मैले बुझेको जिवन नै त्यही किसिमको हो। अरू किसिमको जीवनलाई मैले बुझेको छैन। मानिसले अरू जुन किसिमको जीवनयापन गर्छन्, त्यसमा मलाई कुनै आकर्षण हुँदैन। त्यस्तो खालको जीवनयापन गर्नु परेको भए म दिक्क हुने थिएँ, शायद त्यसै दिक्दारीबाट मर्ने पनि थिएँ। मलाई अर्को नयाँ जीवन दिइयो भने पनि मेरो यो जिन्दगी जस्तो भयो, त्योभन्दा फरक खालको जीवन हुने छैन। तपाईंको प्रश्नका दुइटा पक्ष छन् जस्तो मलाई लाग्यो। एक पक्ष त के हो भने एक राजनीतिज्ञका हैसियतले म सफल हुन चाहन्थे होइन ? मैले जुन किसिमको समाज निर्माण गर्न चाहेको थिएँ, जुन प्रकारको आर्थिक व्यवस्था सिर्जना गर्न खोजेको थिएँ र जुन कुरा सफल भएको भए त्यसको असर मालईभन्दा अरूलाई बढी पर्ने थियो, त्यसमा सफलता नभएकोमा मलाई चिन्ता हुन्छ। तर जहाँसम्म मेरो व्यक्तिगत कुरा छ, मलाई सफलता या असफलताको कुनै महत्व छैन। आफूले चाहेको काममा आफ्नो सम्पूर्ण क्षमताको प्रयोग गरियो र आफूले सक्ने जति सम्पूर्ण कुराको बाजी लगाइयो भन्ने कुरा आफ्नो अन्तरआत्माले इमान्दारीसाथ मान्नसक्छ भने, त्यसले मानिसलाई सन्तोष दिन्छ। मलाई अनुभव भएको कुरा पनि यही हो। साधारणतया मानिसले सफलता भनेर जे कुरालाई भन्छन् त्यस अर्थमा म सफल भइन। तर जब म मानिसहरूले सस्तो सफलता प्राप्त गरेको देख्छु, त्यसबाट उनीहरूले आत्मिक सन्तोष प्राप्त गरे होलान् जस्तो मलाई लाग्दैन। असफल नै भएपनि सत्कार्यका लागि प्रयत्न गरिरहँदा एकप्रकारको आत्मिय आनन्द हुन्छ, मलाई यही नै भयो भन्ने लाग्छ।