Nepal map
B.P. Koirala

बिपी कोइरालाका साश्वत बिचार र उक्तिहरू, Popular saying,quote and thoughts of BP Koirala in Nepali

 

 

 

http://3.bp.blogspot.com/-cX7jk4TskAA/U-5fZbUT8tI/AAAAAAAAAos/ZWvzSv69TUk/s1600/bpkoirala-sayings-andquote-nepali.jpg

जीवन

१—जीवन नै एक सुनिश्चित जोखिम हो।

२—जीवनको सार्थकता कुनै उद्देश्यका लागि प्रतिवध्दतामा निर्भर गर्दछ। मानिस आफ्नो सङ्कल्प र आस्थाले यथार्थमा मानिस हुन्छ।


३—मेरो राजनैतिक जीवन खुलेको पाना हो। मलाई आफ्नो सम्बन्धमा सफाई दिइरहने एकदम आवश्यकता छैन।


४—प्रश्न; तर तपाईंको जिवन भन्नु त तिनै संकट, जेल, यातना, मुद्दा, अभियोग इत्यादिकै कहानी होइन र ? 


उत्तर—मैले बुझेको जिवन नै त्यही किसिमको हो। अरू किसिमको जीवनलाई मैले बुझेको छैन। मानिसले अरू जुन किसिमको जीवनयापन गर्छन्, त्यसमा मलाई कुनै आकर्षण हुँदैन। त्यस्तो खालको जीवनयापन गर्नु परेको भए म दिक्क हुने थिएँ, शायद त्यसै दिक्दारीबाट मर्ने पनि थिएँ। मलाई अर्को नयाँ जीवन दिइयो भने पनि मेरो यो जिन्दगी जस्तो भयो, त्योभन्दा फरक खालको जीवन हुने छैन। तपाईंको प्रश्नका दुइटा पक्ष छन् जस्तो मलाई लाग्यो। एक पक्ष त के हो भने एक राजनीतिज्ञका हैसियतले म सफल हुन चाहन्थे होइन ? मैले जुन किसिमको समाज निर्माण गर्न चाहेको थिएँ, जुन प्रकारको आर्थिक व्यवस्था सिर्जना गर्न खोजेको थिएँ र जुन कुरा सफल भएको भए त्यसको असर मालईभन्दा अरूलाई बढी पर्ने थियो, त्यसमा सफलता नभएकोमा मलाई चिन्ता हुन्छ। तर जहाँसम्म मेरो व्यक्तिगत कुरा छ, मलाई सफलता या असफलताको कुनै महत्व छैन। आफूले चाहेको काममा आफ्नो सम्पूर्ण क्षमताको प्रयोग गरियो र आफूले सक्ने जति सम्पूर्ण कुराको बाजी लगाइयो भन्ने कुरा आफ्नो अन्तरआत्माले इमान्दारीसाथ मान्नसक्छ भने, त्यसले मानिसलाई सन्तोष दिन्छ। मलाई अनुभव भएको कुरा पनि यही हो। साधारणतया मानिसले सफलता भनेर जे कुरालाई भन्छन् त्यस अर्थमा म सफल भइन। तर जब म मानिसहरूले सस्तो सफलता प्राप्त गरेको देख्छु, त्यसबाट उनीहरूले आत्मिक सन्तोष प्राप्त गरे होलान् जस्तो मलाई लाग्दैन। असफल नै भएपनि सत्कार्यका लागि प्रयत्न गरिरहँदा एकप्रकारको आत्मिय आनन्द हुन्छ, मलाई यही नै भयो भन्ने लाग्छ।

(बी. पी. कोइरालाको अन्तिम अन्तरवार्ताबाट) 



राष्ट्रियता र राष्ट्रिय एकता



१—१८१६ ई. सं. पछि नेपाल देश बन्यो, नेपाल राष्ट्र बनाउने प्रयत्न भएन। शरीरको ढाँचा खडा भयो, त्यसमा आत्मा आउन सकेन। फ्रेम बनाइयो तर तस्वीर राखिएन। तसर्थ नेपालको राष्ट्रियताको इतिहासमा १८१६ पछिको काललाई, नेपाली भाषाको विकासलाई छोडेर मरूभूमिको युग भने पनि हुन्छ।

२—हिजोसम्म हाम्रो (नेपाली कांग्रेसको) संघर्ष जनताको प्रजातान्त्रिक अधिकारको निम्ति मात्र थियो। त्यसोहुनाले हामीले प्रजातान्त्रिक पक्षमा मात्र बढी जोड दियौँ। आज यसमा एउटा नायँ आयाम थपिएको छ। नेपाली कांग्रेसलाई आज दोहोरो जिम्मेवारी आई परेको छ। यो दोस्रो जिम्मेवारी हो—देशको अस्तित्वको रक्षा गर्ने।

३—राष्ट्रियताको भावनात्मक विकास एउटै विचारधाराको प्रचारले हुँदैन, त्यो विकासको क्रम द्वन्द्वात्मक हुन्छ। विचारको संघर्ष राष्ट्रिय हितका सम्बन्धमा मतभिन्नताबाट निस्केको त्यो सामूहिक निर्णयको फराकिलो शिलाखण्डमा राष्ट्रियताको भावना गहिरिँदै, बाक्लिदै र फराकिलो हुँदै दृढतर हुँदै जान्छ।


४—राष्ट्रियताको विवेचनामा सर्वप्रथम तत्व र अन्तिम तत्व पनि जनता हो। राष्ट्रियता जनताको सामूहिक मनोभावलाई लक्षित गर्ने शब्द हो। सामूहिक रूपबाट समयमा आइपर्ने व्यापक समस्याहरूको समाधानमा लाग्नुपर्दा सहज किसिमले उत्पन्न हुने जनभावना नै राष्ट्रियता हो। राष्ट्रियताको यस परिभाषामा तीन तत्व सामेल छन्—व्यापक समस्या, त्यसको समाधानको सामूहिक प्रयत्न र त्यस प्रयत्नबाट सहज किसिमले उत्पन्न हुने भावनात्मक एकता। अर्को शब्दमा राष्ट्रियता भन्नाले लक्षित गर्ने तत्वहरू—(१) जनता (२) तिनको अगाडि उपस्थित भएको समस्या (३) त्यस समस्याको सबैले मिलेर समाधान गर्ने दिशापट्टीको सामूहिक प्रयत्न र (४) त्यस प्रयत्नमा अनुभव गरेको एकताको भावना। यसरी राष्ट्रियताको विचार गर्दा भूगोलको भूमिका गौण भएर जान्छ।

५—राष्ट्रियता माटो होइन, जनताको सामूहिक भावना (विचार) हो।

६—हाम्रो नेपाल अत्यन्त पछि परेको देश हो। यसको पछिपरेको अवस्थाले गर्दा यसमा देखा परेका यावत कमजोरीहरू र दुर्गुणहरू हुन आएका हुन्।


७—राष्ट्रियता र प्रजातन्त्र अविभाज्य छन्।

८—राष्ट्रिय एकता प्रजातन्त्रको जगमा मात्र खडा हुन सक्छ र प्रजातन्त्रको जग देशको उत्तरोत्तर आर्थिक विकास र न्यायपूर्ण आर्थिक व्यवस्थामा मात्र बलियो हुनसक्छ। तसर्थ हाम्रो (नेपाली कांग्रेसको) दृष्टिकोणमा—राष्ट्रियता, प्रजातन्त्र, विकास र उन्नति एक अर्कामा आधारित तत्व हुन्।

९—यदि हामीले केवल राष्ट्रियताको चर्चा गर्छौँ र प्रजातन्त्रका सम्बन्धमा मौन रहन्छौँ भने अधिनायकवादका पक्षधर हुने छौं र यदि प्रजातन्त्रको चर्चा गरेर राष्ट्र रक्षाको कुरोलाई उपेक्षा गर्छौ भने हामी विदेशी तत्वको हतियार बन्न सक्छौ।

१०—राष्ट्रिय एकता कतिपय राजनेतिक नेताहरूको संयुक्त बक्तब्य होइन। त्यसको आधार त्यस्ता संस्थानहरू हुन्, जसमा विभिन्न राष्ट्रिय तत्वहरू एकत्रित हुन सक्छन् र छलफल र निर्णयद्वारा राष्ट्रिय भावना सबल र कार्यशील बनाउन सक्दछन्। यसअर्थमा प्रजातन्त्रमा मात्र राष्ट्रिय एकता सम्भव छ।

११—राष्ट्रिय सहमति प्रजातन्त्रबाट मात्रै स्थापित हुन सक्छ। दुईजना मिलेर राष्ट्रिय सहमति हुन सक्दैन।

१२—हाम्रो नेपाल अत्यन्त पछि परेको देश हो। यसको पछि परेको अवस्थाले गर्दा यसमा देखापरेका यावत कम्जोरीहरू र दुर्गुणहरू हुन आएाक हुन्। एक त यसको कमजोरी यसको राष्ट्रियताको बलियो जग बसी नसकेकाले हो। यस कमजोरीलाई हामीले हटाउनु छ। तसर्थ देशमा राष्ट्रिय भावनालाई जगाउने त्यसको अभिवृध्दि गर्दै लैजाने। हामी सङ्कीर्ण भावना, जातिगत, सम्प्रदायगत जस्ता क्षुद्र भावनाबाट माथि उठी राष्ट्रियस्तरमा सोच्ने र विचार्ने गर्नु पर्छ। यसो गर्न सकेनौँ भने हामी पछि परेका परै हुनेछौँ र त्यस्तो कमजोर अवस्थामा हामी माथि विदेशीहरूको चाल सजिलैसँग छल्न सक्छ।

१३—यदि हाम्रा बिरोधीहरूको विचार हाम्रो (नेपाली कांग्रेसको) राष्ट्रिय प्रतिवध्दतासँग मेल खाँदैन भने हाम्रो तिनीहरूसँगको सम्बन्धको कुनै आधार रहँदैन। विदेशी सरकारबाट प्रेरित र सञ्चालित संगठनहरू या समूहहरू जुनसुकै किसिमको तिनीहरूको नारा भए तापनि अराष्ट्रिय हुन्।

१४—राष्ट्रियाताको धुकधुकी अनुरूप राजनीति गरे अनन्त शक्ति प्राप्त हुन्छ।

१५—राष्ट्रियताका लागि पनि प्रजातन्त्र नभइ हुँदैन। आफ्नो राजनीतिक अधिकार खोसिएको जनता राष्ट्रियताका प्रति जागरूक हुँदैन। प्रजातन्त्र त्यसै पनि वाञ्छनीय लक्ष्य हो। त्यसमा हाम्रो देशको राष्ट्रियताको संरक्षणका लागि अन् यो आवश्यक भएको छ। त्यसैले मैले राष्ट्रियता र प्रजातन्त्र अन्योनाश्रित छन् भन्दै आएको छु। हाम्रो प्रजातान्त्रिक विचारसँग मेल नखाने तत्वहरूसँग हाम्रो राम्रो सम्बन्ध सम्भव छैन।

१६—राष्ट्रियता भनेको हामी सबै हौं। हामी तपाईंको अधिकार खोसिएपछि राष्ट्र बलियो हुन्छ भन्ने कुरो मलाई मूर्खताको कुरो जस्तो लाग्छ। तपाईंहरू बलियो हुन सक्नुभयो भने, हाम्रो अधिकार रम्रोसँग प्रयोग गर्न सक्यौँभने राष्ट्र बलियो हुन्छ। निर्धा, निमुखा, अधिकार नभएको, आफ्नो बुध्दिले सोच्न नसक्ने जनताले कहिल्यै पनि राष्ट्रियताको निर्माण गर्न सक्दैनन्। 

प्रजातन्त्र१—प्रजातन्त्र बिना देश रहँदैन।

२—Democracy is indispensable for development.

३—प्रजातान्त्रिक समाजवादीहरूको अहिले नेपालमा प्रजातन्त्रको निम्ति जुन सङ्घर्ष छ त्यो सबभन्दा महत्वपूर्ण सङ्घर्ष हो।

४—हामी भन्छौ हामीलाई प्रजातन्त्र चाहिन्छ—यो केवल राजनीतिक र प्रजातान्त्रिक अधिकारका निम्ति मात्र होइन। बरू जनशक्तिलाई सञ्चालित गर्नका निम्ति जनतालाई

विकासको प्रकृयामा समावेश गर्नुका साथै नीति निर्धारण र व्यवस्थापनको प्रकृयामा सहभागी बनाउन पनि।



५—आज विश्वको एकमात्र राजनैतिक समस्या प्रजातन्त्र र त्यसको निम्ति संघर्ष हो। प्रजातन्त्र अविभाज्य छ। यदि तपाईं आफ्नो निम्ति प्रजातन्त्र चाहनुहुन्छ भने विश्वभर त्यसको निम्ति चलिरहेको संघर्षको अबहेलना गर्न पाउनु हुन्न।

६—प्रजातान्त्रिक व्यवस्थामा अहिंसा साधन र साध्य दुबै हुन्छ, साथै प्रजातन्त्र भनेको अहिंसात्मक व्यवस्था हो।

७—प्रजातान्त्रिक व्यवस्थामा अहिंसा साधन र साध्य दुबै हुन्छ साथै प्रजातन्त्र भनेको अहिंसात्मक व्यवस्था हो।

८—मलाई विश्वास छ नेपालमा प्रजातन्त्रको पनर्स्थापना हुने छ।

९—प्रजातन्त्र त बडो सन्तुलित, विरोधीहरूको पनो कुरा सुन्ने, सहनशील, तर सुन्ने मात्र होइन, विरोधीहरूले भनेको ठीक छ भने हो पनि भन्ने किसिमको पध्दति हो।

१०—प्रजातन्त्र नै तीन मूलभूत सिध्दान्तहरूको व्याबहारिक राजनीतिमा प्रयोग भएको समग्र रूप हो। यी तीन सिध्दान्तहरूमा कुनै एउटा मात्रै पनि व्यवस्थामा समावेश भएको छैन भने त्यो प्रजातन्त्र नै होइन। तीनकुट्टे टेबुल जस्तै एउटा खुट्टामात्र भएको छैन भने त्यो उभिनै सक्तैन। ती तीन अनिवार्य तत्व हुन्—(१) नागरिकको मौलिक या नागरिक अधिकार (नागरिक भन्ने शब्दले नै ती अधिकारका उपभोक्तालाई बोध गराउँछ। नागरिक अधिकार नपाएको व्यक्ति नागरिक होइन। मोटमोटी ती अधिकार हुन्—अभिव्यक्तिको स्वतन्त्रता, वैचारिक स्वतन्त्रता, आवत जावतको स्वतन्त्रता र सङ्गठनको स्वतन्त्रता।) (२) कानूनी राज्य (Rule of Law) अर्थात् यस्तो व्यवस्था जहाँ ऐन कानूनको संरक्षण, मर्यादा र नियन्त्रणमा नागरिकहरूले आफ्नो अधिकारको उपभोग गर्ने र दायित्वलाई पालन गर्ने छन्। सरकारको निरंकुशता, हुकुमी शासन, सरकारी विभागहरूको अन्याय र अत्याचारका विरूध्द कानूनी राज्यको संरक्षण नागरिकहरूलाई चाहिन्छ। शासनको कार्यपालिका अङ्गले गैरकानूनी कार्यवाहीद्वारा नागरिकहरूमाथि अत्याचार नहोस् भनेर कानूनी राज्यको सिध्दान्त प्रजातन्त्रको मूलभूत सिध्दान्तमा गनिएको छ। (३) राज्यको नीति निर्धारण र राज्यको शक्तिको प्रयोगमा जनताको साधिकार र निर्वाध उपस्थिति र हस्तक्षेपको सिध्दान्त—यि सिध्दान्त जनताको सार्वभौमिकताको सिध्दान्तलाई प्रतिफलित छ। राज्य (State) जनताको साझा सम्पत्ति हो। त्यसोहुनाले त्यसका उपर जनताको सर्वाधिकार रहन्छ।त्यसको व्यवस्था गर्ने अधिकार पनि जनतालाई छ भन्ने विचार नै सार्वभौमिकतामा निहित छ भन्ने सिध्दान्त हो।



११—म भन्दा धेरै दु:ख पाएका र यातना सहेका, त्याग गरेका, तपस्या गरेका हाम्रो मुलुकमा सयकडौँ यङ्गमेनहरू छन्। म त चिनिएको छु, अरूहरू त प्रजातन्त्रको जगमा त्यस्ता गडेका पत्थरहरू हुन् जसलाई कसैले छिन्दैन। प्रजातन्त्रको त्यो मन्दिरका तल गडेका जगमा रहेका ढुङ्गा जस्ता कति शहिदहरू भए, आजको उत्साहको दिनमा हामीहरूले तिनीहरूलाई सम्झिनु पर्छ, जसको त्याग र वलिदानबाट आज यस ठाउँमा म उभिएर तपाईँहरूसँग केही भन्न पाईरहेछु।

(जेठ २५, २०३६ सालमा काठमाण्डूको टुँडीखेलमा गरेको भाषणबाट) 

१२—मानिस जन्मदै परतन्त्र जन्मन्छ अनि उसले जे जति गर्छ सबै आफ्नो स्वतन्त्रताको लागि गर्छ। शिक्षा, दर्शन, राजनीति, जे पनि किन नहोस् प्रत्येकमा उसको स्वतन्त्रताको लालसाले काम गरेको हुन्छ।



१३—हामी भन्छौं हामीलाई प्रजातन्त्र चाहिन्छ—यो केवल राजनीतिक र प्रजातन्त्रिक अधिकारको निम्ति मात्रै होइन। बरू जनशक्तिलाई सञ्चालित गर्नका निम्ति, जनतालाई विकासको प्रक्रियामा समावेश गर्नुका साथै नीति निर्धारण र व्यवस्थापनको प्रक्रियामा सहभागी बनाउनका निम्ति पनि।



१४—प्रजातन्त्र नभए देश रहँदैन, राजा रहँदैनन्, हामीहरूको त कुरै भएन। त्यसैले आजको राष्ट्रियताको नारा हो—प्रजातन्त्र। 

(जेठ २५, २०३६ सालमा काठमाण्डूको टुँडीखेलमा गरेको भाषणबाट) 



१५—देशमा प्रजातन्त्रको पुनर्स्थापना गरिनु पर्दछ। त्यसो नभएमा शल्यक्रियाद्वारा बच्चा पैदा गराए जस्तै अन्य उपायद्वारा पनि प्रजातन्त्रको स्थापनाको लागि जनताले सोच्नु पर्ने छ।

हामी प्रजातान्त्रवादीहरूको कर्तव्य
१—हामीले आफ्ना विरोधीहरूलाई सैध्दान्तिक आधारमा जित्ने प्रयत्न गर्नु पर्छ। उनीहरूको विश्वास प्राप्त गर्ने प्रयत्न गर्नु पर्छ। हाम्रो विरोधमा लागेका अधिकांश व्यक्तिहरू नबुझेर त्यसो हुन पुगेका हुन्। तिनीहरूलाई आफ्नो पक्षमा ल्याउने प्रयत्न गर्नु पर्छ।


१२—हामीले हाम्रो आफ्नो सिध्दान्तलाई त्यागेर कसैसँग कुनै पनि हालतमा सम्झौता गर्नु हुँदैन। तर हाम्रो विरोध कटुताहीन र सैध्दान्तिक हुनु पर्छ, व्यकतिगत हुनुहुँदैन।

राष्ट्रिय अस्तित्वको संकट

१—हाम्रो राष्ट्र अल्पसंख्यक जातिहरूको समूह हो। कुनै पनि जाति अरु जातिहरूको दाँजोमा अल्पसंख्यक छ। त्यसोहुनाले जातीय आधारमा यहाँ राजनीति सफल हुन सक्तैन। कुनै पनि क्षेत्रबाट कसैले जातिको आधारमा चुनाव जित्छु भन्ने आशा गर्न सक्तैन।

२—अन्यायको अनुभव कुनै समूहमा हुनगयो भने राष्ट्रको बलियो जग बनाउनमा ठूलो अडचन पर्छ।

३—हाम्रो नेपालका सम्बन्धमा तीनवटा ऐतिहासिक दायित्व हामीले (नेपाली कांग्रेसले) एकैचोटी पूरा गर्नु परेकोछ—(क) राष्ट्र बचाउनु (ख) प्रजातन्त्र ल्याउनु र (ग) देशको आर्थिक वा सर्वाङ्गीण विकास गर्नु। 

४—हामीले स्पष्ट देखेका छौ, अराजकता र उग्रवादको सामना हाम्रो प्रजातान्त्रिक राजनीतिले गर्न सकेन भने अर्को तत्वले गर्छ—फासिष्ट सैनिक तानाशाहीले, जसको ज्वलन्त उदाहरण पाकिस्तान छ, या विदेशी सैनिक हस्तक्षेपले, जसको उदाहरण अफगानिस्तान छ। 

५—समाजको कुनै वर्गले अन्यायको अनुभव गरेसम्म राष्ट्रको जग मजबूत हुँदैन।

६—कुनै वर्ग वा सम्प्रदायसित हाम्रो शत्रुता कदापी छैन। नेपालमा बस्ने वा ऊ सित कुनै प्रकारको सम्बन्ध हुने सबै व्यक्ति हाम्रा दाजु-भाई हुन्।सम्पूर्ण देशको उन्नति नै हाम्रो अभिष्ट लक्ष हो। यसकारण कुनै वर्ग बिशेषले हामीबाट व्यक्तिगत अनिष्टको आशंका गर्नु उचित छैन। हाम्रो निमित्त सबैको सहायता ग्राह्य छ र हामी जाति, वर्ग वा कुलको पर्वाह नगरी योग्यताको विचार गर्दै सबका सहायक बन्ने छौँ। सम्पूर्ण राष्ट्रको उन्नति र अभ्यूदयमा नै हामी प्रयत्नशील रहेका छौँ।

जनशक्ति (जनता)
१—देश भन्नुहोस चाहे राष्ट्र भन्नुहोस—त्यो भूगोल होइन, त्यो माटो होइन, त्यो यथार्थमा जनता हो। जुन कुराले जनताको हित हुन्छ त्यही कुरो देश हितको कुरो हो। जनताको अधिकार हनन् देशको अधिकार हनन् हो।

२—राजनैतिक अधिकारबाट बञ्चित भएको नागरिक राष्ट्रको नागरिक हुँदैन। त्यो शोषित दलित रैति हुन्छ।नागरिक र रैतिमा धेरै फरक छ—यद्यपी दुबै एउटै देशका बासी भए पनि। नागरिक देशका समस्यालाई बुझ्ने, बुझ्न खोज्ने, चनाखो, आफ्नो अधिकार र जिम्मेवारीलाई बुझेको व्यक्ति हो। रैती निमुखो हुन्छ। त्यो अर्काको खटनमा हिँड्छ। उसलाई देशका प्रति न चाख हुन्छ, न अधिकारका प्रति जागरूकता। त्यो कुनै जिम्मेवारी लिँदैन, किनभने आज्ञा पालन गर्ने स्वभाव उसमा निर्मित भएको हुन्छ। नागरिकहरूबाट राष्ट्र बन्छ, रैतखीबाट बन्न सक्दैन।

३—नेपाल भनेको नेपालका ती गरीब जनता हुन्; जसको आङमा फाटेको र मैलो लुगा छ। टाउकोमा घेरा मात्र भएको टोपी छ। बिरामी परे ओखती-मूलो पाउँदैनन्। आफ्ना छोरा-छोरीलाई शिक्षा-दिक्षाको प्रबन्ध गर्न सक्तैनन्। जसलाई बिहान खाए बेलुका के खाउँ र बेलुका खाए बिहान के खाउँ भन्ने समस्या छ। तीनै गरिभ किसानको देश हो—नेपाल। ठूला-ठूला महलमा बस्ने र मोटरमा हिँड्ने त यहाँ १० प्रतिशत पनि छैनन्। तिनीहरू नेपाल होइनन्।


४—ठूला-ठूला महल र अट्टालिमा बस्नेलाई म जनता भन्दिन। त्यो त एक प्रतिशत पनि छैन जो मोटरमा हिँड्छ, राम्रो लगाउँछ र राम्रो खान्छ। जनता त गाउँमा बस्छन्।

५—अर्धनग्न हाम्रा निरीह जनता आफ्नो पुर्ख्यौली थलोमा जीविकाको केही उपाय नदेखेर प्राण रक्षाका लागि हिन्दुस्तानतिर पस्छन्।

६—जनताबाट म विश्वास चाहन्छु, आशा होइन। विश्वासमा सक्रियता, कर्मण्यता, सहउद्यमी, साख्यभाव परिलक्षित रहन्छ। आशा अकर्मण्यता र परमुखापेक्षी भावना हो।

७—मलाई नेपाली जनताले श्रेय दिन खोज्दछ भने एउटै कुरामा देओस् कि मैले देशभित्र, देशको सामर्थ्यलाई बुझेको रहेछु र देशको सामर्थ्यलाई मैले मुखरित गर्ने कोशिस गरेको रहेछु।



८—मलाई नेपाली जनतामाथि विश्वास छ। म राजनीतिमा लाग्ने थिइन यदि जनतामाथि विश्वास नभएको भए। यो देशको तकदिरमाथि मलाई यत्रो विश्वास नभएको भए म दश वर्ष जेलमा बस्दा र फाँसिको फन्दाको नगिच पुग्दासम्म म बाँची रहने थिइन।



९—जस्तोसुकै विद्वान्, प्रतिभाशाली, कार्यनिपुण भए पनि देशलाई चाहिएको नेतृत्ववर्गमा तिनले स्थान पाउन सक्दैनन्, जबसम्म तिनीहरूको जरो जनमानसमा पसेको हुन्न। नत्रभने सबै दार्शनिक या प्रोफेसर राष्ट्र निर्माता हुन्थे।

जनताको अधिकार र कर्तब्य१—जनताको अधिकारको अपहरणले राजनीतिमा दमनको रूप लिन्छ र त्यसले आर्थिक क्षेत्रमा शोषणको रूप लिन्छ। अर्थात् आर्थिक क्षेत्रमा भइरहेको शोषणको अन्त्य गर्न राजनैतिक अधिकार नभएको ठाउँमा सकिदैन; किनभने कसैले पनि शोषणका विरूध्द आवाज उठाउन राजनीतिक अधिकार हुनुपर्छ। जबसम्म अन्यायका विरूध्द लड्ने अधिकार कुण्ठित रहन्छ तबसम्म दमन कायम रहिरहन्छ।

२—जनतालाई विकास कार्यका लागि उत्प्ररित हुने राजनैतिक संस्थाहरू मध्ये एक मौलिक अधिकारको प्रत्याभूति हो।

३—मानिसलाई मानव अधिकारले नै मानिस हो भनेर स्थापना गर्दछ। बाँचेर मात्रै मानिस होइदैन। आफ्नो मानव अधिकारका साथ उसले बाँच्नुपर्छ भन्ने सिध्दान्तको मैले प्रचार गरेको हुँ। त्यसैले मौलिक प्रजातान्त्रिक अधिकारलाई मानिसको जन्मसिध्द अधिकार भन्दछन्।

४—जन अधिकारको अपहरणले राजनीतिमा दमन, अर्थतन्त्रमा शोषणको रूप लिन्छ। म यी दुबै कुराको विरूध्दमा छु।

सम्विधान
१—तेल पुगेको असल यन्त्रको लक्षण हो ध्वनिहीन हुनु सानो स्पन्दन बाहेक। त्यस्तै सम्विधानको सञ्चालित प्रक्रिया पनि स्वाभाविक हुनु पर्दछ कि त्यो बोधहीन नहोस् र साथै यति सरल कि त्यसको पाठ साधारण नागरिकका लागि पनि बोधगम्य होस्।

२—कुनै सम्विधानको अध्ययन गर्दा त्यसका चिसा अक्षरमुनि कुनै स्पन्दित भइरहेको न्यानो आत्मा छ कि छैन भनेर खोज्छु। अधिकारको दस्तावेजभन्दा इरादाको अठोट खोज्छु। अधिकारको कागजी रूपलाई मात्र प्राप्त गर्ने कसैको उद्देश्य रह्यो भने त्यसले कागजको खोष्टो मात्र पाउँछ।

आर्थिक विकास
१-—म कुनै आर्थिक विशेषज्ञ होइन तर जुन विकासले ग्रामीण जनतालाई पछाडी छोडिदिन्छ त्यो विकास विकास नै होइन। मेरो विचारमा शहरको सुविधामात्र हेर्ने, गाउँको वेवास्ता गर्ने विकास विकास हुनै सक्दैन। किनभने नेपाल गाउँ नै गाउँले बनेको देश हो।

समाजजवाद

१—समाजवाद भविष्यको लहर हो भन्ने हामीलाई लाग्छ। समाजवाद तेस्रो विश्व भनौं या असंलग्न विश्वको स्वाभाविक मित्र हो। समाजवादीको मियोमा बाँधिएनन् भने यो तेस्रो विश्वका देशहरू या त फासिष्ट सैनिक तानाशाहीतिर जान्छन या कम्युनिष्ट तानाशाही या कुनै सुधारविरोधी प्रतिक्रियावादी धार्मिक मौलिकतावादी तानाशाहीतिर। त्यसकारण हाम्रो तेस्रो विश्वका समाजवादीहरूका अघिल्तिर एउटा ठूलो चुनौती छ। आज समाजवादको आकर्षणको केन्द्रविन्दु यूरोपबाट हटेर तेस्रो विश्वमा पुगेको छ जहाँ समाजवाद जीवनको एउटा प्रेरणादायी आदर्श र विकासको नमुनाका रूपमा सान्दर्भिक बनेको छ। यदि नेपालको कुनै भविष्य छ भने, बाँच्ने एउटैमात्र उपाय त्यही हो। समाजवादका मुख्य दुइटा पोया छन्—१—राजनीतिक स्तरमा प्रजातन्त्र र २—आर्थिक क्षेत्रमा गरीब जनतालाई न्याय दिने विकास। यी दुईपक्ष बिना गरीबी उन्मूलन गर्छु भन्नु रा राजनीतिक स्वतन्त्रता ल्याउँछु भन्नु असम्भव कथा हाल्नु बराबर हो। यो केवल आदर्शको प्रश्न अथवा जीवनको उत्कृष्ट मूल्यमा विश्वास राख्ने प्रश्न मात्र होइन; यो जीवनमरणको प्रश्न हो।



२—समाजवादको एउटा मुख्य लक्ष छ जसले यस महान आन्दोलनलाई प्रेरणा दिन्छ। त्यो हो—समानता।समानता भनेको—राजनीतक तथा आर्थिक समानता। समानताका दुईटा पूर्वावश्था छन्—(१) समाज देँवि संरचना होइन। त्यो सुध्द भौतिक व्यवस्था हो।जसको उद्देश्य हो, समाजका सदस्यहरूको सर्वाधिक कल्याण र सुरक्षा। कल्याण र सुरक्षाको अर्थ शुध्द भौतिक छ आध्यात्मिक होइन। (२) समाजका सदस्यहरूको आकांक्षा र आवश्यकताहरू प्राय: समान हुन्छन्। अर्थात् सदस्यहरूको खाने, लाउने, बस्ने आवश्यकता प्राय: सबैको सामन हुन्छ। उनीहरूको कला या विज्ञानको वृत्ति पनि प्राय: समान हुन्छ। जसका लागि आफ्नो वृत्तिको विकास गर्न सबैले समान अवसर पाउनु पर्छ।



तानाशाह

१—कम्युनिष्टहरू तानाशाहीलाई मान्दछन्। सर्वहाराको तानाशाही उनीहरूको सिध्दान्त हो। म त्यसलाई मान्दिन।

२—तानाशाही व्यवस्थालाई प्रजातान्त्रिक संज्ञा दिने प्रयत्न गर्नु एउटा असत्यलाई अर्को असत्यले ढाकछोप गर्ने प्रयत्न मात्र हो।

३—निरंकुश व्यक्ति प्रारम्भमा जस्तो भए तापनि अवस्यंबावी रूपले विग्रँदै जान्छ। उदार निरंकुशता एउटा निरर्थक अभिव्यक्ति मात्र हो। त्यसोहुँदा कुनै कारणले पनि अधिकारच्यूत तानाशाहको भयङ्कर दुर्गति हुन्छ र एकपछि एक गर्दै उसका कुकृत्यको भण्डाफोर हुँदै जान्छ।

४—दलबिहीन वा एकदलीय व्यवस्था स्वेच्छाचारी हुन्छ, निरंकुश प्रवृत्तिको शासकले नागरिकहरूलाई यातना दिन्छ र मौलिक अधिकारको पूर्णरूपेण उपेक्षा गरेको हुन्छ।

अध्यात्म

१—धर्मको विरूध्दमा त म पटक्कै छैन, छँदै छैन। तर सबैलाई थाहा छ म धर्मको अभ्यास गर्दिन।

२—ईश्वर छ तर प्रचलित होइन जस्तो कि हाम्रो नियतिको निर्माताको रूप होइन। ……ईश्वर कवितामा हुन्छन्, ईश्वर सपनामा हुन्छन्। ईश्वरलाई विज्ञानको माध्यमले व्याख्या गर्न सक्नु हुन्न। भौतिक आधारमा व्याख्या गर्न सक्नु हुन्न। ईश्वर भन्नु एक आध्यात्मिक अनुभव हो।


३—माटोले मानिसलाई यथार्थवादी र जलले भाववादी बनाउँछ। अनि मान्छे कहिल्यै पनि नसिध्दिने कौतूहलको विषय बन्न जान्छ।

४—मानिसलाई खान पाएर मात्र पुग्दैन। जीवनका अरू पक्षहरू छन् जो महत्वपूर्ण छन्, सायद बढी महत्वपूर्ण। ती रहस्यहरूको तपाईंलाई अनुभव भएको छैन भने या तीनबाट चकित हुनुभएको छैनभने तपाईंले जीवन पूर्ण रूपमा बाँच्नु भएन।

५—मलाई देवताले केही अनुकम्पा गर्लान भन्ने त्यस्तो लाग्दैन। मे देख्दछु कति साना बच्चाहरू मरिरहेका छन्। आमाहरूले कल्पेर कति देवताहरूको प्रार्थना गरेका होलान्। कतिको दुलाहा मरेका होलान्। घर बरवाद कतिको भयो होला। ती सब कुराहरू देख्दा भने मलाई ईश्वरको विशेष अनुकम्पा हुन्छ भन्ने लाग्दैन।

६—मानिसको जुन संकट छ—मानसिक होस् वा अध्यात्मिक, त्यसको निवारण उसको आत्मवलमा छ। सानो एउटा संकटले कतिलाई छटपटाएर मारिदिन्छ। कोही मान्छे त्यो संकट माथि विजय प्राप्त गर्छ। ……दैवी शक्ति भन्ने कुरा त्यसबाट नि:सृत हुन्छ।

७—मैले कुनै मन्दिरमा गएर मलाई यसो गरिदेऊ भनेको छैन। त्यसमा मलाई पत्यारै छैन किनभने म भन्दा पनि बेसी खाँचो भएका मानिस त्यहाँ पुगेका छन् र उसमा पूरा भरोसा पनि गर्छन्। मैले त्यो देखिरहेको छु भने मेरो कुरा किन पूरा हुन्छ ? त्यसोहुनाले म भन्दा पनि भन्दिन। तर मन्दिरमा जाँदाखेरी मलाई एउटा सम्वेदनशीलताको, अर्काका प्रति एउटा करूणाको भाव जागृत हुन्छ। त्यो नै मलाई लाग्दछ—मेरा निम्ति मन्दिरको त्यो महत्व छ। मन्दिरमा जान्छु म तर देवताबाट कुनै आशा गरेर जान्न तर म त्यहाँको वातावरणबाट केही न केही प्राप्त गर्दछु।

साहित्य र कला र संस्कृति

१—कुनै पनि कला मर्यादित हुँदैन। आफ्नो मर्यादा यसले आफैँ सृजना गर्छ।


२—साहित्य सभ्यताको प्रतिक हो।


३—संगित र भावको सममिश्रणबाट जन्मेको उच्चतम दर्शन नै साहित्य हो।



४—सहित्य जीवन जस्तै व्यापक छ। यथार्थमा समग्र जीवनको प्रतिविम्व नै साहित्य हो।



५—मेरो साहित्यिक उद्देश्य नियम बनाउने नभएकाले त्यसमा इन्साफको खोजी गरेमा त्यो त्यहाँ पाइने छैन।



६—साहित्यमा सम्राट पनि नाङ्गो हुन्छ।


७—जीवनका अनन्त ज्वालाबाट टिपेको शब्दमा बाँधिन सकेको भावको नाजुक फिलिंगो हो—कविता। जसले कुनै निहित अर्थको संकेत हाम्रो अन्तर चेतनामा झल्काउँछ।


८—लेखकको स्वतन्त्र अभिव्यक्ति माथि भाषिक विद्वता छाँटिनु उपयुक्त होइन किनभने स्वतन्त्र अभिव्यक्ति माथि भाषिक विद्वता छाँटिन थालियो भने भाषा र साहित्यको विकास अवरूध्द हुन्छ।

९—कला, साहित्य मानिसको अन्तर्प्रेरणा प्रवृत्तिको अभिव्यक्ति हो। कला सुरक्षा चाहँदैन, स्वतन्त्रता छाहन्छ। उसलाई हिँडिसकेको बाटोमा खुट्टा चाल्न मन लाग्दैन। आफूले हिँड्ने बाटो आफै बनाउन चाहन्छ। भौतिक तृप्तिभन्दा दैवी असन्तोषलाई ऊ अँगाल्छ। फ्रायडको सिध्दान्तलाई म मान्दछु तर अझ अघि बढेर म आज नैतिकत (Morality) मा पुगेको छु।


१०—म राजनीतिको मत साहित्यमा राख्न बिल्कुलै रुचाउँदिन। राजनीतिको घेरा साँगुरो छ—कानूनको निर्देशनमा, नियमवध्दतामा बाँच्छ र साहित्य विराट् शास्ततामा। राजनीति चारैतिरबाट बन्द छ र कला चारैतर्फ खुला।


११—राजनीतिमा म अन्तर्प्रेरणाले उकासिएको छु भने साहित्यमा ठीक विपरित अन्तर्प्रेरणाले। म राजनीतिमा समाजवादी हूँ भने साहित्यमा अराजकतावादी।


१२—भाषा व्याकरणका अधिनमा रहनु हुँदैन किन कि व्यकरण पनि राजनीति जत्तिकै अग्राह्य छीज हो। भाषा जति उन्मुक्त रहन्छ त्यति नै त्यो गतिशील रहन्छ।


१३—म युनिभर्सल कल्चर (विश्व संस्कृति) मा विश्वास गर्दछु।


१४—कसैको शिरमा कालो टोपी छ कि छैन भन्ने कुराले कुनै अर्थ राख्दैन। यथार्थमा संस्कृति भनेको मानवको व्यबहार हो।


१५—समालोचक हुन पर्याप्त ज्ञान र सीपको आवश्यकता हुन्छ।


१६—लक्ष्मीप्रसाद देवकोटा अभावमा पनि रसरङ्ग देख्ने, गरीबीमा पनि धनीपन देख्ने सर्वव्यापी भावना भएका हुनुहुन्थ्यो। देवकोटाको सम्वेदनशीलता व्यापक छ ।

साभारः सशाँक कोइराला ।