विद्यालय खोल्दा स्वास्थ्य सावधानी

नयाँ पत्रिका

-लकडाउन समाप्तिसँगै विद्यालय र कलेजहरू खुल्ने सम्भावना बढेको छ । रोकिएका परीक्षा पुनः सञ्चालन गर्ने तयारी छ ।

-नेपाल सरकारले विद्यालय सञ्चालन निर्देशिका ल्याइसकेको छैन । अमेरिकामा भने सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सिडिसी)ले विद्यालय सञ्चालन निर्देशिका जारी गरेको छ ।

-विद्यालयमा कडाइका साथ भौतिक दूरी पालना गराउन निर्देशिकाले जोड दिएको छ । र, तहअनुसार भौतिक दूरी व्यवस्थापन गर्ने प्रावधान ल्याएको छ ।

-भौतिक दूरी कायम राख्न नसक्ने प्रिस्कुलका बालबालिकालाई सानो समूहमा पठनपाठन गराउनुपर्ने सिडिसीको प्रावधान छ । त्यस्ता बालबालिकालाई एक शिक्षकले मात्र पढाउने र तीनदेखि ६ फिटको दूरीमा राख्नुपर्ने व्यवस्था सिडिसीको छ । सुरुका दिनमा पढाइ समय पनि घटाउन जोड दिइएको छ ।

-विद्यालयमा अनावश्यक आगन्तुक भित्रिन नदिने र सकेसम्म खुला ठाउँमा पठनपाठन गर्नुपर्ने प्रावधान छ ।

-विद्यालय परिसरलाई संक्रमणमुक्त राख्न, कक्षाकोठा, स्कुल बस, लबी, क्यान्टिन र हलमा भीडभाड हुन नदिने निर्देशिकाको व्यवस्था छ । बारम्बार छोइने रेलिङ, ढोका, खेलकुद साम्रगी, पाठ्यसामग्री, कक्षाकोठा र क्यान्टिन लगातार सफा गर्नुपर्नेछ । त्यसका लागि कर्मचारी पनि बढी आवश्यक हुनेछन् ।

-शिक्षक, कर्मचारी र विद्यार्थीको दैनिक स्वास्थ्य जाँच अनिवार्य गरिएको छ । बालबालिका घर फर्केपछि पनि अभिभावकले तापक्रम जाँच गर्नुपर्ने व्यवस्था छ ।

-भौतिक दूरी कायम गर्न नसक्ने भएकाले प्रिस्कुलका बालबालिकाका लागि नर्सको व्यवस्थामा जोड दिइएको छ । बालबालिकामा प्रतिरोधी क्षमता विकास र अन्य संक्रमणबाट बचाउन पनि स्वस्थ खानपान र पोषिला खानेकुरामा सिडिसीले जोड दिएको छ । 

-विद्यालयमा स–साना समूहमा पठनपाठन गराउँदा साबिकभन्दा बढी शिक्षक आवश्यक हुनेछ । कामको तनाव घटाउँदै पठनपाठन अगाडि बढाउन बढी जनशक्ति आवश्यक हुनेछ ।

Leave a Reply

Your email address will not be published.