देखिएको नतिजाले केही आशा भने जगाउँछ । युवा हुनु मात्र पर्याप्त  छैन । भोलिको संसारका लागि आजदेखि नै युवाहरूलाई तयार बनाउनुपर्छ । युवा देशको भविष्य मात्रै होइनन्, उनीहरू देशको वर्तमान पनि हुन् । सुन्दर बिहानीले सुनौलो दिन देखाउँछ ।

बधाई छ, चुनाव जितेर आउनु भएका सबै कांग्रेसका युवा नेताहरूलाई। आशा छ, यहाँहरूले एक दिन कांग्रेसको मुहान सफा गर्नुहुनेछ । तर एउटा कुरा भने नबिर्सिनुहोला, तपाईंले सफा गर्नुपर्ने मुहानमा कुनै बेला सुनका टुटी भएका कृष्णप्रसाद भट्टराई र गणेशमान सिंह जस्ता मूर्धन्य व्यक्तित्व पनि हुनुहुन्थ्यो। तर उहाँहरूलाई जालझेल गरेर, दु:ख दिएर, भित्तामा पुर्‍याएर, सुनको टुटीमा आगो लगाएर गलाउने काम गरी नष्ट गर्ने काम भएको थियो। जसलाई फालेर बाँसको धारा हालेर माटोको भुँड्कामा पानी राख्ने नेतृत्व विकास भएको थियो।

जुन पार्टीमा तपाईं अहिले हुनुहुन्छ, जहाँ उभिनुभएको छ, त्यहाँ राजनैतिक विचार, आदर्श, मूल्य र मान्यता, असल शासन, इमान्दारिता, जनताप्रतिको बफादारिता, राजनैतिक अनुशासन जस्ता कुराको अन्त्य भएको छ, जसले गर्दा कांग्रेसमा हराएका ती सम्पूर्ण थिति बसाल्ने ठूलो जिम्मेवारी तपाईंको काँधमा आएको छ ।

यहाँ त आमाको फरिया बेचेर वेश्यालाई पछ्यौरी किनिदिनेको जमात छ। के तपाईं नेपाली कांग्रेसभित्रको यो भीडलाई हटाउन सक्नुहुन्छ ? यदि सक्नु भयो भने मात्र तपाईंको राजनीति सार्थक हुनेछ। होइन भने अब आउने पुस्तालाई दिने जवाफ तपाईंसँग हुने छैन। भावी पुस्ताले आफूलाई कांग्रेस बनाउनुपर्ने कुनै तुक भेट्टाउने छैनन्।

आज कांग्रेसको बारीमा तुलसी रोप्नुभयो भने तुलसी नै उम्रेला, बढ्ला, तर तुलसी भनेर धतुरोको बिउ रोप्नुभयो भने भविष्यमा कांग्रेसमा तुलसीभन्दा बढी धतुरो देखिने छन् र धतुरोबाट आशा गर्नसक्ने केही हुने छैन ।

दीपकराज जोशी
दीपकराज जोशी

लेखकबाट थप…

गगनको गनगन !

गगनको गनगन !

 

दीपकराज जोशी
दीपकराज जोशी

झट्ट सुन्दा यो लेख केवल गगन थापाका लागि लेखेको जस्तो सुनिएला तर यो लेख आफूलाई फरक धारमा राखी समाजलाई जादुको छडी लिएर परिवर्तन गर्न सकिन्छ भन्ने तमाम् युवा नेताप्रति समर्पित छ । यो लेखमा गगन भन्ने पात्र गगन थापा मात्र नभएर सम्पूर्ण युवा नेता हुन् । त्यस्ता युवा नेता जसलाई पद चाहिएको छ तर किन चाहिएको छ र पद पाएपछि के गर्ने भन्ने एजेन्डाको कुनै अत्तोपत्तो छैन ।

अरू कार्य जस्तै राजनीति पनि नागरिकले गर्नैपर्ने अपरिहार्य कार्य हो। स्वस्थ प्रजातन्त्रका लागि युवाहरूको ठूलो भूमिका हुन्छ। युवा पुस्ता देशको प्रगति निर्धारण गर्ने प्रमुख स्तम्भ हुन् भन्ने कुरामा शंकै छैन । राजनीतिको चक्र युवाको संलग्नताविना घुम्दैन भन्ने कुरालाई हामी अस्वीकार गर्न सक्दैनौँ। तर पनि नेपालमा ४० प्रतिशत जनता ४o वर्षभन्दा कम उमेरका छन् भने देशको राज्यभार ७० वर्षभन्दा बढी उमेर भएकाले नै सम्हालेका छन्।

नेपालका अधिकांश युवाहरू एउटा कुरामा विश्वास गर्छन् कि तिनीहरू त्यस्तो देशमा बस्छन् जहाँ पार्टी र सरकार अयोग्य मानिसहरूले आफ्नो फाइदाका लागि चलाउँछन् भने अर्कातिर स्नातक र स्नातकोत्तर गरेका युवाहरू कोही रोजगारी खोज्न सडकमा भौँतारिदै हिँड्छन्‌। कोही राहदानी च्यापेर मुगलान भासिन्छन् भने बाँकी रहेकाहरू सामाजिक सञ्जालमा आफूलाई अग्रपंक्तिमा देखाउनमा व्यस्त छन् । टिकटक र फेसबूकले बर्बाद गरेको छ एउटा पूरै पुस्ताको सुनौलो समय।

आज वृद्ध भनिएकाहरूले पनि समाजलाई केही गर्छु भनेर युवा अवस्थाबाट नै राजनीति शुरू गरेका हुन्।

राजनीति गर्दागर्दै बुढा भए र आज तिनै वृद्धसँग भोट बैंक छ। युवाहरू तिनै बुढाको पछि लागि गाईको पुच्छरमा समाएर वैतरणी तरेजस्तै आफ्नो भविष्य बनाउन पार्टीको चुनावमा होस् वा सरकार चलाउने चुनावमा सधैँ भोट हाल्छन् । अब भन्नुहोस्, दोष कसलाई दिने ? चुनाव जिताउने युवालाई दिने कि चुनाव जित्ने वृद्धहरू लाई ?

नेपालको राजनीतिक, आर्थिक परिवर्तन र प्रगतिको प्रक्रियामा युवा एक महत्त्वपूर्ण शक्ति हुनुपर्छ भन्नेमा कुनै द्विविधा छैन। युवा पुस्ताका पनि आफ्नै कमी कमजोरी छन्। तर पनि उनीहरू पुरानो पुस्ताको विचारधाराका बन्दी भने होइनन्। मुल मुद्दा नयाँ पुस्ता वा पुरानो पुस्ता भन्ने होइन। मुद्दा त उनीहरूको सोच प्रक्रियाको हो। राजनीतिमा लाग्नेहरूको क्षमता र दक्षता भनेको समाजमा उनीहरूले पुर्‍याउने योगदान नै हो।

हामी तब मात्र राम्रो काम गर्न र सफल हुन सक्छौँ जहाँ फरक पिँढीबीचको सङ्घर्षविना विविधतालाई स्वीकार गर्ने क्षमता, मानसिकताका साथै वैचारिक खुलापन र फरकधारलाई पनि सम्मान गर्न सक्ने नेतृत्व हुन्छ ।

समाज आफ्नै तरिका र आफ्नो गतिले परिवर्तन हुन्छ। यदि परिवर्तनको गति बढाउन चाहनुहुन्छ भने तपाईंको सोचको गति पनि बढाउनुपर्ने हुन्छ। तपाइँ आफू मन्द गतिमा अगाडि बढिरहने हो भने समाज परिवर्तनको पखेटा लगाएर उड्नेवाला छैन।

गगन थापा युवाको ढुकढुकी अवश्य हुन्। उनी समसामयिक विषयवस्तुप्रति जानकार छन्। भाषण गर्न सक्छन्। जसमा एउटा जमातलाई सम्झाएर आफ्नो पक्षमा ल्याउने क्षमता पनि छ। उनका राम्रा/नराम्रा पक्ष दुवै छन्। उनमा भएको राम्रा कुरा त राम्रा भई नै हाले, उनले नराम्रा कुराहरूमा पनि समयसापेक्ष सुधार गर्दै लैजालान् । एकथरि युवाहरू यो समाजमा पनि गगन थापा जस्तो नेता छन्, भनेर ढुक्क छन्।

सबैभन्दा पुरानो र ठूलो पार्टीमा गगन थापा मात्र युवाको ढुकढुकी हुनु भनेको खुशी होइन, दु:खको कुरा हो। गगनजस्ता धेरै नेताको जमात नहुनु हाम्रो समाजको सबैभन्दा ठूलो दुर्भाग्य हो।

गगन थापा यो समाजका लागि चाहिने असल नेता हुन् कि होइनन् भन्ने प्रश्नको जवाफ जनताले तब मात्र पाउने छन्, जब समाजमा गगन जस्ता धेरै नेता हुनेछन्। उनीहरू बीचमा निष्पक्ष रूपमा प्रतिस्पर्धा हुन्छ। विनाप्रतिस्पर्धा यो असल यो खराब भनेर निर्णय लिनु हुँदैन।

७०० पूर्णाङ्कको परीक्षामा ३०० ल्याएर प्रथम हुने विद्यार्थीलाई प्रथम भएको त भन्न मिल्छ तर साँचो अर्थमा भने प्रथम भएको भन्ने होइन। सबै खराबहरूमध्येको असल हुनु सच्चा मानेमा असल हुँदैन। राजनीति एउटा टीमवर्क हो। जसरी एउटा असल खेलाडीको कारणले मात्र खेल जित्न सकिँदैन, त्यसरी नै केबल एउटा असल नेताको आडमा समाज परिवर्तन हुँदैन।

अब रह्यो पुरानो पुस्ताले बिदा लिनुपर्छ भन्ने कुरा। राजनीतिज्ञको उमेरको प्रश्न संवेदनशील, व्यक्तिगत र पूर्वाग्रहको विषय हो। तर यो नयाँ  विषय भने अवश्य होइन । प्रत्येक नयाँ पिँढीकाहरूलाई हामी पुरानो पिँढीभन्दा असल छौँ भन्दै पुरानो पिँढीलाई दोष दिएकै हुन्छन् ।

चाहेर नचाहेर उमेरसँगै मानिसमा मानसिक र शारीरिक गिरावट आउँछ । राजनीतिमा उमेर, लिङ्ग, जाति, वर्ग र यौन जस्ता विशेषताले निर्वाचित नागरिकको व्यवहार र नीति निर्माणमा प्रभाव पार्छ । बुढाहरू पनि यही समाजका अंग भएकाले राजनीतिमा संलग्न रहनु उनीहरूको नैतिक दायित्व हो ।

राजनैतिक लक्ष्य र आदर्श हासिल गर्नका लागि आउने चुनौतीहरूको सामना गर्न लचिलो हुनुपर्दछ। कसले बनाउने भन्दा पनि कसरी बनाउने भन्ने चिन्ताको विषय हो । उनीहरू यदि परिवर्तनको चाहना राख्छन् भने गुटको पछि नलागेर युवाको मात्र समूह बनाएर छुट्टै चुनाव लड्न किन सक्दैनन् ?

पुराना राजनीतिज्ञको सबैभन्दा ठूलो सम्पत्ति भनेको उनीहरूको उमेरसँगै आएको ज्ञान र अनुभव मात्रै होइन, उनीहरूसँग भएको आत्मसंयम र धैर्यता पनि हो, जो युवा पुस्तामा बिरलै भेटिन्छ । आत्मसंयम, धैर्यता र स्थिरताले पुराना राजनीतिज्ञलाई विशेष गरी संकटको समयमा मूल्यवान बनाउँछ। जबकि यस्तो समयमा युवा अर्थात् कम अनुभवी नेताहरूले होश गुमाउन सक्ने सम्भावना प्रबल हुन्छ।

उम्मेदवारहरूको उमेर नै सबैभन्दा महत्त्वपूर्ण कुरा होइन। महत्त्वपूर्ण कुरा उनीहरूको विचार हो। हामीलाई पुरानो भए पनि बुद्धिमानी र असल नेतृत्व चाहिएको छ । उमेरले परिपक्वता, परिप्रेक्ष्य र आत्म-ज्ञानको एक निश्चित मात्रा ल्याउँछ। जसले हामीलाई हाम्रो दीर्घकालीन लक्ष्यहरू हाँसिल गर्न र दिनुपर्ने प्राथमिकतामा पुनर्विचार गर्न मद्दत गर्दछ।

हाम्रा नयाँ पुस्ताले बुढाहरूले मात्रै देश चलाए भनेर कुर्लिनुको अर्थ अमिताभ बच्चनलाई बुढो भयो अब फिल्म नखेल नयाँ पुस्ताले फिल्म खेल्न पाउनुपर्छ भनेर आन्दोलन गरे जस्तै हो। बुढेसकालका गीतकारलाई गीत नलेख, संगीतकारलाई संगीत नगर, बुढो लेखकलाई नलेख, बुढो वकिललाई मुद्दा नलड भन्नु कतिको जायज कुरा हो? हाम्रो देशमा राजनीति गर्ने पुरानो पुस्ता अमिताभ बच्चन जस्ता छन् कि छैनन्? त्यो फरक पाटो हो, जसका बारेमा बेग्लै छलफल हुनु जरुरी छ।

राजनीति भनेको राज्यको नीति, व्यवस्थालाई ठीक गरी जनताका लागि अन्य देशप्रतिको कूटनैतिक सम्बन्धलाई ठीक राख्ने व्यवहारगत व्यवस्था हो । जो यस्ता कुरा गर्न सक्षम छ, ऊ नै राजनीतिका लागि योग्य हुन्छ।

२१औं शताब्दीमा आएर उमेरका आधारले मात्र कसैलाई काम गर्न दिन हुन्न भन्ने विचार राख्ने युवालाई बुद्धिमान युवा भन्न मिल्दैन। जब विचार नै लिबरल र दूरदर्शी छैन भने उनीहरूले गर्ने कार्य कस्तो होला? जो उमेरमा मात्रै युवा हुन्, चेतनामा भने पूरै गुट र उपगुटमा लिप्त भएका छन् भने तिनीहरूले पार्टीलाई निकास दिन सक्छन् भनेर कसरी विश्वास गर्ने ?

अहिलेका कांग्रेसका युवा नेताहरू घाँटी सुक्नेगरी बुढाहरूलाई बिदा गर्नुपर्‍यो भनेर कराउँछन्। उनीहरूलाई बुढा नेताहरूले के गरेनन्, युवाहरूले के गर्न सक्छन् भनेर सोध्यो भने त्यसको जवाफ दिन नसक्ने मात्र होइन जवाफ दिने हैसियत पनि राख्दैनन्। राखुन् पनि कसरी ? धेरैजसो बौद्धिक टोपलिने उनीहरूको बौद्धिक क्षमता औसतभन्दा पनि तल छ ।

परीक्षामा चिट चोरेर ढुंगामुढाको राजनीति गरेर माथि उठेकाहरूबाट के नै आशा गर्न सकिन्छ र ?

राजनीति र विकास एउटा सामूहिक कार्य हो। तर यहाँ त व्यक्तिवाद हाबी भएको छ । व्यक्तिगत प्रचारबाजीका लागि जे पनि गर्ने र बोल्ने नेताले समाजको विकास गर्न सक्दैन। के कांग्रेसमा युवा नेता आएपछि समस्या समाधान होला त ? अवश्य हुँदैन । जबसम्म हाम्रो समाजमा राजनैतिक प्रवृत्ति फेरिँदैन तबसम्म पात्र मात्र फेरिएर केही हुनेवाला छैन । प्रवृत्ति एकल काम होइन यो सामूहिक काम हो। नेतृत्व कसैले छाड्दैन, दाबी गर्नेले नेतृत्व लिने क्षमता राख्नुपर्छ । युवाले नेतृत्व गर्दैमा देशको समृद्धि हुने होइन ।

राजनीति युवामैत्री भन्दा पनि समाजमैत्री, सिद्धान्तमैत्री हुनुपर्छ । अहिले नेपालमा भएका धरैजसो युवाहरू भरोसा गर्न लायक देखिँदैनन्। यसको अर्थ यो होइन कि बुढाहरू भरोसा गर्न लायक छन्। राजनीतिमा संस्कार र सिद्धान्त ठूलो कुरा हो जो रातारात आउँदैन। देश बनाउने हो भनेर कराउँदै र दौडँदैमा देश बन्दैन। राजनैतिक संरचनाभित्र रहेर सबै काम गर्नुपर्छ ।

राजनैतिक लक्ष्य र आदर्श हासिल गर्नका लागि आउने चुनौतीहरूको सामना गर्न लचिलो हुनुपर्दछ। कसले बनाउने भन्दा पनि कसरी बनाउने भन्ने चिन्ताको विषय हो । उनीहरू यदि परिवर्तनको चाहना राख्छन् भने गुटको पछि नलागेर युवाको मात्र समूह बनाएर छुट्टै चुनाव लड्न किन सक्दैनन् ? किनभने उनीहरूसँग भोट बैंक छैन ।

अहिलेका युवा नेताहरूको चाहना आफ्नो बलबुतामा होइन बुढाहरूले छाडेर तीनै बुढाहरूको गुटका मान्छेको सहायता लिएर नेतृत्व लिन चाहन्छन्। नेपाली कांग्रेसको केन्द्रीय समितिमा अहिले युवाहरू छन् ।

कुनै पनि बैठकमा युवाहरूले फरक ढंगले पार्टीलाई अगाडि बढाउनुपर्छ भनेर भावी योजना प्रस्तुत गरेको वा बैठकमा युवाहरूले नोट अफ डिसेन्ट लेखेको देखिँदैन। त्यही बुढा नेताको पुच्छर भएर हातमा हात मिलाएको मात्र देखिन्छ। नयाँ पुस्ताले कांग्रेसलाई कसरी अगाडि बढाउने भन्ने कार्यक्रम प्रकाशित भएको देखिएको छैन।

बी.पीको सपना साकार पार्नुपर्छ भनेर रटान लगाएको ७० वर्ष भयो। के युवा नेतामा अहिलेका Alpha generation को सपना के हो र कसरी पूरा गर्न सकिन्छ भन्नेबारेमा चिन्ता नै छैन । भएपनि कुनै लिखित योजना छैन। अंग्रेजी एउटा भनाइ छ, ‘if you fail to plan you are planning to fail’ यदि तपाईं योजना बनाउन विफल हुनुभयो भने तपाईं असफल हुन योजना बनाइरहनु भएको छ। यो भनाइ नेपाली कांग्रेसका युवा नेतामा ठ्याक्कै लागू हुन्छ । युवाहरूले नेपाली कांग्रेसजस्तो ३२ लाख भोट भएको संगठनलाई अगाडि बढाउने तत्कालीन, मध्यकालीन, दीर्घकालीन कार्यक्रमहरू के हुन् त त्यो प्रस्ट पारेका छैनन् ।

धेरैजसो युवा नेताहरू विश्वविद्यालय राजनीतिमा आएका भए पनि ती नेताहरूले आजका युवालाई प्रभावित गर्ने मुद्दाहरू उठाएको देखिँदैन। अमेरिका जस्तो विकसित मुलुकमा पनि २०२० को चुनावमा सबैभन्दा बुढा राष्ट्रपति पदका उम्मेदवार बर्नी स्यान्डर नै विद्यार्थी ऋण, युद्ध र जलवायु परिवर्तनका लागि सबैभन्दा महत्त्वाकाङ्क्षी योजनाका साथ चुनाव लडेका थिए, जुन मुद्दाहरू युवाका बीच पनि लोकप्रिय थियो ।

५१ प्रतिशत महिला भएको देशमा महिलाको प्रतिनिधित्व बढी हुनु पर्ने होइन र ? यो भन्दा अगाडिको कांग्रेसको चुनावमा एकजना पनि महिला प्रतक्ष्यतर्फ निर्वाचित भएनन्। जबरजस्ती कोटाका आधारमा र आफ्नो परिवारका महिलाबाहेक अरू महिलालाई नेतृत्व अगाडि ल्याउने कुनै योजना नेपाली कांग्रेसले गरेको देखिँदैन‌। युवाले नेतृत्व लिन्छु भन्दै गर्दा कति प्रतिशत माहिला त्यसमा समावेश हुने हुन् त्यसको कुनै योजनासम्म पनि छैन। उनीहरू पनि केही माहिलालाई कोटामा पद दिउँला भन्ने योजनामा नै छन्। बीपी कोइरालाको पालापछि नेपाली कांग्रेस गुणात्मक रूपमा समावेशी भएको देखिँदैन । पुरानो पुस्ताले बिदा लिनुपर्छ भन्नु दलित, महिला, मुस्लिम, अल्पसंख्यक लगायतकाहरूले आरक्षण कोटा पाएजस्तै युवाले पनि कोटा मागेबराबर हो ।

उमेरले युवा हुँदैमा उनीहरूले नेतृत्व लिनुपर्छ भन्ने होइन । उनीहरूमा समयसापेक्ष ताजा विचार, नयाँ दृष्टिकोण र बुद्धि हुनु जरुरी छ। युवा हुनु एउटा सद्गुण हो तर युवा हुँदैमा जादुको छडीले जादु देखाए जस्तैगरी समाज परिवर्तन हुँदैन । कार्यकर्तासँग जोडिन समय लाग्छ । विना विचार र विना कार्यकर्ता म नेतृत्व लिन सफल छु भन्नु कहिले काहीँ पार्टीप्रति पनि घातक सिद्ध हुन सक्छ।

चुनाव लडेर सरकार चलाउनका लागि उमेरको हदबन्दी राख्न सकिनेछ। तर पार्टी विचारले चल्ने हो र विचारको कुनै उमेर हुँदैन। विचारमा परिपक्वता उमेरले आउँछ । विचारको मन्थन हुने पार्टीमा राम्रो विचार दिने व्यक्ति भए सरकारमा असल काम गर्न सक्ने युवालाई पठाउन सकिन्छ।

युवाहरूसँग नयाँ दृष्टिकोण हुन्छ भने बुढाहरूसँग धेरै अनुभव हुन्छ। विना अनुभवको दृष्टिकोण र विना दृष्टिकोणको अनुभव राजनीतिमा घातक सावित हुन्छ। समावेशी राजनीतिक प्रणाली मौलिक प्रजातान्त्रिक अधिकारका लागि मात्र नभएर असल नीति निर्माण र समग्र विकासका लागि पनि महत्त्वपूर्ण हुन्छ । राजनीति देशको समृद्धिका लागि गरिन्छ। देश र समाजलाई केही गर्न सकिएन भने पनि आफ्नो पार्टीको समृद्धिका लागि गर्नुपर्छ। तर यहाँ आज गुट मात्र नभएर केबल व्यक्तिगत स्वार्थका लागि राजनीति गरिन्छ ।

कांग्रेसका युवा पुस्ताहरूले आज छोराछोरीले बाउआमाको शेखपछिको अंशबापत सम्पत्ति पाएजस्तै पुरानो पुस्ता गयो भने पद पाइन्छ भनेर ढुकेर बसेका छन्। पद ढुकेर बस्नुभन्दा आफ्नो क्षमताले पद हासिल गर्नेतिर लागे बेस हुन्छ नि होइन र ? आफूलाई असल नेता बनाउने काममा कसरत गर्न नसक्ने युवाले कांग्रेसलाई कुन दिशा दिन सक्ला? वास्तविक परिवर्तन राजनीतिक विविधताको कारणले आउँदछ । त्यस्तो व्यक्तिहरूलाई नेतृत्वमा ल्याउनुपर्दछ, जसले हामीले समर्थन गरेका मुद्दालाई समर्थन गर्दछ।

समाजमा बढ्दै गएको हिरोगिरि अर्थात् मपाईंत्व देख्दा यस्तो लाग्छ सबैलाई पदको नशा लागेको छ । गनगन र भनाभनले पार्टीमा र देशमा समृद्धि ल्याउँदैन।  अर्थ विनाको जीवन र उद्देश्य विनाका युवा समाजका लागि खतरनाक हुन्छन् । यदि साँच्चैनै युवाहरूलाई नेतृत्व लिन मन छ भने युवाहरूले एउटा पुस्ताले राजनीतिबाट बिदा लिनुपर्छ भन्नुको सट्टा जनतालाई कसले उनीहरूको प्रतिनिधित्व गर्ने भन्ने निर्णय गर्न दिनुपर्छ।

यसले गर्दा एउटा सकारात्मक सन्देश जानेछ । उमेर मात्र नेतृत्व गर्ने क्षमताको कारक हुनु हुँदैन। बरु अहिलेका युवा नेताहरूले अरू थप युवाहरूलाई राजनीतिमा प्रवेश गर्ने वातावरण बनाएर प्रोत्साहित गर्नुपर्छ । जब असल युवा नेताहरूको जमात ठूलो हुन्छ, खराब पुराना नेताहरू आफैँ विस्थापित हुनेछन् ।

पार्टीको नेतृत्व अंश जस्तो हो र मागेर पाइने? कानूनअनुसार बाउआमाले आफ्नै सम्पत्ति त छोराछोरीलाई दिनुपर्दैन, यदि उनीहरू लायक छैनन् भने । नेतृत्व भनेको त सामाजिक जिम्मेवारी हो । समाजलाई कुन दिशातर्फ लानेजस्तो गम्भीर जिम्मेवारी मागेर पाइने कुरा हो र ? नेतृत्व आफैँ निखारिएर लिने हो भिखमा आउने चिज होइन ।

यदि सही सिद्धान्त र संस्कारमा राजनीति गरेको भए जनताले कुनै पनि गुटमा नभए पनि नेता बनाउने छन्। भिखमा आएको नेतृत्वले भविष्यमा भिकारीबाहेक अरू केही बनाउँदैन। विना दर्शनको प्रदर्शनले आफ्नो राजनीतिक आधार बनाएका युवाबाट के साँच्चै नै काँग्रेसले गति लेला त ? त्यो हेर्न भने बाँकी नै छ ।

दीपकराज जोशी
दीपकराज जोशी

लेखकबाट थप…

अचम्मको देश !

दीपकराज जोशीदीपकराज जोशी

अचम्मको छ हाम्रो सरकारी संरचना र काम गर्ने तरिका । कमिसन आउने काम भए जे पनि गर्न तयार छन् ।

यहाँ दोहन, लुटतन्त्र, भ्रष्टाचार, कमिसनतन्त्र र बेथिति मात्र छ । ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका, ४६० गाउँपालिका र ६७४३ वडालाई आवश्यक कुरा दमकल हो कि डोजर, एक्स्काभेटर र ब्याकहोल्डर ? त्यो पनि छुट्याउन नसक्ने हामीले जिताएर पठाएका जनप्रतिनिधि र नीति निर्माणमा बसेकाहरूलाई के भन्ने ?


३ वर्षयताको तथ्यांक हेर्ने हो भने नेपालमा ५ हजार आगलागी, १५८ जनाको मृत्यु र ८ अर्बको भौतिक सम्पत्तिको क्षति भएको देखिन्छ । आगो निभाउनका लागि हालसम्म पनि अत्याधुनिक उपकरणहरू सर्वसुलभ तरिकाले उपलब्ध छैनन् ।

नेपालभर १२५ वटा दमकल छन् भने ९३ हजार हेभी इक्विपमेन्ट (डोजर, एक्स्काभेटर र ब्याकहोल्डर) छन् । काठमाडौं महानगर जस्तो देशकै ठूलो शहर, घनाबस्ती भएको ठाउँ, जहाँ १ करोडभन्दा बढी मूल्य पर्ने सवारीसाधन बाक्लै भेटिन्छन् तर महानगरसँग जम्मा ४ वटा मात्रै दमकल छन् ।

जनप्रतिनिधि (प्रदेश सरकारले ३ अर्ब ५७ करोड रुपैयाँ बराबर सवारीसाधन किनेको छ) लाई चढ्ने गाडी किन्न सक्ने महानगरले आगलागी हुँदा आगो निभाउने दमकल किन्न किन नसकेको हो ? यसैबाट प्रस्ट हुन्छ कि हामी र हाम्रो राजनैतिक संरचना कुन दिशातिर गइरहेको छ भनेर ।

सामान्य रूपमा प्रतिमहिना ४० हजार कमाइ हुने जागिर खानेहरूको एउटा बच्चाको विद्यालयमा मासिक फीस ४० हजार हुन्छ । १ गाडी (औसत ४० लाख) सहित ३ करोड बराबरको घर पनि बनाएकै हुन्छन् । जीवनस्तर हेर्ने हो भने पनि भव्य नै हुन्छ ।

राजनीति र समाजसेवा गर्नेहरूको त कुरै छाडौं । भौतिकवादले हाम्रो समाजलाई यसरी गाँजेको छ कि जसबाट निस्कन धेरै समय लाग्छ । जसले गर्दा मान्छे–मान्छेबीच ठूलो खाडल बन्ने कुरा स्पष्ट छ । यो कुरा पनि राजनीतिक अस्थिरताका कारणले नै मौलाएको हो ।

अब समाजको कुरा गरौं । कुनै वृद्ध बुवाआमालाई कसैले उहाँहरूको बारेमा सोध्यो भने उत्तर यस्तो आउँछ, ‘हामीलाई भगवान्ले सबै कुरा दिनुभएकोे छ । हामीलाई केही चाहिँदैन । मेरो कान्छी छोरी ––– न्यूयोर्कमा बस्छे । मेरो कान्छो छोरा ––– शिकागोमा बस्छ । मेरो जेठो छोरा र बुहारी ––– लन्डनमा बस्छन् । मेरो जेठी छोरी र ज्वाइँ ––– सिड्नीमा बस्छन् ।’

अनि तपाईंहरू कहाँ बस्नुहुन्छ भन्दा ‘हामी बूढाबूढी वृद्धाश्रममा बस्छौं’ भनेपछि हामी समयको कुन खण्डको पछि दौडिरहेका छौं भन्ने कुरा प्रस्ट नै छ । जुन कुरा किन भइरहेछ भने नागरिकहरूको सामाजिक सुरक्षाको ग्यारेन्टी गर्न सरकारले कुनै पनि पहलकदमी गरेको छैन । अर्कोतिर हामी पनि आफूलाई एउटा जिम्मेवार नागरिक बनाउन सकिरहेका छैनौं । जसको परिणाम तत्काल वाह लागे पनि कालान्तरमा गएर त्यसको नतिजा खराब नै आउँछ ।

एउटा अध्ययन अनुसार नेपालका झण्डै २४ प्रतिशत नागरिकहरू मद्यपान गर्छन् । काठमाडौंमा मात्र दिनको लगभग ११ हजार लिटर रक्सी पिइन्छ । नेपालका ५० प्रतिशत नागरिकहरू धुम्रपान गर्छन् । प्रत्येक २ मध्ये १ नेपाली सूर्तीजन्य पदार्थको उपभोक्ता छन् । वार्षिक रूपमा सूर्तीजन्य पदार्थको सेवन गरेबापत लाग्ने रोगबाट मृत्युवरण गर्नेको संख्या ठूलो रहेको कुरा विभिन्न समयमा भएका अध्ययनले बताउँछ ।

नेपालमा सूर्तीजन्य पदार्थ र मदिरा नियन्त्रणका लागि कडा नीतिनियमहरू नभएका होइनन् तर पनि सूर्तीजन्य पदार्थ र मदिराको प्रयोग बढ्दो छ ।

९५ प्रतिशत ओमकार परिवार भएकोे देशमा आयुर्वेद औषधालयको सट्टा रक्सी भट्टी र मासु पसल बढी छन् । नेपाल हिन्दूराष्ट्र हुनुपर्छ भनेर कराउनेहरू नै हिन्दू धर्मको मूल्य र मान्यताबाट चुकेका छन् ।

नेपाल संसारकै पहिलो देश हो, जसले ६८ वर्षको इतिहासका विभिन्न अवधिमा ७ वटा संविधानको अनुभव गर्‍यो तर मुलकको दुर्दशा जहाँको त्यहीँ रह्यो । १९४८ सालमा नेपालले पहिलो संविधान बनाउँदा संसारमा १०६ वटा सार्वभौम राज्यहरू थिए । अहिले संसारमा २०६ वटा सार्वभौम राज्य छन् । १०० वटा देश थपिएर प्रगति गर्दै उनीहरू कहाँबाट कहाँ पुगिसके, हामी चाहिँ मेलम्चीको पानी ३ घण्टा भए पनि आउने भयो भनेर खुशी छौं । कस्तो बिडम्बना ? संविधानको मर्म र भावनालाई नसमेटी गरिएका कार्यहरूले गर्दा संविधानलाई कागजको एउटा टुक्रा मात्र जस्तो बनाएको छ ।

नेपालको संवैधानिक इतिहासमा अहिलेसम्म ३१ वटा सरकार, ७ वटा संविधान लेखिए तर पनि किन ती संविधान बारम्बार लेखिए ? किन सरकार परिवर्तन भइराखे ? त्यसले देशलाई कुन दिशातिर उन्मुख गरिरहेको छ ? समग्र रूपमा अस्थिर राजनीतिले आज कस्तो परिणाम ल्यायो ? त्यो कसैको चासोको विषयभित्र पनि पर्छ कि पर्दैन होला ? यहाँ त कहीँ कतै नअटाएपछि मात्रै राजनीतिमा जानेहरूको होडबाजी हेर्न लायक छ । किनकि त्यो मात्रै यस्तो ठाउँ हो जहाँ गएपछि जे गरे पनि छुट पाइन्छ ।

मार्बल काट्ने मिस्त्री बिरलै भेटिने मेरो देश नेपालमा ७३ हजार इन्जिनीयर छन् । झण्डै ५ हजार पीएचडी गरेका शिक्षित वर्ग पनि छन् । यति हुँदाहुँदै पनि खस्कँदो शिक्षा प्रणालीका कारणले गर्दा विदेशमा अध्ययन गर्न जाने विद्यार्थीको संख्या बढ्दो छ ।

शिक्षा विभागको तथ्यांक अनुसार ३ लाख २३ हजार ९७२ विद्यार्थीले विदेशमा अध्ययन गरिरहेका छन् । यसरी विदेशमा गएर अध्ययन गर्दा वार्षिक झण्डै ४०.०९ बिलिएन मुद्रा बाहिरिएको छ । यी विद्यार्थी झण्डै ७० वटा देशमा अध्ययन गर्न जान्छन् । शिक्षा, विज्ञान र प्रविधि मन्त्रालयको वार्षिक बजेट १७१.७१ करोड हुँदा पनि पुरुष साक्षरता दर ७८.५९%, महिला साक्षरता ५९.७२% दरमा नेपाल विश्वमा १३१ स्थानमा पर्छ ।

३० लाख नेपाली आप्रवासी कामदारहरू विदेशमा आफ्नो जीवनस्तर उठाउन सकिन्छ कि भनेर विदेशिएका छन् । ३० मिलियन जनसंख्या भएको नेपालले झण्डै १२ प्रतिशतभन्दा बढी मानिसहरूलाई विदेशिन बाध्य बनाएको छ । यसरी विदेशिन बाध्य हुनेहरू उत्पादक उमेर (२० देखि ४० वर्ष) समूहका छन् । कस्तो बिडम्बना ? अहिले आधाभन्दा बढी नेपाली परिवारका सदस्यहरू विदेशमा काम गरिरहेका छन् । यो तथ्यांकमा भारतमा गएर काम गर्नेहरूलाई भने समावेश गरिएको छैन । जबकि ८ मिलियन नेपाली नागरिक भारतमा मजदुरी गर्छन् । अरु बचेकुचेकाको चुल्हो बाल्न खाडी काफी छँदैछ ।

नेपालमा झण्डै ५ हजार २०० वटा ‘प्लस टू’ पढाइ हुने कलेज छन् । १४ वटा विश्वविद्यालय छन् र ती विश्वविद्यालयबाट सम्बन्धन पाएका झण्डै १ हजार ४०० कलेज छन् । १४ वटा विश्वविद्यालयमध्ये कुनै विश्वविद्यालयमा जम्मा ७०० जना विद्यार्थी मात्र छन् । यति थोरै विद्यार्थीलाई पढाउने विश्वविद्यालय चाहिँ किन खुल्नुपर्ने होला ?

हुन त हाम्रो समाजमा कमिसनको नाममा जंगल मासेर अक्सिजन प्लान्ट बनाउँछु भन्नेहरूको पनि कमी छैन र तिनै छद्मभेषी वैज्ञानिकहरू नै वाहवाह बटुल्ने पात्र बन्छन् । विश्वविद्यालय अनुदान आयोगको वेबसाइटमा यति धेरै अपूर्ण जानकारी छ कि ती जानकारीले नागरिकलाई सूचित गर्नुको सट्टा भ्रमित गराउँछन् । कुन मात्र विश्वास गर्नु ? कुन चाहिँ नगर्नु ?

विश्व बैंकले इतिहासमै यसपालि कोरोना भाइरसको महामारीका कारणले गर्दा रेमिट्यान्स २० प्रतिशतले गिरावट हुने भविष्यवाणी गर्दा पनि नेपालमा अघिल्लो वर्षको तुलनामा यस वर्ष ११ प्रतिशतले विप्रेषण वृद्धि भएको छ भनेर भनिएको छ । अब यो किन र कसरी भयो ? भगवान् जानून् !

नेपालका सडकमा ५ लाखभन्दा बढी सवारीसाधनहरू चल्छन् । नेपालका कूल सवारीसाधनमध्ये ७८.७ प्रतिशत मोटरसाइकल छन् । यत्रो गाडी र मोटरसाइकलको लागि इन्धन, सवारीसाधनको पार्टपूर्जामा कति खर्च हुन्छ ? त्यसको हिसाबकिताब नै छैन र अझै हाम्रा नेताहरू हावामा गफ लडाइरहन्छन् कि हामी हावाबाट बिजुली निकाल्छौं र विद्युतीय सवारीसाधनले आफैंलाई परनिर्भर हुनबाट रोक्छौं । जबकि उनै नेतालाई थाहा छ कि यो काम भाषणमा बोल्न जति सजिलो छैन भनेर र पनि आश्वासन दिन भने छाड्दैनन् र हामी ताली पड्काउन पनि कहाँ छाड्छौं र ?

राम्रा विद्यार्थी, राम्रा डाक्टर, इन्जिनीयर, नर्स, खेलाडी, कवि, कलाकार, गायक सबै विदेशिने क्रम जारी छ । यसरी सबै राम्रा, सक्षम, असल र बलिया नेपाली विदेशिन बाध्य हुँदा अब नेपाल केवल अनपढ, खराब र कमजोर नागरिकको मात्र भीडभाड बन्ने स्थितिमा छ । त्यसैले पनि केही स्वघोषित टाठाबाठाहरूलाई राज गरिरहन सजिलो भएको छ । हुन त ३२ वर्षमा आफ्नै अफिस अर्थात् सांसद भवन त बनाउन नसक्ने स्वघोषित टाठाहरूले अरु कुरा बनाउँछन् भनेर आशा राख्नु पनि बेकार हो ।

राजनीतिमा सानातिना खटपटहरू सदैव हुन्छन् । राजनीतिक शिष्टता र राजनीतिक बफादारिता नभएका नेताहरूले १ दिन आफ्नो फाइदाको लागि जे पनि गर्न तयार हुनेछन् । यदि तपाईं सच्चा प्रजातन्त्रवादी हुनुहुन्छ र देशको माया लाग्छ भने यी छद्मभेषीहरूलाई सचेत गराउने बेला यही हो । प्रजातन्त्रमा सबैभन्दा ठूलो कुरा भनेको आवाज उठाउनु हो ।

आफैं दास मनस्थितिबाट गुज्रिरहेका नेताहरूले समाजलाई सामाजिक, राजनीतिक र आर्थिक दासत्वबाट मुक्ति दिनेछन् भनेर आशा गर्नु दिवास्वप्न मात्र हो । हत्या, हिंसा र बलात्कार जस्ता मुद्दामा पनि राजनीतिक फाइदाको लागि आफ्नो आवाज बन्द गर्ने हाम्रा नेताहरूबाट के नै आशा गर्न सकिन्छ ? यिनै नेताहरूको फरिया समातेर वैतरणी पार गर्न सकिन्छ भन्ने आशाले बाँचेका मनुवाहरूलाई पनि आजै बहिष्कार गरेर नयाँ जोश र जाँगर भएकालाई अगाडि सार्ने बेला आएको छ ।

कुनै डाँका वा हत्याराको पनि केही हदसम्म नैतिकता हुन्छ । डाँकाले पनि आफ्नो घरमा डकैती गर्दैन, नेपाली उखान छ चोरले पनि १० घर छाडेर मात्रै चोरी गर्छ तर हाम्रा नेतामा त त्यति पनि नैतिकता छैन । हामीले नै विजयी बनाएर पठाएका नेताहरूबाट हामी सुरक्षित छैनौं ।

मेरो गाउँको एउटा दाइले भन्नुहुन्थ्यो । नेपालको डाटा र पुलिसको भाटाको विश्वास हुँदैन । कहाँ कसरी लाग्छ पत्तै हुँदैन । आजकल हो रहेछ जस्तो पो लाग्दैछ । सबै नम्बर केलाउँदा–केलाउँदै आफ्नै उमेरको नम्बर बढेर जीवनले डाँडा काट्न लागिसक्यो, तै पनि के भइरहेको छ ? बुझ्न गाह्रो छ । त्यसैले हामी यो दम्भले भरिएको अचम्मको देशमा बस्छौं भन्दा अत्युक्ति नहोला । जहाँ सत्य सुन्दर छैन, सत्ता कुरूप छ ।

दीपकराज जोशी
दीपकराज जोशी

लेखकबाट थप…

आवश्यकता ‘सङ्घीय राजतन्त्र’को !

■ दीपकराज जोशी

सामान्य स्थितिमा ‘प्रजातान्त्रिक गणतन्त्र’को राज्यको रूप त्यागेर राजसंस्थालाई पुनःस्थापित गर्ने नेपाल विश्वको पहिलो देश छिट्टै बन्दैछ भन्यो भने तपाईंलाई अचम्म लाग्न सक्छ । संवैधानिक राजतन्त्र नेपालका लागि गणतन्त्रभन्दा उत्तम राजनीतिक समाधान हुन सक्छ भन्ने कुरामा नेपाली जनताहरू विस्तारै विश्वस्त हुन थालेका छन् । राजसंस्थाको पुनःस्थापना नेपालमा नजिक आइरहेको आभास चौतर्फी भइरहेको छ । हामी सामान्य गणतान्त्रिक सुस्तताबाट उठ्नुपर्ने बेला आएको छ जुन विगत २२ वर्षदेखि फरक राजनीतिक प्रयोगबाट आएको थियो जसले हाम्रो देशलाई विकसित र समृद्ध नबनाएर बेरोजगार, भष्ट्राचार कमिसनखोर, महँगी, अन्याय, अत्याचारभन्दा अरू बढी केही दिएन ।

एक आक्रोशित महँगो प्रणालीले हाम्रो जस्तो चिचिलो समाजका लागि सही दिशा दिन किमार्थ सक्दैन । सफल राष्ट्र निर्माण भनेको राष्ट्रका नागरिकहरूबीच राष्ट्रिय भावना जागृत भई एकताको सूत्रमा आवद्ध गराउँदै समाजलाई अगाडि बढाउनु हो । जब देशमा भएको व्यवस्थाले देशको इज्जत, मान, प्रतिष्ठा, जनताको इज्जत मान प्रतिष्ठा र संवेदनशीलता महसुस नगरी फगत पार्टीका लागि मात्र काम गर्छ भने त्यस्तो प्रणाली देशका लागि राम्रो हुनै सक्दैन ।

आज देशमा साझेदारी, प्रक्रिया, उद्देश्य, समस्या समाधान केवल पार्टीको र कार्यकर्ताको भलाइको लागि गरिएको छ । साधारण जनताको कुनै अस्तित्व छैन । शक्तिको दुरुपयोग र पैसाको लोभले समाजलाई अगाडि लैजान सक्दैन, तथापि भइरहेको छ त्यही । जुन तरिकाले समाज अगाडि बढिरहेको छ त्यसलाई हेर्ने हो भने हामी प्रजातान्त्रिक अभ्यास नभई सामाजिक डार्विनवादको अभ्यास गरिरहेका छौँ । अब हाम्रो देशको लागि राष्ट्रिय एकताको ग्यारेन्टरका रूपमा कसैको आवश्यकता छ र त्यो आवश्यकता भनेको संवैधानिक राजतन्त्र नै हो ।

संसदीय शासन प्रणालीमा आधारित संवैधानिक प्रणालीको हिस्सामा आधारित आधुनिक संवैधानिक राजतन्त्रमा कुनै खराबी छ जस्तो लाग्दैन । जसमा राजाको केवल औपचारिक भूमिका हुन्छ । स्वतन्त्रता र प्रजातन्त्रको सबैभन्दा महत्त्वपूर्ण पक्ष पहिचान र मर्यादा हो । जब हामीले राजतन्त्रको अन्त्य गर्‍यौँ, हामीले हाम्रो पहिचान र मर्यादा गुमायौँ र त्यसबेलादेखि हामीले स्वतन्त्रताका साथै साँचो प्रजातन्त्रिक अभ्यास गर्न सकेनौँ । हामीसँग अहिले जुन व्यवस्था छ त्यो गणतन्त्र होइन । यो हामीलाई चिट्ठामा आइपरेको अभिसाप हो । अरू कसैले थमाइदिएको व्यवस्था हो । यतिबेला जुन व्यवस्थामा हामी बाँच्न कोसिस गरिरहेका छौँ त्यस व्यवस्थाले हामीलाई नागरिकको रूपमा व्यवहार गर्दैन ।

अब खर्चका बारेमा कुरा गरौँ । पछिल्ला १० वर्षको तथ्याङ्क हेर्ने हो भने गणतन्त्रले राष्ट्रपति र उपराष्ट्रपतिका लागि १० अर्ब भन्दा बढी खर्च गर्‍यो तर २५० वर्ष चलेको राजतन्त्रले ९ करोड मात्र खर्च गर्‍यो । प्रत्येक चार वर्षमा राष्ट्रपति चुनिन्छ । एउटा राजाले कम्तिमा ३० वर्ष राजा हुँदा हामीलाई ७ राष्ट्रपति, ७ वटा उपराष्ट्रपति पाल्नुपर्ने हुन्छ । त्यति मात्र होइन ७ वटा राष्ट्रपति र उपराष्ट्रपतिका परिवारले गर्ने दुरुपयोग पनि झेल्नुपर्ने हुन्छ । २०१८–१९ मा नेपालको संघीय बजेट ८४५ बिलियन रुपैयाँ आवर्ती खर्च र ३१४.२८ रुपैया पूँजीगत खर्च विनियोजन भएको थियो । दोस्रो संघीय बजेट २०१९–२० मा ९५७ बिलियन रुपैयाँ आवर्ती खर्च र ४०८ बिलियन रुपैयाँ पूँजीगत खर्च थियो । जुन तरिकाको संघीय बजेट छ त्यसले आर्थिक जोखिम दर्शाउँछ । सात वटा प्रदेश र त्यसको खर्च नेपालले धान्न सक्ने स्थतिमा छैन । देश बचाउन र बनाउनको लागि अब नेपालमा तीन वटा मात्र प्रदेश बनाएर संघीय संवैधानिक राजतन्त्रमा प्रवेश गर्नु भन्दा अरु कुनै उपाय छैन जस्तो लाग्छ ।

जब क्षमताहीनहरूले राजनीति गर्छन् तब त्यस समाजमा थुप्रै समस्याहरू देखा पर्छन् । अदालतले न्याय दिँदैन, पुलिसले संरक्षण गर्दैन । राजनीतिसँग जोडिएका सामाजिक र सांस्कृतिक विभेदहरू दिन-प्रतिदिन गहिरिँदै जान्छन् । समृद्धि र सुशासन नारामा मात्र सीमित हुन्छन् । नेपालको दुर्दशा यस्तै छ यतिबेला ।

प्रजातन्त्र हुँदै गणतन्त्रमा आइपुग्दा नेपालमा जनता बिस्तारै हराउँदै गए र ‘कार्यकर्ता’ बढ्दै गए । जनताले समाज र देशका लागि सोच्दछन् भने कार्यकर्ताले केवल आफ्नो पार्टीका लागि मात्र सोच्छ । आजकलका राष्ट्रपतिज्यूको तामझाम गाडीका लामालस्कर हेर्दा, पहिले देशमा एक राजा थिए, अहिले हजारौँ राजा भएको भान हुन्छ ! ती हजारौँ राजाले देश र जनताका लागि सोच्ने नभएर केवल पार्टी र कार्यकर्ताको भलोको लागि मात्र सोच्ने परमपरा बसिसकेको छ ।

अब राष्ट्र बचाउने हो भने सबै नेपालीको एकता अपरिहार्य छ । एकता पार्टीले होइन राजतन्त्रले मात्र दिन्छ । त्यसकारण, नेपाली जनताहरू राजाले राष्ट्रपतिभन्दा बढी देशको छवि दिन्छन् भन्ने कुरामा विश्वस्त छन् । रोगी देशका लागि राजतन्त्र औषधी हुन्छ जस्तो लाग्छ । राजतन्त्रले पहिचानको बहुलता र निरन्तरताभित्र निरन्तर नवीकरणको प्रतिनिधित्व गर्दछ । राजतन्त्र एक उत्तम प्रणाली नहुन सक्छ, तर यो नेपालजस्तो देशका लागि सबैभन्दा राम्रो हो । जुन तरिकाले गतिशील छ, यो प्रमाणित भएको छ कि नेपालमा राजतन्त्र गणतन्त्र भन्दा बढी प्रजातान्त्रिक थियो !

हाम्रो जस्तो चिन्तित समाजलाई गणतन्त्रजस्तो उत्तेजित प्रणालीले निकास दिन सक्दैन । नेपालको गणतन्त्र महँगो, गाह्रो, ढिलो, अस्थिर, विरोधाभाषपूर्ण र निराशाजनक भएको छ । हामी डेमोक्रेटबिनाको डेमोक्रेसी अभ्यास गरिरहेका छौँ । समाजमा बिस्तारै लोकतान्त्रिक जराहरू कमजोर पारिँदै छ । आफ्नै जनतालाई नियन्त्रण गर्न निर्धारित कार्यहरू गरिँदै छ । आन्तरिक रूपमा आफ्ना गुटलाई एकजुट र बलियो बनाउन आफूभन्दा बाहिरकालाई दुश्मन सम्झनुस आफ्नो फाइदाका लागि नियम कानुन हेरफेर गर्नुस् सरकारले मिडिया र आफ्नै नागरिकलाई नियन्त्रण गर्न खोज्नुस आफ्ना मुख्य विरोधीहरूलाई अलग्याउने प्रयास गर्नु जस्ता कार्यहरूलाई गणतन्त्रको उपज मान्न सकिँदैन ।

एक छाक खाना, छत, रोजगारी र सामाजिक परिप्रेक्ष्यबिनाको गणतन्त्र जनताका लागि छलकपट गर्ने औजार मात्रै हो । मबिना तपाईंले मेरो लागि गर्नुभएको सबै कुरा मेरोविरुद्ध हुनेछ भन्ने आभास भएसम्म यो देशमा कुनै पनि तन्त्र सफल हुने छैन । जनताहरू यस्तो निष्कर्षमा पुगेका छन् कि राजतन्त्र लोकतन्त्रभन्दा राम्रो थियो । कमसेकम एउटा राजाले राज्य गरेको थियो । आज जस्तो सयौँ राजाको लावालस्कर त थिएन । संसारमा नेपालले जति लोकतन्त्रका निम्ति सङ्घर्ष गरेका देशहरू कमै होलान् । तीस वर्षमा पच्चिस ओटा सरकारहरू, पटक-पटक लोकतन्त्रका लागि लडाइँ, जनयुद्ध सबै नेपालले ब्यहोरिसक्यो । अझै पनि नेपालमा लोकतन्त्र संस्थागत हुन सकेको छैन ।

जब क्षमताहीनहरूले राजनीति गर्छन् तब त्यस समाजमा थुप्रै समस्याहरू देखा पर्छन् । अदालतले न्याय दिँदैन, पुलिसले संरक्षण गर्दैन । राजनीतिसँग जोडिएका सामाजिक र सांस्कृतिक विभेदहरू दिन–प्रतिदिन गहिरिँदै जान्छन् । समृद्धि र सुशासन नारामा मात्र सीमित हुन्छन् । नेपालको दुर्दशा यस्तै छ यतिबेला । राजनीतिकर्मीहरू समाजका विचारकर्ता, प्रारम्भकर्ता, परेको बेला आलोचक, समाजका सेवक र समाधानप्रदायक हुनुपर्ने हो तर यहाँ राजनीतिकर्मीहरू केवल निजी स्वार्थका कैदीबाहेक अरू केही हुन सकेका छैनन् । एक वर्षअगाडि पङ्क्तिकारले ‘राजतन्त्र या गणतन्त्र ?’ भन्ने आलेख प्रकाशित गरेको थियो । त्यसबेला मेरा दुई-चार जना साथीले ‘यस्तो होला र ?’ भनेका थिए । नेपालमा हुन नसक्ने कुरा केही रहेन विकास र समृद्धि बाहेक । नेपालीको जीवनस्तर उठाउनको लागि नेपालीलाई नै ढाल्न बन्दुक उठाउनु पर्छ भन्ने मान्यता राख्नेहरूको भीडमा जे पनि सम्भव छ । इतिहास पल्टाएर हेर्ने हो भने विभिन्न देशमा राजतन्त्र जनताले फालेका छन् र प्रजातन्त्र बन्दुकले फालिएको छ । तर हाम्रो देशमा अब प्रजातन्त्र बन्दुकले होइन जनताले नै फाल्दै छन् जस्तो आभास हुन्छ ।

हिजो हाम्रो समाजको प्रत्येक घरमा राजाविरोधि व्यक्ति थिए ! आज त्यही घर–घरबाट राजसंस्था फालिएको गल्ती महसुस गर्ने जनताहरू दिन-प्रतिदिन बढ्दै छन् ! यसको एउटै कारण छ– गणतन्त्रबाट पिल्सिएका जनता देशको अखण्डता, एकता एवं सार्वभौम स्वतन्त्रतामाथि आँच नपुगोस् भन्ने चाहन्छन् । नेपालको राष्ट्रियता, राजतन्त्र र प्रजातन्त्रको बीचमा समन्वय र सन्तुलन गरेर अगाडि बढ्न राजसंस्था आउनुपर्छ भनेर जनमत बढ्नु भनेको कथित गणतन्त्रप्रतिको वितृष्णा हो । राजतन्त्र नेपालको मेरुदण्ड हो र विदेशी लगानीमा विदेशी स्वार्थपूर्ति गर्न संवैधानिक राजतन्त्र फाली गणतन्त्र भित्र्याइएको कुरा सम्पूर्ण जनताले बुझ्न थालेका छन् ।

इतिहास पल्टाएर हेर्ने हो भने विभिन्न देशमा राजतन्त्र जनताले फालेका छन् र प्रजातन्त्र बन्दुकले फालिएको छ । तर हाम्रो देशमा अब प्रजातन्त्र बन्दुकले होइन जनताले नै फाल्दै छन् जस्तो आभास हुन्छ ।

राजा जहिले पनि राजनीतिभन्दा माथि हुन्छन् । राजाले पार्टीको नभएर सबै जनताको प्रतिनिधित्व गर्छन् । राजाले गृहयुद्ध हुनबाट देशलाई बचाउन सक्छन् । राजाले राष्ट्रिय सङ्कटमा पार्टीको फाइदाभन्दा माथि उठेर देशका निम्ति महत्त्वपूर्ण निर्णय लिन सक्छन् । यस्तो निर्णयले राजनीतिमा अतिवादको उदय हुनबाट रोक्न सक्छन् । राजाले देशको पहिचान, मूल्य-मान्यता र ऐतिहासिक पृष्ठभूमिको प्रतिनिधित्व गर्छन् । राजतन्त्रले गुट र पार्टी राजनीतिमा लिप्त भएको हाम्रो समाज र देशको पहिचान, मूल्यमान्यता र ऐतिहासिक पृष्ठभूमिको प्रतिनिधित्व गर्छन् ।

नेपाली जनताले राजा फालेको होइन फेरेका रहेछन् । यो देशमा तन्त्र गयो तर तुजुक गएन । सामन्तीपन पदमा हो कि पद्धतिमा हो त्यसको लेखाजोखा गर्नुपर्ने बेला आएको छ । जो भइरहेको छ त्यसले राजतन्त्रको समाप्ति भएसँगै राजा-महाराजाको ठाउँमा धेरै राजा महाराजा जन्मिएको प्रस्ट देखाउँछ । शासन फेरियो तर नियति फेरिएन । पात्र फेरियो तर प्रवृत्ति फेरिएन । एक्काइसौँ शताब्दीको गणतन्त्रमा सेरेमोनियल राष्ट्रपतिको रवाफ कतै कुनै राजा वा राणा शासकको जस्तो देखिएन र जनताहरू यस्तो निष्कर्षमा पुगेका छन् कि राजतन्त्र लोकतन्त्रभन्दा राम्रो थियो । कमसेकम एउटा राजाले राज्य गरेको थियो । आज जस्तो सैयौँ राजाको लावालस्कर त थिएन ।

संसारमा नेपालले जति लोकतन्त्रका निम्ति सङ्घर्ष गरेका देशहरू कमै होलान् । तिस वर्षमा पच्चिस ओटा सरकारहरू, पटक-पटक लोकतन्त्रका लागि लडाइँ, जनयुद्ध सबै नेपालले ब्यहोरिसक्यो । अझै पनि नेपालमा लोकतन्त्र संस्थागत हुन सकेको छैन । देखाउनका लागि हात्ती पाल्ने कि दुध खानका लागि गाई पाल्ने ? सोच्नुपर्ने बेला आएको छ । मियो बिनाको दाइँ हुँदैन । देश रहे त जनता रहन्छ, नेपाल रहे त नेपालीपन रहन्छ त्यसैले नेपाललाई मियो चाहिएको छ त्यो मियो भनेको राजसंस्था हो भन्ने कुरामा कार्यकर्ता होइन नेपालका जनता विश्वस्त छन् ।

पङ्क्तिकार प्रजातन्त्रमा विश्वास राख्ने व्यक्ति हो । हिजो जुन राजतन्त्रलाई हामीले खराब भन्थ्यौँ अहिले आएर गणतन्त्र त्यसभन्दा हजार गुणा खराब देखिएको छ । म र मजस्ता थुप्रै जनता संवैधानिक राजसंस्था स्वीकार गर्न आतुर छौँ । तसर्थ, जनताले अब एकचोटि फेरि निर्णय लिनुपर्ने बेला आएको छ । पञ्चायती व्यवस्थाजस्तो निरङ्कुश व्यवस्थाले पनि जनमत सङ्ग्रह गर्ने व्यवस्था मिलाएको थियो । के हामी संवैधानिक राजसंस्था नेपालका लागि उपयुक्त प्रणाली हो कि होइन भनेर जनमत सङ्ग्रह गर्न सक्दैनौँ ? हामी जहिले पनि सही निर्णय लिन सक्दैनौँ, तर हामीले लिएका निर्णयहरूलाई समयसापेक्ष सच्याउन भने आवश्यक भइसकेको छ ।

लोकतन्त्रको अपमान

दीपकराज जोशी
विचार

 ३० असार २०७७ १०:५८:००

अल्बर्ट आइन्स्टिनले एकपटक भनेका थिए, ‘मात्र केवल दुई चिज असीम छन्, ब्रह्माण्ड र मानव मूर्खता। म ब्रह्माण्डका बारेमा म निश्चित छैन !’ के तपाईंलाई थाहा छ कतिपय चुनिएका सांसद र राजनीतिक नेता कानुनी मुद्दा खेपिरहेका छन्? पक्कै थाहा छैन। हुन त आफूले भोट दिएर जिताएका सांसद तथा नेताप्रति अविश्वास गर्ने कुरा पनि त भएन। तर, कोही भष्टाचारमा फस्नु, कोही फौजदारी अपराधमा मुछिनु, कोही अपहरण तथा कमाउधन्दामा सहभागी हुनु त नेताहरूको चरित्र जस्तै भइसक्यो। कानुन बनाउनेहरू नै कानुनको नजरमा अपराधी भएपछि उनीहरूबाट समाजले के आशा गर्ने?

स्कुले शिक्षा पनि पूरा नगर्ने नेताहरू प्रशस्तै छन् नेपालमा उनीहरूले देशका लागि के नै दिन सक्षम होलान् र? जुन व्यक्तिले आफैंलाई नियन्त्रणमा राख्न सक्दैन उसले समाजलाई कसरी नियन्त्रण गर्न सक्छ? आफ्ना बारेमा सोच्न नसक्नेले, परिवार, समाजको बारेमा सही मार्गनिर्देशन कसरी गर्ला?

वर्तमान राजनीतिज्ञलाई शासन गर्ने शैली नै थाहा भएन। उनीहरू स्वार्थ, घृणा, लालच, वासना, ईष्या, लोलुपता र नशाले भरिपूर्ण छन्। सबैले एउटा प्रश्न गर्छन्। राजनीतिज्ञहरू किन भ्रष्ट, असक्षम र झुटा हुन्छन्? किनकि भ्रष्ट, असक्षम र झुटा हुन सजिलो छ। जनताले उनीहरूलाई भ्रष्ट, असक्षम र झुटा बन्न अनुमति दिएका छन् र यी सबै चिजहरू निःशुल्क पनि त छन्।

उनीहरूले गर्ने काममा कुनै प्रतिबन्ध छैन किनकि उनीहरूसँग शक्ति छ। अपराधका लागि सबैभन्दा ठूलो प्रोत्साहन राजनीति हो, विशेष रूपले एक सर्वशक्तिमान सरकारका साथमा। खास गरेर राजनीतिक दल आफ्ना विशेष व्यक्तिगत हितलाई पूरा गर्न सत्ताका लागि होमिन्छन्, सामान्य जनताको हितका लागि होइन। आखिर यस देशमा पार्टी (कम्पनी) मतदाताहरू (उपभोक्ताहरू) र मत (मूल्य) भएको छ।

हाम्रो देशको लोकतन्त्रले अब विस्तारै जनताको प्रतिनिधित्व गर्न छोडेको छ। राजनीतिक पार्टीहरू बेइमानी काम पनि इमानदारी साथ गर्ने संस्था बनेका छन्।

मतदाताको स्तरअनुसार भाउ लगाउन सकिन्छ। सही व्यक्तिलाई पाखा लगाउँदै भ्रष्ट मान्छेलाई सर्वशक्तिमान बनाउन सकिन्छ। हामी आफ्ना अपेक्षाहरू पूरा गर्ने सपना देख्छौं तर कहिल्यै सपना साकार हुँदैन। यो खेल सधैं नै चलिरहन्छ।

नेपालमा लगभग सबै राजनीतिक दल छद्मभेषी बुद्धिजीवीहरूद्वारा सञ्चालित छन्। जुन देशमा दृष्टिविहीनले शासन गर्छन् त्यस देशका जनताको नाश हुन्छ। राजनीतिक पार्टीको र सामाजिक नैतिकता एक अज्ञात दिशातर्फ मोडिरहेको छ धोखेबाज, चोर, अनपढ, पासपोर्ट बेच्ने, तस्कर सिकारीहरू तथा सराबीहरूले नेपाली राजनीतिक स्पेक्ट्रमलाई बन्धक बनाएका छन्।

यहाँ राजनीतिक दलहरू भ्रमात्मक श्रेष्ठताद्वारा जकडिएका जटिल मानिसद्वारा सञ्चालित छन ्। यिनीहरू अयोग्य व्यक्तिहरू हुन् जसले आफ्नै क्षमतालाई बढावा दिएर समाजलाई विस्तारै तल झार्दै छन्। देशलाई सही बाटो देखाउन इमानदार, मेहनती, दूरदृष्टि भएको मान्छेलाई राजनीतिक मानचित्रमा कुनै हिस्सेदारी छैन। यस्ता मान्छेका लागि केवल दुईवटा विकल्प मात्र छन् मर वा सहेर बस। यी राजनीतिज्ञले यस्तो खेल खेल्ने कोसिस गरिरहेका छन् जुन खेलका बारेमा उनीहरूलाई खासै जानकारी छैन। थाहा नहुनु ठूलो कुरा होइन तर उनीहरूले कहिल्यै सिक्न कोसिस गरेनन् र आफूलाई सबैभन्दा जानकार सम्झिए।

स्वतन्त्रता र लोकतन्त्र वैचारिक कर्तव्य मात्र होइन तर के गर्ने आजकल चुनाव हारेको नेतालाई जिताउन, चुनाव जितेको मान्छेले आफ्नो पद त्याग्नुपर्ने। यो कस्तो लोकतान्त्रिक अभ्यास हो?   के जनताको भोटको कुनै मूल्य छैन? चुनाव नेपाली लोकतन्त्रका लागि एउटा जाल भएको छ जसमा हरेकचोटी चर्को भाषणका आडमा नेपाली जनताहरू जालभित्र पर्छन्।

हामीले पटकपटक त्यस्तालाई (मूर्खलाई) चुनाव जिताएर पठाउँछौं जुन हामीहरूसँग (उनीहरू) मिल्दाजुल्दा हुन्छन्। हामीले मूर्खहरूलाई रोजेका हुन्छौं किनभने हामीलाई उनीहरूको बोली मिठो लाग्छ। हामीहरू बेवकुफहरूलाई भोट दिन्छौं त्यसैले उनीहरू परिवर्तनको ग्यारेन्टी दिन सक्दैनन्, परिवर्तन गर्न असमर्थ हुन्छन्। मूर्ख त्यो हो जसले सत्य जान्दछ, सत्य देख्छ, तर अझै झूटमा विश्वास गर्छ। महाभारतमा अन्धो धृतराष्ट्रले निकम्मा छोरालाई चुने जस्तै कलीयुगमा आँखा देख्ने नेपाली जनताले मुर्ख नेताका लागि बलिदान दिँदै आइरहेका छन्।

हाम्रो समाज यस्तो कारखाना हो जसले मूर्खहरू उत्पादन गरिरहेको छ। प्रतिनिधिसभा एउटा समाजलाई कसरी अगाडि लाने भन्नका लागि विचार मन्थन गर्ने थलो हो। त्यहाँ एक त हामीले नराम्रा मान्छे चुनेर पठाउँछौं दोस्रो समानुपातिकका नाममा तिनै नराम्रा मान्छेले छानेका तिनीहरूभन्दा पनि खराब आफन्तलाई लगिन्छ। जबर्जस्ती जिताएका हुन् या समानुपातिका हुन् जो शारीरिक, मानसिक र भावनात्मक रूपमा अस्वस्थ छन् उनीहरूबाट कै नै आशा गर्न सकिन्छ।

नेतृत्व गर्नेहरूको बुद्धिमत्ता, तर्क र समस्या समाधान गर्ने क्षमता मापन गर्ने हो भने धरैजसो ७० भन्दा कम अंक प्राप्त गर्नेहरू छन्। जसको अर्थ हुन्छ उनीहरूसँग कुनै न कुनै प्रकारको मानसिक मन्दता, बौद्धिक अक्षमता, संज्ञानात्मक कमजोरी, विकासात्मक अपांगता र अशक्तताको कारणले गर्दा उनीहरूसँग समस्या समाधान गर्ने क्षमता हुँदैन। एक बुद्धिमान उम्मेदवारलाई राजनीतिक क्षेत्रमा सफल हुनका लागि मुर्ख बन्ने नाटक गर्न वाध्य बनाइन्छ। हुन त सबै नेताहरू मुर्ख हुँदैनन्, तर जसको राम्रो विचार छ उसको कुरा हाम्रो समाजमा कसैले सुन्न चाहँदैन। लोकतन्त्रमा देशका जनताहरू पनि नेतासरह हुनुपर्ने हो तर यहाँ आफ्नो व्यक्तिगत स्वार्थका लागि नेताले जे भन्छन् हामी त्यसका पछाडि लागिरहेका हुन्छौं।

हरेक मूर्ख हमेसा आफ्नो प्रशंसा गर्न एक अर्को ठूलो मूर्खको खोजीमा हुन्छ। त्यतिमात्र होइन केही समयपछि, उनीहरू एकले अर्काका बारेमा घमण्ड र बढाइचढाइ गर्न थाल्छन्। हाम्रो समाजमा घटिरहेका घटनाले यो प्रस्ट पार्छ।

हाम्रो समाजमा राजनीतिक इमानदारिता विस्तारै हराउँदै गएको छ यहाँ सबै राजनीतिज्ञहरू संज्ञानात्मक पूर्वाग्रहअनुसार आफ्नो निष्कर्ष निकाल्न विवश छन्। नेपालमा जे भइरहेको छ, त्यो बर्षौंदेखिको खराब राजनीतिक अभ्यासको परिणाम हो। देशका लागि लोकतन्त्रको मूल्यका बारेमा भन्दा असमानता, भ्रष्टाचार, दमन र असक्षमताका विषयमा धेरैभन्दा धेरै बहसको आवश्यकता छ। लोकतन्त्र हाम्रा लागि महँगो भइरहेको छ।

हामी सधैं मूर्ख विचारका आधारमा चलेको राजनीतिबाट पीडित छौं। जुन नाटक मञ्चन भइरहेको छ त्यो राजनीतिक अद्वैतवादका आधारमा छ। अद्वैतवादले अतिवादतिर लैजान्छ यो प्रायः कट्टरवादको परिणाम हो। नेपालमा राजनीतिक परिदृश्यका लागि षड्यन्त्र कुनै नयाँ कुरा होइन। नेपालमा प्रायः सबै राजनीतिक दलहरू राम्रा मान्छेभन्दा हाम्रा मान्छेलाई अगाडि बढाउन मद्दत गर्छन्। राम्रा मान्छे सजिलै पन्छाइन्छ। यहाँ राम्रा मान्छेले कहिल्यै समाजका लागि केही गर्नेका लागि ठाउँ भेट्दैनन्। यहाँ जसको खाँचो छ त्यो अगाडि देखिए पनि धेरै समयसम्म टिक्न सक्दैन।

राजनीति एउटा रचनात्मक सम्झौता हो, यो फोहोरी खेल होइन तर हाम्रो समाजमा रचनात्मक दिशातिर राजनीति कहिल्यै उन्मुख भएन। अपराध समाजका लागि जति खतरनाक हुन्छ त्यसभन्दा बढी खतरनाक खराब राजनीतिज्ञ हुन्छ। चाणक्यको नीतिमा एउटा श्लोक छ। ‘लोकयात्रा भयं लज्जा दाक्षिण्यं त्यागशीलता। पञ्च यत्र न विद्यन्ते न कुर्यात्तत्र संगतिम्।’ यसको भावार्थ यस्तो छ। जुन स्थानमा आजीविका पाइँदैन, जुन समाजमा भय, लज्जा, उदारता र दान दिने प्रवृत्ति ‌छैन् यस्ता पाँच ठाउँ मान्छेले आफ्नो निवासको लागि रोज्नु‌हुँदैन। अब प्रश्न खडा हुन्छ, मौजुदा राजनीतिक, आर्थिक र सामाजिक परिवेशमा हाम्रो मातृभूमि निवासक लागि योग्य मान्न सकिएला त?

नागरिकले प्रजातान्त्रिक निर्णय लिनु भनेको उनीहरूले प्रश्न गर्न, आलोचना गर्न, चुनौती दिन, समर्थन गर्न र आफ्नो राजनीतिक विचारलाई रक्षा गर्न सक्षम बनाउने वातावरण सृजना गर्नु हो। यदि यसो गरियो भने मात्र नागरिकको प्रतिनिधित्वलाई उत्तरदायी राख्नका लागि सक्षम हुन सकिन्छ। वर्तमान लोकतन्त्र विस्तारै विफल हुँदैछ। हामी नेपाली जनता राम्रो विचारका लागि भोट नदिएर पार्टीको विचारधारालाई भोट दिँदै आएका छौं।

विचारधारा दिने पार्टीहरूले यहाँ देशलाई अगाडि बढाउन राम्रो विचार दिन असमर्थ भएको छ। अन्धाले अन्धालाई डोर्‍याएर कहाँसम्म लैजान सक्छ, मार्गदर्शक नै खराब भयो भने गन्तव्यमा कहाँ पुगिन्छ र? कलेज, विश्वविद्यालय नगई खासै केही पनि दृष्टिकोण नभएकाले कलेज, विश्वविद्यालय गएर दृष्टिकोण बनाएकाहरूलाई राज गर्ने देशमा नीतिनियमको कुरा गरेर हुन्छ?    हामी यस्तो समाजमा बस्छौं जहाँ राजनीतिज्ञहरू किनबेच गर्नमा नै व्यस्त छन्। पैसाले किन्न सकिने सबैभन्दा उत्तम लोकतन्त्र नेपालमा छ भन्दा फरक नपर्ला। हाम्रो देशको लोकतन्त्रले अब विस्तारै जनताको प्रतिनिधित्व गर्न छोडेको छ। नेपालका राजनीतिज्ञलाई सत्ता र राजनीति अब सेवा गर्ने माध्यम होइन धन्दा गर्ने माध्यम बनेको छ। नेपालका राजनीतिक पार्टीहरू बेइमानी काम पनि इमानदारीको साथ गर्ने संस्था बनेका छन्।

एउटा ठूलो प्रश्न यहाँ छ, के तपाईंले आफूलाई मुर्ख हुँ भनेर विश्वास गर्नुहुन्छ? तपाईं बसेको समाज मुर्ख उत्पादन गर्ने समाजको रूपमा विकसित भइरहेको छ। गतल मान्छेलाई पटक पटक भोट दिएर जिताउनु, उनीहरूले समाजका लागी केही नगर्नु तर पनि तपाईंले सदैव गर्छन् भन्ने विश्वास गरिरहनु। उनीहरूले मनमौजी तरिकाले तपाईंमाथि शासन गरिरहन्छन् तर पनि तपाईं यसलाई भाग्यको खेल सम्झेर स्वीकार गरिरहनुहुन्छ। अब तपाईंकै क्षमतामाथि एकपटक प्रश्न किन नगर्ने? लोकतन्त्रको नाममा मुर्ख बन्ने र मुर्ख नेताको उत्पादन गर्ने सबैभन्दा खराब व्यवस्थाको रूपमा अभ्यास गरिरहेका छौं।

गोविन्द-पुष्करमाथि कारवाही र सुनील थापालाई स्वागतको सन्देश

 दीपकराज जोशी

अब नेपाली काङ्ग्रेसको कार्यालयका साथै काङ्ग्रेसका कार्यकर्ताले आफ्नो आस्थाको एउटै फ्रेममा बीपी कोइराला र सूर्यबहादुर थापाको तस्बिर सजाएर राख्ने दिन आएको छ । नेपाली काङ्ग्रेसको त्यो फ्रेमबाट अब कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह, सुवर्ण शम्शेरमध्ये एउटाको तस्बिर हट्ने अवस्था आयो ।

२०३३ सालमा बीपी कोइरालाले राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्किंदा बपीलार्ई फाँसी दिनुपर्छ भन्ने प्रमुख पात्र थिए– सुर्यबहादुर थापा, र उनैका छोरा सुनिल थापासहितको टीमलार्ई पार्टीमा स्वागत गरेलगत्तै नेपाली काङ्ग्रेसले आफ्नै सिद्धान्तको घाँटी थिचेको छ, जसरी आफ्नै सन्तानको घाँटी थिच्छन् मान्छेहरू ।

खैर, नेपाली काङ्ग्रेसको एउटा शुभचिन्तकको हैसियतबाट यति भन्न सकियो कि बीपी कोइराला अमर रहुन्, सुर्यबहादुर थापा अमर रहुन् ! हुन त ‘मभित्रको हामी’ भन्ने नारा बोकेको काङ्ग्रेसको ‘हामी’भित्र को र कस्तो चारित्रिक विशेषता भएको नेता अटाउने भन्ने प्रावधान छैन रहेछ । त्यसैले त माले, मसाले र मण्डले एउटै हुन् भन्दै आएको काङ्ग्रेस अब आफैँ ‘मण्डले’भन्दा कुनै कुराले फरक छैन भन्नुपर्ने दिन आएको छ । यसरी काङ्ग्रेसको अधोगति भएको देख्दादेख्दै पनि आफ्नो स्वार्थको लागि चुप लागेर बस्ने काङ्ग्रेसी छद्मभेषी युवा नेताहरूलाई नयाँ पुस्ताले कसरी ग्रहण गर्ला ? त्यो चाहिँ हेर्न बाँकी छ ।

पार्टीको हित सोच्नेलाई कारवाही गरेर काङ्ग्रेसले आफ्नो सक्रियता देखाउन खोजेको होला । किनकि जनतासामु आफ्नो अस्तित्व बिस्तारै सकिँदै गएपछि भाइरल बजारमा बिक्री हुन पनि त केही नयाँ मसला लिएर आउनु पऱ्यो । विडम्बना नै मान्नुपर्छ काङ्ग्रेसका लागि रगत–पसिना बगाएर घर परिवार छोराछोरी केहि नभनी आफ्नो जिन्दगी नै पार्टी हितमा समर्पित गर्नेहरूलाई पुर्वाग्रह राखेर प्रतिशोधका आधारमा कारवाही गरेर चिसै हात खुङ्खार पूर्वपञ्चहरूलाई पार्टीमा स्वागत गरियो । र, पनि पार्टीभित्रका जिम्मेवार मानिएका मान्छेहरू मौन छन् । अलिकति लाज नपचाइकन राखेको भए पछि काम लाग्न सक्थ्यो । लज्जाशरणम् ! कुरी कुरी !!

बाउ काङ्ग्रेस वा कम्युनिष्ट हुँदैमा छोरो अर्को पार्टीमा जानु हुँदैन भन्ने होइन । तर पनि विवाह गर्दा त तीनपुस्ते नातागोता हेरिन्छ भने यो त सिङ्गो संगठनको कुरा हो । जसमा अरु पार्टीको मान्छेलाई भित्र्याउँदा त्यसको दीर्घकालिन असरको बारेमा लेखाजोखा हुनुपर्छ कि पर्दैन ? त्यसका दूरगामी असरबारे सोचिनु पर्छ कि पर्दैन ?

०३६ सालको जनमत संंग्रहमा धाँधली गरेर निर्दलीय व्यावस्थालाई जिताएका सुर्यबहादुर थापाका छोराको रगत र विचारमा बीपीको विचारलाई आत्मसात गर्न सक्ने क्षमता छ त ? बीपीलाई फाँसी दिनुपर्छ भन्ने थापाका छोराले अब आउने दिनमा जीवन नै काङ्ग्रेसलाई सुम्पेका काङ्ग्रेसका केही नेतालार्ई विस्थापित गर्ने छन् कि सँगै लिएर हिँड्ने छन् ?

प्रत्येक बाबुले आफ्ना सन्ततिलाई हेरेर सपना बुनेका हुन्छन् र सन्ततिलाई सबैभन्दा ठूलो कुरा आफ्नो बाबु–आमाको सपना पूरा गर्नुहुन्छ । के सुर्यबहादुर थापाले राप्रपा बनाउँदा आफ्नो शेषपछि कुनै दिन आफ्नै छोरा–नातिले यो पार्टीलाई अगाडि लैजानेछन् भनेर सपना बुनेका थिए होलान् ? के उनले बुनेको सपना त्यति कमजोर थियो कि जसलाई आफ्नै सन्ततिले बीचमा नै छोड्न बाध्य हुनु पऱ्यो ? झट्ट हेर्दा बाबुको सपनालाई तिलाञ्जली दिएर काङ्ग्रेस प्रवेश गरेको ‘स्वार्थी समूह’ले काङ्ग्रेसको हितमा के–कस्ता काम गरेर देखाउनेछ– त्यो भने हेर्न बाँकी नै छ ।

बाउ काङ्ग्रेस वा कम्युनिष्ट हुँदैमा छोरो अर्को पार्टीमा जानु हुँदैन भन्ने होइन । तर पनि विवाह गर्दा त तीनपुस्ते नातागोता हेरिन्छ भने यो त सिङ्गो संगठनको कुरा हो । जसमा अरु पार्टीको मान्छेलाई भित्र्याउँदा त्यसको दीर्घकालिन असरको बारेमा लेखाजोखा हुनुपर्छ कि पर्दैन ? त्यसका दूरगामी असरबारे सोचिनु पर्छ कि पर्दैन ?

केही युवा नेता सांसदमा हिसाब चाहिन्छ भनेर कुर्लदै गर्दा अहिले प्रवेश गरेका राप्रपाका नेता भन्नेहरूको राजनैतिक मात्रै नभएर सामाजिक पृष्ठभूमि हेरियो कि हेरिएन ? त्यसको जवाफदेहिता पार्टीमा कसले लिन्छ ?

आखिर राजनीतिको हिसाबकिताब पनि मतसँग जोडिएको हुन्छ । अहिले प्रवेश गरेका नेताबाट काङ्ग्रेसलाई कति मत आउने हो त्यसको हिसाबकिताब भयो कि भएन ? भएको भए जीवनभर काङ्ग्रेसमा लाग्नेहरूलाई जान्ने अधिकार हुन्छ कि हुँदैन ?

हत्याराको छोरालाई छोरी दिन हिच्किचाहट गर्ने समाजमा सिङ्गो पार्टीलाई नकारात्मक असर पर्ने विवादित ब्यक्तिहरूलाई पार्टी प्रवेश गराउनु जरूरी थियो कि थिएन ? त्यसको बारेमा छलफल भयो कि भएन ? नेपाली काङ्ग्रेस एक प्रजातान्त्रिक पार्टी भएकाले यी सबै कुराको छलफल पार्टी केन्द्रीय समितिमा भयो कि भएन ?

हुन त बीपीको छोरा शशांक कोइरालाले मात्र काङ्ग्रेस हाँक्नुपर्छ भन्ने होइन । भोलि राम्रो काम गरेर सुनिल थापाले शशांकको ठाउँ लिन पनि सक्लान् । त्यो कुरा समयले देखाउला । ल खैर जे होस्, समयको तराजुमा असल खराब कामको लेखाजोखा छाडौँ, सुनिल थापालगायतका फरक विचारधारा भएका ब्यक्तिहरूको समुहले नेपाली काङ्ग्रेसलाई कति फाइदा या बेफाइदा हुनेछ भनेर सोच्नु आवश्यक हो या होइन ?

आशा छ यो समुहले म र मजस्ता धेरैमा भएको आशंका र गलत बुझाइको जवाफ राष्ट्रियता, प्रजातन्त्र र समाजवादलाई दीगो बनाएर अर्को चुनावमा काङ्ग्रेसलाई पहिलो नम्बरको पार्टी बनाएर दिनेछ । जनमतको लायक बन्दै पार्टीहितका पक्षमा काम–कारवाही होउन् । अर्कोपटक जनताका औँठाछापहरूले कुरी–कुरी भन्न पर्ने अवस्था नआओस् ।

अब प्रजातन्त्रमा एक पार्टीबाट अर्को पार्टीमा जानु मिलेर सरकार बनाउनु एउटा सामान्य प्रक्रिया हो भने १७ हजार मान्छे मार्ने आन्दोलन पनि जायज थियो । राजा फेरि प्रजातान्त्रिक मूल्य र मान्यता लिएर आउनु पनि जायज नै हुनेछ । कुनै पनि पार्टीको विधान, संस्कार मुल्य र मान्यतालाई किन मान्नु पऱ्यो ? पार्टीगत मुल्य र मान्यता अवसर छोप्नलाई बनाइएका होइनन् भने मुल्य र मान्यताविपरीतको अभ्यास केका लागि ?

विभिन्न पार्टीका नेतृत्वबीच सुमधुर सम्बन्ध हुनु राम्रो कुरा हो, तर ब्यक्तिगत स्वार्थको लागि पार्टीको आचारसंहितामाथि नै दाउ लगाएर पुराना कार्यकर्ता र नेतालाई ओझेलमा पार्ने खेल हुनु, गुटको स्वार्थपूर्तिका लागि एकता गरिनु गम्भीर विषय हो । राजनीतिक गठबन्धनको पनि आफ्नो छुट्टै नैतिकता हुन्छ । जसलाई ठेस पुऱ्याउने अधिकार कसैलाई हुँदैन ।

संयुक्त राष्ट्रसंघमा जागिर खाएर छोडेपछि एक दशकअघि राजनीतिमा प्रवेश गरेका थापालाई काङ्ग्रेसको सहमहामन्त्री दिने भन्ने कुरा काङ्ग्रेसकै विषेश स्रोतबाट जानकारी आएको छ । १० वर्ष अर्को पार्टीबाट राजनीति गरेका थापालाई काङ्ग्रेसमा सिधै सह–महामन्त्रीको ओहदा दिनु कति जायज छ, त्यो नेपाली काङ्ग्रेसले पछि मूल्याङ्कन गर्ने छ ।

एकातिर सुनिल थापाले पिता सूर्यबहादुर थापाको विरासतलाई निरन्तरता दिन नसक्नु, अर्कोतिर पार्टीले ठूलो भाग दिने निर्णय गर्नुलाई सामान्य मान्न सकिँदैन । थापा र उनको समुह ब्यक्तिगत रूपमा पार्टी प्रवेश गरेका हुन् । उनीहरूको जिल्लामा उनीहरूलाई भोट दिनेले काङ्ग्रेसलाई मत दिन्छन् भन्ने छैन । कि त सम्पुर्ण रूपमा पार्टी नै गाभिएको भए मत आउने सम्भावना हुन्थ्यो । अवस्था त्यो पनि रहेन ।

भोलि यो देशमा काङ्ग्रेस पतन हुनुको दोष कोइराला परिवारलाई जानेछ । आफ्नै पुर्खा बीपी कोइरालाले बनाएको काङ्ग्रेस पार्टी बिग्रँदै जाँदा वा पार्टीलाई नकारात्मक असर पर्ने निर्णय गर्दा पनि चुप्प लागेर बस्ने बीपीका सन्तानलाई इतिहासले अवश्य प्रश्न सोध्ने छ । अब कोही किन काङ्ग्रेस बन्ने र काङ्ग्रेसमा भएकाहरू पनि काङ्ग्रेसमा किन बस्ने भन्ने बहस शुरू हुनेछ ।

सुनिल थापाकै भाषामा नेपाली काङ्ग्रेससँग दुध र चिनी जसरी बस्ने कुरो पनि मधुमेहको बिरामीलाई प्रसोधित चिनी खुवाउनु जस्तै नै हो । आखिर नेपाली कांग्रेस त्यस्तो पार्टी रहेछ जसले आमाको फरिया बेचेर वेश्या (पुरुष र महिला दुवै) लाई पछ्यौरा किनिदिन्छ । ‘आमा’हरू पराया र ‘वेश्या’हरू हाबी हुँदै गएको संगठनले देशलाई के नै दिन सक्ला र ?अब यस्तै तरिकाले चल्दै जाने हो भने जनताले यसरी पनि सोच्नेछन् कि पुरानो रुख काटेर नयाँ रुख रोप्ने बेला त भएको होइन ?

उता आफ्नै बुबाले खोलेको प्रजातन्त्र पार्टी छोडेर सुनिल थापाले पार्टीको अपहेलना गरेर राजीनामा गर्दै नेपाली काङ्ग्रेसमा प्रवेश गर्दैछन् भने यता रामचन्द्र पौडेल र शेरबहादुर देउवाले निहित राजनीतिक फाइदाको लागि गोविन्दराज जोशी र पुष्कर ओझालगायतलाई कारवाही गर्दै शेखर कोइराला र शशांक कोइरालालाई थाङ्नोमा सुताउन सफल भएका छन् । भोलि यो देशमा काङ्ग्रेस पतन हुनुको दोष कोइराला परिवारलाई जानेछ । आफ्नै पुर्खा बीपी कोइरालाले बनाएको काङ्ग्रेस पार्टी बिग्रँदै जाँदा वा पार्टीलाई नकारात्मक असर पर्ने निर्णय गर्दा पनि चुप्प लागेर बस्ने बीपीका सन्तानलाई इतिहासले अवश्य प्रश्न सोध्ने छ । अब कोही किन काङ्ग्रेस बन्ने र काङ्ग्रेसमा भएकाहरू पनि काङ्ग्रेसमा किन बस्ने भन्ने बहस शुरू हुनेछ । हुन त निष्ठा र आदर्शको कारणले कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहलाई नेपाली काङ्ग्रेसबाट टाढा रहन बाध्य बनाइयो भने अरुको त के कुरा भयो र ? भारतको पेलाई सहन नसकेर नेपाल फर्केका बीपीको सपना दारु र भारुमा लिप्त बनाउने नेताहरूले चलाइरहेको काङ्ग्रेसबाट योभन्दा धेरै आशा राख्नु पनि मुर्खता नै हो ।

धर्मनिरपेक्षताले देशलाई विखण्डनको बाटोमा लैजान्छ, त्यसो हुनु हुँदैन भन्ने गोविन्दराज जोशीलाई हटाएर धर्मनिरपेक्षता र गणतन्त्रका नाममा डलर पचाउनेहरूले व्यक्तिगत स्वार्थलाई पार्टीगत स्वार्थभन्दा माथि राखेर गरेको निर्णयले काङ्ग्रेसको उँधोगतिलाई छर्लङ्ग पारेको छ । बीपी विचारको खास्टो यसरी उडेको छ कि त्यहाँ बीपीले कल्पना गरेको समाजको एउटा झलक पनि छैन । आज नेपाली काङ्ग्रेस हुनेखाने र आडम्बरीहरूको दबदबा रहेको पार्टी बनेको छ । काङ्ग्रेसको यो छेपारे प्रवृत्तिले सच्चा काङ्ग्रेसलाई विकल्प खोज्न बाध्य बनाउँदैछ ।

कोही किन कांग्रेस बनोस् ?

 

नेपालमा मात्रै नभएर संसारभरि राजनीतिक दलहरू उनीहरूको झगडा र वैचारिक तथा राजनीतिक लडाईंका लागि परिचित छन् । यही लडाईंको कारणले गर्दा गुटको जन्म हुन्छ । सिद्धान्त र विचारधारा राजनीतिक पार्टीको एउटा यस्तो छाता हो, जसले राजनीतिक पार्टीका सदस्यहरू र उनीहरूका समर्थकहरूलाई एकजुट गर्दछ ।

समय, काल र परिस्थितिमा विचार र सिद्धान्तलाई परिवर्तन गर्नका लागि विचार मन्थन हुनुलाई नराम्रो मान्नु हुँदैन । नेपाली कांग्रेसको इतिहासमा गुट केवल पदका लागि बनेको पाइन्छ । राजनीतिक दल गुटमा रूपान्तरण हुनुलाई विनाशकारी कार्यको रूपमा लिइन्छ । संगठनभित्र विचारको लडाईंका लागि बनेका गुटहरूलाई केही हदसम्म राम्रो मानिन्छ तर पदका लागि बनेका गुटले संगठनलाई खोक्रो बनाएर एकदिन संगठनलाई नै समाप्त पारिदिन्छ ।



बीपी कोइराला राजा भरत जस्ता थिए, उनले देश र जनताका लागि मात्र सोचे र नेपाली कांग्रेस प्रतिपादन गरे । अहिलेको नेतृत्व धृतराष्ट्रको जस्तो छ, ऊ केवल आफ्नालाई मात्र देख्छ ।

नेपाली कांग्रेसमा पाण्डव र कौरव दुवै छन् । उनीहरूको बीचमा पदका लागि मात्र लडाईं चलिरहेको छ । यो लडाईंबाट आउने पिँडी पाण्डवको हुनेछ, तर पाण्डवपछिको पिंडीले परिक्षितले कलिको प्रभावमा परी भरत वंश सकाएर द्वापर युगको अन्त्य गरेजस्तै नेपाली कांग्रेसको पनि अन्त्य गर्नेछ ।


विक्रम संवत् २०१५ सालमा १०९ जना नेपाली कांग्रेसका सांसदमध्ये ७४ जनाले पञ्चायती व्यवस्था ल्याउन हस्ताक्षर  गरेका थिए भनेर विश्वबन्धु थापाले एउटा अन्तर्वार्तामा भनेका थिए । जुनसुकै काल, परिस्थिति र पार्टीमा पनि अवसरवादीहरू हुन्छ्न् ।केका लागि कांग्रेस बन्ने भन्ने प्रश्न लिएर उनीहरू किन कांग्रेस बन्छन् ? म किन कांग्रेस बनुँ ? यो अहिलेको पुस्ताबीच जकडिएको जटिल प्रश्न हो ।

गगन थापाजस्ता युवा नेताहरूको आफ्नै कमी कमजोरी होलान्, तर उनीहरूको यहाँसम्मको यात्रा पनि गुटको राजनीतिबाटै भएको हो । क्याम्पसमा विद्यार्थी राजनीति शुरू गर्दादेखि नेविसंघको अध्यक्ष  लगायत विभिन्न पदमा बस्दै  कांग्रेसको केन्द्रीय कार्यसमितिसम्मको यात्रा विनागुट २०४६ सालभन्दा पछाडिको राजनीतिमा सम्भव भएको देखिँदैन। धरैजसोको राजनीतिक संस्कारमा गुट छ । जो जसरी उदय भयो त्यसले आफूलाई त्यसरी नै अगाडि बढाउँछ । संस्कार परिवर्तन सजिलै हुँदैन ।

विचारबाट उदय भएका भए  परिवर्तन हुन सजिलो हुन्थ्यो, तर गुटबाट उदय भएकाहरूबाट ठूलो आशा गर्न सकिँदैन । २०४६ सालभन्दा अगाडि नेताहरू विचारबाट जन्मन्थे । त्यसैले त्यो बेला गुट हुँदैन थियो । यदि भैहाल्यो भने पनि कम हुन्थ्यो । अहिले विद्यार्थी राजनीतिदेखि नै गुटको शुरुआत हुन्छ । युवा नेताहरूमा आफूभन्दा अगाडिको पुस्तालाई आदार गर्ने संस्कार नै छैन । उनीहरूमा न त सिक्ने जोश र जाँगर नै छ, न त मलाई केही आउँदैन भनेर मनन गर्ने संस्कार नै छ । त्यो हुनु भनेको आफूमा सर्वेसर्वा हुँ भन्ने दम्भ रहनु पनि हो । राम्रो नदेखिएला बेग्लै कुरा तर मिनिलियल र जेन जी पुस्ताको चरित्र यही नै हो ।

प्रविधिको जमानामा सबै प्रश्नको जवाफ सजिलै गूगलले दिन्छ तर ती सबै उत्तर सही हुन् कि होइनन् भनेर प्रमाणित गर्न बुद्धिको आवश्यकता हुन्छ, जसलाई आफैंले निखार्नुपर्छ । त्यो अहिलेका नेपाली कांग्रेसका नेताहरूमा बिरलै पाइन्छ । नेपाली कांग्रेसभित्र विचारको मूल्य सस्तो छ, तर तथ्यहरू महंगा छन् । त्यस्तै लेख्ने धरै छन् तर पढ्ने कोही छैनन् । कुनैपनि पार्टीको सबैभन्दा महत्त्वपूर्ण कुरा सिद्धान्त हो । जब सिद्धान्त रहँदैन तब पार्टी रहँदैन । प्रचारवादीहरूले सिद्धान्तलाई खासै वास्ता गर्दैनन् । उनीहरूलाई केवल लोकप्रिय हुनु छ । लोकप्रिय हुनु सामूहिक गतिविधि पनि होइन । केवल आफू मात्र लोकप्रिय हुन चाहने प्रवृत्तिले संगठनलाई फाइदा पुर्‍याउँदैन ।

३२ लाख मतदाता भएको पार्टीको संगठनको खराब संरचना हुनु, ज्ञान व्यवस्थापन र प्रतिभा व्यवस्थापनबारे कुनै कार्ययोजना नहुनुले के कुरालाई इंगित गर्छ ? ७०% नेताहरू १ लाखभन्दा महंगो मोबाइल फोन बोक्छन् तर त्यसको सही सदुपयोग गर्न आउँदैन । उनीहरूले ५०% मिनिलियल र जेन जीलाई शासन गर्नुपर्छ, जसले एक पटकमा ५ वटा उपकरण (फोन, ट्याब्लेट , कम्प्युटर, गेम्स कन्सोल, संगीत प्लेयर) चलाउँछन् । यो पुस्ता बीचको अन्तराल उमेरले भन्दा पनि ज्ञानले  भएको देखिन्छ । पुरानो  पुस्ताले  नयाँ पुस्तालाई  बुझ्न  नसक्ने कारण  बहुमुखी ज्ञान नहुनु  पनि हो ।

जुन पार्टी सही बाटोमा नै हिँडेको छैन त्यो पार्टी कसरी गन्तव्यमा पुग्न सक्छ? नेपाली कांग्रेसलाई री-इञ्जिनीयरिङ गर्नुपर्ने हुन्छ । यहाँ लडाईं उमेरको होइन विचारको हुनुपर्छ । जबसम्म नयाँ पुस्ताले पुरानो पुस्तालाई फाल्ने चलन रहिरहन्छ तबसम्म नेपाली कांग्रेसको भविष्य अन्धकारमय नै रहनेछ । नेपाली कांग्रेस समावेशी हुनुपर्छ ।  ६५ वर्षभन्दा  माथिको  जनसंख्या  झन्डै  ६ %  छ जसले  बाँकी सबैलाई नेतृत्व गरेको छ । ( उमेरको आधार जनसंख्या वितरणका लागि  ग्राफ हेर्नुहोला)

एकातिर नयाँ पुस्ताले पुरानो पुस्तालाई  विधा गर्नुपर्छ भन्दै गर्दा पार्टीमा उमेरको हदबन्दी भन्दा पनि काम गर्ने क्षमता र त्यसको परिणामको आधारमा मूल्यांकन गर्नुपर्ने  आवश्यकता छ । पुरानो ड्राइभरको रेखदेखविना नयाँ ड्राइभरलाई गाडी चलाउन दिँदा दुर्घटना हुने सम्भावना भएजस्तै  नयाँ पुस्ताले  यत्रो इतिहास बोकेको पार्टीको अस्तित्व समाप्त गरिदियो भने इतिहासले कुनैपनि कांग्रेसलाई माफ दिने छैन।

नेपाली कांग्रेसले आफूलाई सबै वर्ग र समूहको साझा पार्टी बनाएर सन्देशमूलक काम गर्ने हो भने यसमा ३ पुस्ता (नाति, बुवा, हजुरबुवा) विभिन्न जात, धर्म र वर्गलाई समात्ने कडी हुनुपर्छ । हाम्रो सामाजिक संरचना जस्तो छ पार्टी पनि त्यस्तै हुनुपर्छ, तब मात्र पार्टी र समाजसँग सहयात्रा गर्न सक्छ, नत्र एउटा वर्गसँग अर्को वर्ग र एउटा पुस्तासँग अर्को पुस्ता सदैव रुष्ट रहिरहने छ।

महाभारतमा अन्धो धृतराष्ट्रले निकम्मा छोरालाई चुनेजस्तै कलीयुगमा आँखा देख्ने नेपाली जनताहरूले मुर्ख नेताका लागि बलिदान दिँदै आइरहेका छन् । त्यस्तै राजनीतिमा सैद्धान्तिक पक्ष पनि ठूलो कुरा हो ।

जब सिद्धान्त मर्छ तब विचारधारा पनि मर्छ । विचारधाराले राजनीतिमा अत्यावश्यक भूमिका खेल्छ । राजनीतिमा विचारधाराले राजनीति गर्नेहरूको मूल्य र प्राथमिकतालाई श्रेणीकरण गर्न मात्र सहयोग पुर्‍याउँदैन यसले राजनीतिक वैधानिकताको उद्देश्य परिपूर्ति गर्दछ । विचारधारा विना सिद्धान्त, सिद्धान्त विना प्रतिष्ठा र प्रतिष्ठा विना राजनीति हुँदैन ।

जब विचारमा विचलन आउँछ तब जुनसुकै व्यक्ति नेतृत्वमा आए पनि संगठनले सही दिशा लिन सक्दैन । नेपाली कांग्रेसको आजको समस्या भनेको नेतृत्व होइन विचार हो । समय, काल र परिस्थितिअनुसार पात्रहरू परिवर्तन हुन्छन् तर प्रवृत्ति भने परिवर्तन हुँदैन । दुःखका साथ भन्नुपर्दा नेपाली कांग्रेसको नेतृत्वमा बस्ने २०४६ यता आएर प्रवृत्ति परिवर्तन भएन ।जबसम्म नेपाली कांग्रेसले आफ्नो परम्परा, बीपीको विचार, चिन्तन र सिर्जनशीलता सँगसँगै आफ्नो इतिहास नबिर्सी सबैलाई समावेश गरेर अगाडि बढ्दैन तबसम्म यो पार्टी नेपाललाई विकास र समृद्धि दिने पार्टी हुन सक्दैन । जुन पार्टीले देश र समाजलाई निकास दिन सक्ने सामर्थ्य राख्दैन त्यस्तो पार्टीमा अबका पुस्ताहरू अटाउने छैनन् र कांग्रेस बन्ने पनि छैनन् ।

जबसम्म सत्ताका लागि राजनीति र एकले अर्कोलाई अघि बढ्न नदिने राजनीतिक संस्कार रहिरहन्छ तबसम्म नेपाली कांग्रेस कहीँ पुग्ने छैन ।

सत्तामा जानु भनेको मोजमस्ती अनि आफ्नो स्वार्थ पूरा गर्नु हो भन्ने मान्यता विस्तारै बढ्दै गएको छ, र सत्तामा जाने भर्‍याङ नेपाली कांग्रेस बनेको छ । त्यस कारणले आज आएर नेपाली कांग्रेस म्यानपावर कम्पनीका मालिक, कन्स्ट्रक्सन कम्पनीका ठेकेदारहरू, व्यापारीहरू, गुण्डा, डन, बैंक सञ्चालकहरू र अन्य थैलीवाला सेठ-साहुहरूले भरिएको छ।

जब राजनीतिक पार्टीको विचार र मूल्यको विचलन हुन्छ तब जनताहरू विकल्प खोज्न शुरू गर्छन् । विवेकशील पार्टी जसले आफूलाई युवाहरूको पार्टी भन्छ, सो पार्टीको उदय हुनुमा नेपाली कांग्रेसको ठूलो हात छ । नेविसंघ र तरुण दलले ढंगको काम गरेको भए विवेकशीलको जन्म नै हुने थिएन । नेतादेखि कार्यकर्तासम्म नैतिक र सांस्कृतिक विचलन पनि अर्को गम्भीर समस्या हो ।

गुटको राजनीति कांग्रेसमा स्थापना कालदेखि नै थियो । रेग्मी गुट र बीपी गुट भनेर बीपीकै पालामा पनि गुट नभएको भने होइन । २०५० साल पछि कांग्रेसमा छत्तिसे र चौहत्तरे समूह बनेपछि गुटले वैधानिकता पायो । गुटभित्र बसेर गुट हुनुहुन्न र गुट भत्काउनुपर्छ भन्नु कसाइले हिंसा गर्नुहुन्न भने जस्तै हो ।

संगठनमा एकजुट हुनुको सट्टा गुट हावी भयो भने त्यसले केवल फूट मात्र निम्त्याउँछ । राजनीतिक दलहरूमा जब गुट हुन्छ तब  तिनीहरू फुटको  संघारमा पर्छन्, जसले राष्ट्रिय अखण्डतालाई अस्थिर पार्दै, गणतन्त्रको सार्वभौमिकतालाई कमजोर बनाई लामो समयसम्म नकारात्मक प्रभाव पार्नेछ । त्यसैले सामाजिक र राजनैतिक रूपमा राजनीतिक दलहरू एक मात्र  यस्तो साझा धागा हुन् जसले  राष्ट्रिय राजनीतिलाई बाँध्नुपर्छ ।

पार्टीभित्र आन्तरिक कलह र पार्टी विभाजनका कारण  पार्टीको विचारधारामा  विचलन, अनुशासनहीनता व्यक्तिगत र कुलीनतन्त्र को हावी हुनु, पार्टी नेतृत्वको संस्थागतकरण र पार्टी गठबन्धन नहुनु, पार्टीको औपचारिक कानूनी नियमहरूको अप्रभावकारिता,  समानुपातिक प्रणाली, प्रत्यक्ष निर्वाचन प्रणाली नहुनु हुन् । यी र यस्ता कुराहरूलाई मध्यनजर गरेर एकजुट हुने बाटोमा नहिँड्ने हो भने पार्टीको अस्तित्व विस्तारै धरापमा पर्नेछ ।

जबसम्म नेपाली कांग्रेसले आफ्नो परम्परा, बीपीको विचार, चिन्तन र सिर्जनशीलता सँगसँगै आफ्नो इतिहास नबिर्सी सबैलाई समावेश गरेर अगाडि बढ्दैन तबसम्म यो पार्टी नेपाललाई विकास र समृद्धि दिने पार्टी हुन सक्दैन । जुन पार्टीले देश र समाजलाई निकास दिन सक्ने सामर्थ्य राख्दैन त्यस्तो पार्टीमा अबका पुस्ताहरू अटाउने छैनन् र कांग्रेस बन्ने पनि छैनन् ।

केका लागि कांग्रेस बन्ने भन्ने प्रश्न लिएर उनीहरू किन कांग्रेस बन्छन् ? म किन कांग्रेस बनुँ ? यो अहिलेको पुस्ताबीच जकडिएको जटिल प्रश्न हो ।

दीपकराज जोशी
दीपकराज जोशी

लेखकबाट थप…

बीपी विचारको ‘देखावटी खोल’ : इन्स्योरेन्स जस्तो कांग्रेस, एजेन्ट जस्ता नेता !

पी विचारको दाहसंस्कार १२ बुँदे सहमतिले गरेको थियो । १२ बुँदे सहमतिपछि नेपाली कांग्रेसले राष्ट्रियतालाई दाउमा राख्यो । गणतन्त्रका नाममा संसदीय प्रजातन्त्र मात्र नभएर राजतन्त्र नै फालिदियो ।

बीपीले कम्युनिस्टहरू कहिल्यै राष्ट्रवादी र प्रजातन्त्रवादी हुँदैनन् भन्दाभन्दै पनि कांग्रेसले सत्ताका लागि  हरू सँग सहकार्य शुरू गर्‍यो । जसको परिणाम हाम्रा सामु सर्वविदितै छ । गिरिजाप्रसाद कोइराला अस्वस्थ हुँदाहुँदै दिल्ली गएर गरिएको १२ बुँदे सम्झौताको कारणले गर्दा देश आज यो अवस्थामा छ ।



आफ्नो देशको बारेमा गरिने निर्णय अरूको देशमा गर्नुहुँदैन भन्ने कुरा बीपीले २००७ सालको घटनालाई लिएर पनि भन्नुभएको थियो । उहाँले २००७ सालमा राजा त्रिभुवनलाई दरबारबाट दिल्ली पठाउनुभन्दा नेपालकै कुनै ठाउँमा पठाएको भए देशलाई राम्रो हुन्थ्यो भन्नुभएको थियो ।

उहाँको आशय यो थियो कि आफ्नो राज्यलाई लिएर गरिने महत्त्वपूर्ण मुद्दाका निर्णयहरू आफ्नै राज्यमा भए भने राष्ट्रियता मजबुत हुन्छ । साथै राज्यको हस्तक्षेप कम हुन्छ ।



देश प्रेम आफ्नो देशको स्वाधीनता र सार्वभौमसत्ताप्रति गरिने आस्था र व्यवहार हो । जुन बाह्य शक्तिको हाविले गर्दा कमजोर  ठहरिन्छ, यसबाट न त देशको भलो हुन्छ न जनताको को नै ।

हुन त पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका आदर्श पुरुष मानिने स्वर्गीय गिरिजाप्रसाद कोइरालालाई राजनेता तथा शिखर पुरुष जस्ता विशेषणले पुकारिन्छ । तर नेपालको आजको यो बिग्रँदो अवस्थाको श्रेय उहाँलाई पनि जान्छ । कुनै पनि पार्टीमा व्यक्ति  महत्त्वपूर्ण हुँदैन तर जब पार्टीमा व्यक्ति हावि हुन्छ तब पार्टी कमजोर हुन्छ । पार्टी कमजोर हुनु भनेको देश कमजोर हुनु हो ।

बीपी कोइराला हुनुभएको भए शायद आज मुलुक यत्तिको विषम परिस्थितिबाट गुज्रिँदैन थियो होला । यदि उहाँ हुनुभएको भए राष्ट्रिय कलकारखाना बेच्ने, जनताको आवाजलाई बोकेर राजनीतिमा छिरेकाहरू आफैंले लगाएको चप्पल बिर्सेर अर्बौं आम्दानीको स्रोत राजनीतिलाई बनाउने, लाउडा काण्ड घटाउने, विदेशी बैंकमा पैसा थुपार्ने, नातावाद र कृपावाद भए मात्रै पद दिने, जनताका छोराछोरी भोकै मरुन् या अशिक्षित रहुन् के मतलब भन्ने हेय भाव राखेर आफ्ना छोराछोरीलाई सरकारी पैसाले विदेशका ठूला मानिएका विश्वविद्यालयमा पढाउनेहरूका लागि पार्टीभित्र स्थान दिनुहुँदैन थियो होला ।

बीपी कोइरालाको निधनसँगै नेताहरूले संगठनभन्दा बाहिर सोच्ने प्रवृत्ति शुरू गरे । पार्टीभन्दा गुटको भलाइका लागि नेताहरूले समय खर्च गरे, जसले गर्दा पार्टी कमजोर र गुट मजबुत हुन पुग्यो ।

 यो देशमा सच्चा कांग्रेसको परिचय तब फेरियो जब गुटको फाइदाका लागि रेणु दाहललाई बोकेर हँसिया हथौडामा भोट हाल्न नेपाली कांग्रेसका कार्यकर्तालाई बाध्य बनाइयो । हिजो प्रजातान्त्रिक मूल्य र मान्यतामाथि आस्था राख्नेहरूले परिवारका सदस्य गुमाउनुपर्ने अवस्था सिर्जना गर्ने बाबुराम भट्टराईहरूलाई भोट हालेर कांग्रेसका शहीदलाई अपमान गरियो । शायद आज तिनै शहीदको पाप लागेको छ नेपाली कांग्रेसलाई ।

आज नेपाली कांग्रेसमा पार्टीभन्दा माथि उठेर देशको भलाई सोच्ने कोही पनि छैनन् । भएकाहरूलाई पार्टीले सखाप पारिसकेको छ, किनकि तिनीहरूले प्रजातान्त्रिक मूल्य र मान्यतामाथि धावा बोल्ने हैसियत राखेनन् । पार्टीभित्र विचारको लडाईं लड्ने हैसियत राख्ने बिरलै भेटिन्छन् । आज पार्टीमा गुट, उमेर, जात र धर्मका आधारमा एकले अर्कालाई सिध्याउने खेल खेल्नेहरूको भीड छ ।

प्रजातन्त्रमाथि आस्था राख्नेहरूको दुर्भाग्य मान्नुपर्छ कि बीपी कोइरालाले कुनै दिन बाबुराम र प्रचण्डहरू कांग्रेसका सहयात्री बन्नेछन् भन्ने सपना देखेका थिएनन् होला ।

अहिलेको परिस्थितिलाई मध्यनजर गर्ने हो भने बीपी विचारको अनुसरण कांग्रेसले नभएर अन्य पार्टीले गरको जस्तो देखिन्छ । बीपीको समाजवादको सिद्धान्त आज आएर व्यक्तिवादमा परिवर्तन गर्न कांग्रेस लागिपरेको छ । यसरी मुखले बीपीको भजन गाउने र कार्यान्वयनको पक्षविपरीत धारमा बहनुले कांग्रेसलाई उँधो गति दिने निश्चितप्राय: छ ।बीपीले देखेको सपनामा निष्ठा र आदर्शका लागि कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहलाई नेपाली कांग्रेसबाट टाढा रहन बाध्य बनाइयो र उहाँहरूको ठाउँमा डन, व्यापारी, चोर/फटाहाहरू हावि भए ।

नेपाली कांग्रेसका केही नेता जसले संगठन विस्तार गर्न कुनै कसर राखेनन्, ती सबै नेताहरूलाई छानीछानी कांग्रेसबाट लखेटियो, जसको नतिजा आज नेपाली कांग्रेस पार्टीमा निष्ठाको विचलन छ । नैतिक मूल्य र मान्यता छैन । त्यसैले बीपीले दिएको निष्ठा र आदर्शको राजनीति नेपाली कांग्रेसमा आजकल गरिँदैन ।

बीपीले देखेको सपनामा निष्ठा र आदर्शका लागि कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहलाई नेपाली कांग्रेसबाट टाढा रहन बाध्य बनाइयो र उहाँहरूको ठाउँमा डन, व्यापारी, चोर/फटाहाहरू हावि भए ।

बौद्धिक क्षमता नभएका, समाजले तिरस्कार गरेका, खराब पात्रलाई पार्टीमा स्वागत गर्ने सपना बीपीको थिएन । ती खराब व्यक्तिहरू पछिल्लो समयमा नेपाली कांग्रेसको राजनैतिक संस्कारले जन्माएका पात्रहरू हुन्, तर पनि तुलनात्मक रूपमा जति दोष संगठनको छ, त्यति तिनीहरूको छैन । हुन त केही नेताहरू कांग्रेस कमजोर हुँदा लोकतन्त्र कमजोर हुन्छ भन्दै हिँडेका छन्, तर वास्तवमा लोकतन्त्र कमजोर बनाउने एजेन्ट तिनीहरू नै हुन् ।

बीपी कोइरालाको सपना विकसित नेपाल थियो, बलियो कांग्रेस होइन । विकसित नेपालको सपना जसले पूरा गरे पनि हुन्छ, नेपाली कांग्रेसले नै पूरा गर्नुपर्छ भन्ने छैन ।

यदि नेपाली कांग्रेसले देश बनाउनु छ भने आफू पहिला सुध्रिनु जरुरी छ । आफूलाई सही बाटोमा लैजान नसक्नेले परिवारलाई सही बाटोमा लैजान सक्दैन । परिवारलाई  लैजान नसक्नेले समाजलाई सही बाटोमा लैजान सक्दैन । जसले समाजलाई सही बाटोमा लैजान सक्दैन त्यसले देशलाई सही दिशानिर्देश गर्न सक्दैन ।

महात्मा गान्धीले भनेजस्तै ‘सिद्धान्त विनाको राजनीति पाप हो ।’ सिद्धान्त तब मर्छ जब विचारधारा मर्छ । विचारधाराले राजनीतिमा अत्यावश्यक भूमिका खेल्छ । राजनीतिमा विचारधाराले राजनीति गर्नेहरूको मूल्य र प्राथमिकतालाई श्रेणीकरण गर्न मात्र सहयोग पुर्‍याउँदैन, यसले राजनीतिक वैधानिकताको उद्देश्य पनि पूरा गर्दछ । विचारधाराविना सिद्धान्त, सिद्धान्तविना प्रतिष्ठा र प्रतिष्ठाविना राजनीति हुँदैन ।

नेतृत्वले विचार परिवर्तन गर्ने होइन, विचारले नेतृत्व परिवर्तन गर्ने हो । जब विचारमा विचलन आउँछ तब जोसुकै व्यक्ति नेतृत्वमा आएपनि संगठनले सही दिशा लिन सक्दैन । नेपाली कांग्रेसको आजको समस्या नेतृत्व नभएर विचार हो । आज आएर नेपाली कांग्रेस इन्स्योरेन्स कम्पनी जस्तो भयो, जहाँ केबल एजेन्टहरू मात्र छन् ।

कम्पनीको मालिक अन्यत्र कतै छ । पार्टीभित्रको चरम गुटबन्दी, सत्ताको मोह, विचारको विचलन, संगठन गर्ने क्षमता अभिवृद्धिमा गरिएको वेवास्ता जस्ता विषयमा ध्यान दिइएन भने नेपाली कांग्रेसको अस्तित्व विस्तारै सकिनेछ ।

बीपी कोइरालाको विचार अनुशरण गर्दै नेपाली कांग्रेसका नेता र कार्यकर्ताहरूले आफ्नो सोच बदल्नुका साथै अब पनि देश र जनकल्याणका लागि काम गर्न सकेनन् भने कुनै दिन यिनै राजनीतिज्ञहरू इतिहासको रद्दी टोकरीमा मिल्किइनेछन् । त्यति मात्र नभएर सम्पूर्ण नेपाली कांग्रेस पार्टीको नै अन्त्य हुनेछ ।

भविष्य बनाउन वर्तमानलाई सुधार्नुपर्छ । बीपीको सपना साकार पार्ने अझ पनि समय छ । बेला रहँदै दीर्घकालीन सोच राखेर अघि बढौँ, नत्र नेपाली कांग्रेस कालो इतिहास बन्नेछ ।

आफ्नो पार्टीलाई इतिहास बन्नबाट रोक्न पार्टीको मूल्य र मान्यतालाई आत्मसात गर्दै अहिलेको कांग्रेसको भूगोल ठीक पार्नुपर्छ, अन्यथा आज बीपी कोइरालाको फोटोमा माल्यार्पण गरेजस्तै निकट भविष्यमा नेपाली कांग्रेसलाई नै माल्यार्पण गर्नुपर्ने दिन आउनेछ । आशा गरौं त्यो दिन नआओस् ।

बीपी विचारको देखावटी खोल ओढेर हामी कहीँ पुगेनौं र पुग्न सक्दैनौं पनि, त्यसैले आजैबाट राष्ट्रियतालाई पहिलो प्राथमिकतामा राखेर समाजवादको निर्माणमा जुटौँ । आगामी दिनमा बीपी कोइरालाको सम्झना उहाँले देखाएको पथलाई पछ्याउँदै गरियोस्, बोक्रे सम्मान देखाएर होइन ।

दीपकराज जोशी
दीपकराज जोशी

लेखकबाट थप…

राजनीति अचम्मको जागिर, मतदाता क्यासिनोका ग्राहक जस्ता !

दीपकराज जोशी

स्तो राजनीतिक प्रणालीमा छौं हामी ? थोत्रो च्यातिएको लुगा लगाउने एउटा गरीब नेपालीले आफ्नो सुन्दर भविष्यको कल्पना गर्न भोट हालेर चुनाव जिताएको चिल्लो कोट लगाएको भत्ता र सत्तामा लिप्त भएको सांसदले जवाफ चाहियो भनेर संसदमा फलाक्छ । अर्काे सांसदले ध्यानाकर्षण भयो भन्छ अनि सरकारको मन्त्रीले जवाफ दिन्छ तर जवाफदेहिता कसैले लिँदैनन् ।

जवाफ माग्ने र दिने प्रक्रियाबीच गरीब जनता खान नपाएर भोकले मरिरहेका हुन्छन्, औषधि नपाएर मर्न बाध्य हुन्छन्, युवा विदेशिन बाध्य भइरहेका छन् । यो क्रम जारी रहँदै गर्दा मर्नेहरूले श्रद्धाञ्जलीसम्म पाउँदैनन् । संसदमा चिच्याउनेहरूको जागिर चलिरहन्छ ।

राजनीति एउटा अचम्मको जागिर हो, यहाँ जसलाई न कुनै योग्यता, न कुनै पढाइ, न कुनै सीप, न कुनै तालिम, न त ठाउँठाउँ सरुवा, विदेश भ्रमण, न उमेरको हद, न अवकाश हद, न आन्तरिक मूल्यांकन मृत्यु नहुञ्जेल ढुक्कको जागिर ! 

राजनीति सेवा हो वा जागिर हो ? यदि राजनीति सेवा हो भने सेवा गर्नेले तलब, पेन्सन र अरु सुविधा किन लिन्छन् ? यदि जागिर हो भने राजनीति गर्नेको लागि योग्यता र परीक्षा किन हुँदैन ? कतै यो मानव समाजप्रति घोटाला त होइन भनेर जति नै प्रश्न उठे पनि नेपाली जनताले जवाफ पाउन सकेका छैनन् ।

हामी कस्तो प्रजातन्त्र/लोकतन्त्रको भरोसा गरिरहेका छौं ? मैले भोट हालेर मेरो समाजको समस्या सुनाउन पठाएको निर्वाचित व्यक्तिले हाम्रो समस्या सुनाउनको लागि पनि ३ मिनेटभन्दा बढी समय बोल्न पाउँदैन । अझ दुःखको कुरा त्यो ३ मिनेटमा पनि के बोल्नुपर्छ  भन्ने नजान्नेलाई हामी चुनाव जिताएर पठाउँछौँ । नेपाल पटक–पटक लोकतन्त्र खतरामा हुनुको २ वटा कारण छ । एउटा – नेपाली जनता लोकतान्त्रिक पार्टी भोका छैनन् । दोस्रो – लोकतन्त्रको स्थायित्वको लागि समय लाग्छ र नेपाली जनतासँग धैर्य छैन ।

मेरो देशमा अनपढको लागि राजनीतिभन्दा अरु कुनै क्षेत्र छैन । राजनीतिभन्दा राम्रो नाफा कमाउने अर्को व्यापार छैन । हामी यस्तो सिस्टममा छौं, जहाँ मानसिक र शारीरिक सन्तुलन बिग्रिएको मान्छे स्वास्थ्यमन्त्री बन्छ, मान्छे मार्ने गृहमन्त्री, जाँचमा चिट चोरेर पास गर्ने शिक्षामन्त्री ।

हामी यस्तो समाजमा बस्छौँ, जहाँ राजनीतिज्ञहरू किनबेच गर्नमा नै व्यस्त छन् । पैसाले किन्न सकिने सबैभन्दा उत्तम लोकतन्त्र नेपालमा छ भन्दा फरक नपर्ला । हाम्रो देशको लोकतन्त्रले अब बिस्तारै जनताको प्रतिनिधित्व गर्न छोडेको छ । नेपालका राजनीतिज्ञलाई सत्ता र राजनीति अब सेवा गर्ने माध्यम होइन, यो केवल धन्दा बनेको छ । 

जनताको चुलोमा ग्यास छैन । धारामा पानी छैन । बिरामीले अस्पतालमा बेड पाउँदैन । स्कूलमा गतिलो पढाइ छैन । जनता सुरक्षित छैनन् । कार्यकर्ताको अनुशासन, नेताको शासन दुवै गलत दिशामा गएको मेरो देश । अब यो अप्रजातान्त्रिक महंगो प्रजातन्त्रलाई कहिलेसम्म राख्ने हो ? कतै यो प्रजातन्त्रलाई प्रजाबाट पर धकेल्ने दिन आएको त होइन ?

प्रजातन्त्र र गणतन्त्र एउटा क्यासिनो जस्तै भएको छ । त्यो क्यासिनोको मालिक नेपालका राजनीतिज्ञहरू हुन् अनि हामी जस्ता जनता त्यो क्यासिनोको पैसा जितेर जिन्दगी बन्छ कि भनेर जुवा खेल्ने खेलाडी मात्र हौं । भोट हाल्ने प्रक्रिया भनेको क्यासिनोको ‘स्लट मशिन’ जस्तै हो । फरक यत्ति हो कि स्लट मशिन ह्यान्डल तल खिचेर भाग्य खोज्ने अवसर हाम्रो लागि हरेक ५ वर्षमा १ पटक आउँछ, जसमा जनताले आफ्नो जीवनस्तर माथि उठ्छ र समस्या समाधान हुन्छ कि भनेर स्लट मशिनको ह्यान्डल तल खिचेर भाग्य खोजे  जस्तै भोट हाल्छन् तर जनताको जीवनस्तर कहिल्यै माथि उठ्दैन र समस्या कहिल्यै समाधान हुँदैन । फेरि अर्को ४ वर्ष भाग्य खुल्छ कि भनेर कुर्नुभन्दा अरू कुनै उपाय हुँदैन ।

हामी नेपालीलाई जुवाको लत लागे जस्तै भोट हाल्ने लत लागेको छ र समयान्तरसँगै क्यासिनो मालिकले विभिन्न जुवा खेल्ने प्रणालीको प्रयोग गर्छ तर दुर्भाग्य जीत सधैं क्यासिनो मालिक (राजनीतिज्ञ) को मात्रै हुन्छ र हुँदै आएको छ । कतै अब त्यो क्यासिनोलाई हटाएर नयाँ सिस्टम प्रयोग गर्ने बेला त आएको होइन ? नभए त क्यासिनोमा जुवा खेल्न आउनेलाई निःशुल्क मदिरा, खाने कुरा दिएर जुवा खेलाए जस्तै हाम्रा राजनीतिज्ञले बेला–बेलामा विकासको नाममा ‘गँड्यौला’ फालेर जनतालाई लुट्ने काम गरिरहनेछन् । कतै अब त्यो क्यासिनोलाई नै हटाएर नयाँ सिस्टम प्रयोग गर्ने बेला त आएको होइन ?

अन्न उब्जाउने किसान आज भोको छ । घर बनाउने सिकर्मी र डकर्मीको आफू बस्ने घर छैन । कपडा सिलाउनेहरूसँग आङ ढाक्न एकसरो कपडा छैन । तैपनि गाँस, बास, कपास तथा रोजगारीको नारा गुञ्जिरहेको छ । हरेक दिन गरीबी उन्मुलनको नाममा गरीबकै उन्मुलन गरिँदैछ । हामी त्यो देशमा बस्छौँ, जहाँ भविष्य बनाउनका लागि ३५ दिन कुरेर पहिला पासपोर्ट बनाउनुपर्छ । तब मात्र मेरो भविष्यको ढोका देखिन्छ । यहाँ हरेक दिन गरीबी उन्मुलनको नाममा गरीबकै उन्मुलन गरिँदैछ । नेपालका राजनीतिक पार्टीहरू व्यापारी हुन् । उनीहरू बजारको खोजीमा छन् । यिनीहरूले केवल व्यापार गरिरहेका छन् । फाइदाको लागि यिनीहरू बजार, उत्पादन र ग्राहक परिवर्तन गर्न कुनै पनि समय तयार रहन्छन् । आखिर व्यापार फाइदाको लागि नै गरिन्छ ।

आमाको कोख रित्तिइरहेको छ, छोरी/बुहारीको सिन्दुर पुछिएकै छ, जेठो छोरा मुगलान पसेकै छ । छोराको बिहेमा आँगनमा धूलो उडाउँदै रत्यौली खेलौँला भन्ने आमा छोराको शव हेरेर कुनामा भक्कानो छोडी रोइ नै रहेकी छन् । कान्छो छोराको बिहे गर्ने रहर पूरा नहुँदै  बुढा बा छोराको मलामी गएकै छन् । बूढापाकाले भन्थे, आक्रामक नेताको साथ दिने निष्क्रिय समर्थन र बुद्धिमान शिक्षकसँग अज्ञानी विद्यार्थी भएको समाज कहिल्यै अगाडि बढ्न सक्दैन । यही हामीले भोगी रहेका छौं । समस्या व्यक्तिमा होइन, संरचनामा छ । हामीकहाँ लोकतन्त्र किन सफल छैन ? अन्तरनिहीत निर्वाचन, अयोग्य नेताहरू, अज्ञात मतदाताहरू र अल्पकालीन सोच । 

जब–जब हामी नेतृत्वको कुरा गर्छौं, असल नेतृत्वको कमी गम्भीर समस्याको रूपमा देखा पर्छ । नेताको व्यक्तित्वले हाम्रो जीवनको हरेक पक्षमा महत्त्वपूर्ण भूमिका खेल्छ । हाम्रो समाजमा इमान्दार व्यक्तित्व भएको नेताको कमी छ । देशलाई सही बाटो देखाउन इमान्दार, मेहनती, दूरदृष्टि भएको नेतृत्वको आवश्यकता छ । नेपाली जनता एउटा यस्तो नेताको खोजीमा छन्, जसले विफलताको जिम्मा आफूले लिन्छ र सफलताको श्रेय आफ्नो टीमलाई दिन्छ ।