अचम्मको देश !

दीपकराज जोशीदीपकराज जोशी

अचम्मको छ हाम्रो सरकारी संरचना र काम गर्ने तरिका । कमिसन आउने काम भए जे पनि गर्न तयार छन् ।

यहाँ दोहन, लुटतन्त्र, भ्रष्टाचार, कमिसनतन्त्र र बेथिति मात्र छ । ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका, ४६० गाउँपालिका र ६७४३ वडालाई आवश्यक कुरा दमकल हो कि डोजर, एक्स्काभेटर र ब्याकहोल्डर ? त्यो पनि छुट्याउन नसक्ने हामीले जिताएर पठाएका जनप्रतिनिधि र नीति निर्माणमा बसेकाहरूलाई के भन्ने ?


३ वर्षयताको तथ्यांक हेर्ने हो भने नेपालमा ५ हजार आगलागी, १५८ जनाको मृत्यु र ८ अर्बको भौतिक सम्पत्तिको क्षति भएको देखिन्छ । आगो निभाउनका लागि हालसम्म पनि अत्याधुनिक उपकरणहरू सर्वसुलभ तरिकाले उपलब्ध छैनन् ।

नेपालभर १२५ वटा दमकल छन् भने ९३ हजार हेभी इक्विपमेन्ट (डोजर, एक्स्काभेटर र ब्याकहोल्डर) छन् । काठमाडौं महानगर जस्तो देशकै ठूलो शहर, घनाबस्ती भएको ठाउँ, जहाँ १ करोडभन्दा बढी मूल्य पर्ने सवारीसाधन बाक्लै भेटिन्छन् तर महानगरसँग जम्मा ४ वटा मात्रै दमकल छन् ।

जनप्रतिनिधि (प्रदेश सरकारले ३ अर्ब ५७ करोड रुपैयाँ बराबर सवारीसाधन किनेको छ) लाई चढ्ने गाडी किन्न सक्ने महानगरले आगलागी हुँदा आगो निभाउने दमकल किन्न किन नसकेको हो ? यसैबाट प्रस्ट हुन्छ कि हामी र हाम्रो राजनैतिक संरचना कुन दिशातिर गइरहेको छ भनेर ।

सामान्य रूपमा प्रतिमहिना ४० हजार कमाइ हुने जागिर खानेहरूको एउटा बच्चाको विद्यालयमा मासिक फीस ४० हजार हुन्छ । १ गाडी (औसत ४० लाख) सहित ३ करोड बराबरको घर पनि बनाएकै हुन्छन् । जीवनस्तर हेर्ने हो भने पनि भव्य नै हुन्छ ।

राजनीति र समाजसेवा गर्नेहरूको त कुरै छाडौं । भौतिकवादले हाम्रो समाजलाई यसरी गाँजेको छ कि जसबाट निस्कन धेरै समय लाग्छ । जसले गर्दा मान्छे–मान्छेबीच ठूलो खाडल बन्ने कुरा स्पष्ट छ । यो कुरा पनि राजनीतिक अस्थिरताका कारणले नै मौलाएको हो ।

अब समाजको कुरा गरौं । कुनै वृद्ध बुवाआमालाई कसैले उहाँहरूको बारेमा सोध्यो भने उत्तर यस्तो आउँछ, ‘हामीलाई भगवान्ले सबै कुरा दिनुभएकोे छ । हामीलाई केही चाहिँदैन । मेरो कान्छी छोरी ––– न्यूयोर्कमा बस्छे । मेरो कान्छो छोरा ––– शिकागोमा बस्छ । मेरो जेठो छोरा र बुहारी ––– लन्डनमा बस्छन् । मेरो जेठी छोरी र ज्वाइँ ––– सिड्नीमा बस्छन् ।’

अनि तपाईंहरू कहाँ बस्नुहुन्छ भन्दा ‘हामी बूढाबूढी वृद्धाश्रममा बस्छौं’ भनेपछि हामी समयको कुन खण्डको पछि दौडिरहेका छौं भन्ने कुरा प्रस्ट नै छ । जुन कुरा किन भइरहेछ भने नागरिकहरूको सामाजिक सुरक्षाको ग्यारेन्टी गर्न सरकारले कुनै पनि पहलकदमी गरेको छैन । अर्कोतिर हामी पनि आफूलाई एउटा जिम्मेवार नागरिक बनाउन सकिरहेका छैनौं । जसको परिणाम तत्काल वाह लागे पनि कालान्तरमा गएर त्यसको नतिजा खराब नै आउँछ ।

एउटा अध्ययन अनुसार नेपालका झण्डै २४ प्रतिशत नागरिकहरू मद्यपान गर्छन् । काठमाडौंमा मात्र दिनको लगभग ११ हजार लिटर रक्सी पिइन्छ । नेपालका ५० प्रतिशत नागरिकहरू धुम्रपान गर्छन् । प्रत्येक २ मध्ये १ नेपाली सूर्तीजन्य पदार्थको उपभोक्ता छन् । वार्षिक रूपमा सूर्तीजन्य पदार्थको सेवन गरेबापत लाग्ने रोगबाट मृत्युवरण गर्नेको संख्या ठूलो रहेको कुरा विभिन्न समयमा भएका अध्ययनले बताउँछ ।

नेपालमा सूर्तीजन्य पदार्थ र मदिरा नियन्त्रणका लागि कडा नीतिनियमहरू नभएका होइनन् तर पनि सूर्तीजन्य पदार्थ र मदिराको प्रयोग बढ्दो छ ।

९५ प्रतिशत ओमकार परिवार भएकोे देशमा आयुर्वेद औषधालयको सट्टा रक्सी भट्टी र मासु पसल बढी छन् । नेपाल हिन्दूराष्ट्र हुनुपर्छ भनेर कराउनेहरू नै हिन्दू धर्मको मूल्य र मान्यताबाट चुकेका छन् ।

नेपाल संसारकै पहिलो देश हो, जसले ६८ वर्षको इतिहासका विभिन्न अवधिमा ७ वटा संविधानको अनुभव गर्‍यो तर मुलकको दुर्दशा जहाँको त्यहीँ रह्यो । १९४८ सालमा नेपालले पहिलो संविधान बनाउँदा संसारमा १०६ वटा सार्वभौम राज्यहरू थिए । अहिले संसारमा २०६ वटा सार्वभौम राज्य छन् । १०० वटा देश थपिएर प्रगति गर्दै उनीहरू कहाँबाट कहाँ पुगिसके, हामी चाहिँ मेलम्चीको पानी ३ घण्टा भए पनि आउने भयो भनेर खुशी छौं । कस्तो बिडम्बना ? संविधानको मर्म र भावनालाई नसमेटी गरिएका कार्यहरूले गर्दा संविधानलाई कागजको एउटा टुक्रा मात्र जस्तो बनाएको छ ।

नेपालको संवैधानिक इतिहासमा अहिलेसम्म ३१ वटा सरकार, ७ वटा संविधान लेखिए तर पनि किन ती संविधान बारम्बार लेखिए ? किन सरकार परिवर्तन भइराखे ? त्यसले देशलाई कुन दिशातिर उन्मुख गरिरहेको छ ? समग्र रूपमा अस्थिर राजनीतिले आज कस्तो परिणाम ल्यायो ? त्यो कसैको चासोको विषयभित्र पनि पर्छ कि पर्दैन होला ? यहाँ त कहीँ कतै नअटाएपछि मात्रै राजनीतिमा जानेहरूको होडबाजी हेर्न लायक छ । किनकि त्यो मात्रै यस्तो ठाउँ हो जहाँ गएपछि जे गरे पनि छुट पाइन्छ ।

मार्बल काट्ने मिस्त्री बिरलै भेटिने मेरो देश नेपालमा ७३ हजार इन्जिनीयर छन् । झण्डै ५ हजार पीएचडी गरेका शिक्षित वर्ग पनि छन् । यति हुँदाहुँदै पनि खस्कँदो शिक्षा प्रणालीका कारणले गर्दा विदेशमा अध्ययन गर्न जाने विद्यार्थीको संख्या बढ्दो छ ।

शिक्षा विभागको तथ्यांक अनुसार ३ लाख २३ हजार ९७२ विद्यार्थीले विदेशमा अध्ययन गरिरहेका छन् । यसरी विदेशमा गएर अध्ययन गर्दा वार्षिक झण्डै ४०.०९ बिलिएन मुद्रा बाहिरिएको छ । यी विद्यार्थी झण्डै ७० वटा देशमा अध्ययन गर्न जान्छन् । शिक्षा, विज्ञान र प्रविधि मन्त्रालयको वार्षिक बजेट १७१.७१ करोड हुँदा पनि पुरुष साक्षरता दर ७८.५९%, महिला साक्षरता ५९.७२% दरमा नेपाल विश्वमा १३१ स्थानमा पर्छ ।

३० लाख नेपाली आप्रवासी कामदारहरू विदेशमा आफ्नो जीवनस्तर उठाउन सकिन्छ कि भनेर विदेशिएका छन् । ३० मिलियन जनसंख्या भएको नेपालले झण्डै १२ प्रतिशतभन्दा बढी मानिसहरूलाई विदेशिन बाध्य बनाएको छ । यसरी विदेशिन बाध्य हुनेहरू उत्पादक उमेर (२० देखि ४० वर्ष) समूहका छन् । कस्तो बिडम्बना ? अहिले आधाभन्दा बढी नेपाली परिवारका सदस्यहरू विदेशमा काम गरिरहेका छन् । यो तथ्यांकमा भारतमा गएर काम गर्नेहरूलाई भने समावेश गरिएको छैन । जबकि ८ मिलियन नेपाली नागरिक भारतमा मजदुरी गर्छन् । अरु बचेकुचेकाको चुल्हो बाल्न खाडी काफी छँदैछ ।

नेपालमा झण्डै ५ हजार २०० वटा ‘प्लस टू’ पढाइ हुने कलेज छन् । १४ वटा विश्वविद्यालय छन् र ती विश्वविद्यालयबाट सम्बन्धन पाएका झण्डै १ हजार ४०० कलेज छन् । १४ वटा विश्वविद्यालयमध्ये कुनै विश्वविद्यालयमा जम्मा ७०० जना विद्यार्थी मात्र छन् । यति थोरै विद्यार्थीलाई पढाउने विश्वविद्यालय चाहिँ किन खुल्नुपर्ने होला ?

हुन त हाम्रो समाजमा कमिसनको नाममा जंगल मासेर अक्सिजन प्लान्ट बनाउँछु भन्नेहरूको पनि कमी छैन र तिनै छद्मभेषी वैज्ञानिकहरू नै वाहवाह बटुल्ने पात्र बन्छन् । विश्वविद्यालय अनुदान आयोगको वेबसाइटमा यति धेरै अपूर्ण जानकारी छ कि ती जानकारीले नागरिकलाई सूचित गर्नुको सट्टा भ्रमित गराउँछन् । कुन मात्र विश्वास गर्नु ? कुन चाहिँ नगर्नु ?

विश्व बैंकले इतिहासमै यसपालि कोरोना भाइरसको महामारीका कारणले गर्दा रेमिट्यान्स २० प्रतिशतले गिरावट हुने भविष्यवाणी गर्दा पनि नेपालमा अघिल्लो वर्षको तुलनामा यस वर्ष ११ प्रतिशतले विप्रेषण वृद्धि भएको छ भनेर भनिएको छ । अब यो किन र कसरी भयो ? भगवान् जानून् !

नेपालका सडकमा ५ लाखभन्दा बढी सवारीसाधनहरू चल्छन् । नेपालका कूल सवारीसाधनमध्ये ७८.७ प्रतिशत मोटरसाइकल छन् । यत्रो गाडी र मोटरसाइकलको लागि इन्धन, सवारीसाधनको पार्टपूर्जामा कति खर्च हुन्छ ? त्यसको हिसाबकिताब नै छैन र अझै हाम्रा नेताहरू हावामा गफ लडाइरहन्छन् कि हामी हावाबाट बिजुली निकाल्छौं र विद्युतीय सवारीसाधनले आफैंलाई परनिर्भर हुनबाट रोक्छौं । जबकि उनै नेतालाई थाहा छ कि यो काम भाषणमा बोल्न जति सजिलो छैन भनेर र पनि आश्वासन दिन भने छाड्दैनन् र हामी ताली पड्काउन पनि कहाँ छाड्छौं र ?

राम्रा विद्यार्थी, राम्रा डाक्टर, इन्जिनीयर, नर्स, खेलाडी, कवि, कलाकार, गायक सबै विदेशिने क्रम जारी छ । यसरी सबै राम्रा, सक्षम, असल र बलिया नेपाली विदेशिन बाध्य हुँदा अब नेपाल केवल अनपढ, खराब र कमजोर नागरिकको मात्र भीडभाड बन्ने स्थितिमा छ । त्यसैले पनि केही स्वघोषित टाठाबाठाहरूलाई राज गरिरहन सजिलो भएको छ । हुन त ३२ वर्षमा आफ्नै अफिस अर्थात् सांसद भवन त बनाउन नसक्ने स्वघोषित टाठाहरूले अरु कुरा बनाउँछन् भनेर आशा राख्नु पनि बेकार हो ।

राजनीतिमा सानातिना खटपटहरू सदैव हुन्छन् । राजनीतिक शिष्टता र राजनीतिक बफादारिता नभएका नेताहरूले १ दिन आफ्नो फाइदाको लागि जे पनि गर्न तयार हुनेछन् । यदि तपाईं सच्चा प्रजातन्त्रवादी हुनुहुन्छ र देशको माया लाग्छ भने यी छद्मभेषीहरूलाई सचेत गराउने बेला यही हो । प्रजातन्त्रमा सबैभन्दा ठूलो कुरा भनेको आवाज उठाउनु हो ।

आफैं दास मनस्थितिबाट गुज्रिरहेका नेताहरूले समाजलाई सामाजिक, राजनीतिक र आर्थिक दासत्वबाट मुक्ति दिनेछन् भनेर आशा गर्नु दिवास्वप्न मात्र हो । हत्या, हिंसा र बलात्कार जस्ता मुद्दामा पनि राजनीतिक फाइदाको लागि आफ्नो आवाज बन्द गर्ने हाम्रा नेताहरूबाट के नै आशा गर्न सकिन्छ ? यिनै नेताहरूको फरिया समातेर वैतरणी पार गर्न सकिन्छ भन्ने आशाले बाँचेका मनुवाहरूलाई पनि आजै बहिष्कार गरेर नयाँ जोश र जाँगर भएकालाई अगाडि सार्ने बेला आएको छ ।

कुनै डाँका वा हत्याराको पनि केही हदसम्म नैतिकता हुन्छ । डाँकाले पनि आफ्नो घरमा डकैती गर्दैन, नेपाली उखान छ चोरले पनि १० घर छाडेर मात्रै चोरी गर्छ तर हाम्रा नेतामा त त्यति पनि नैतिकता छैन । हामीले नै विजयी बनाएर पठाएका नेताहरूबाट हामी सुरक्षित छैनौं ।

मेरो गाउँको एउटा दाइले भन्नुहुन्थ्यो । नेपालको डाटा र पुलिसको भाटाको विश्वास हुँदैन । कहाँ कसरी लाग्छ पत्तै हुँदैन । आजकल हो रहेछ जस्तो पो लाग्दैछ । सबै नम्बर केलाउँदा–केलाउँदै आफ्नै उमेरको नम्बर बढेर जीवनले डाँडा काट्न लागिसक्यो, तै पनि के भइरहेको छ ? बुझ्न गाह्रो छ । त्यसैले हामी यो दम्भले भरिएको अचम्मको देशमा बस्छौं भन्दा अत्युक्ति नहोला । जहाँ सत्य सुन्दर छैन, सत्ता कुरूप छ ।

दीपकराज जोशी
दीपकराज जोशी

लेखकबाट थप…

Leave a Reply

Your email address will not be published.