कोरोना फाइटर’ डा. नितु भन्छिन्– हामी नलडे को लड्छ ?

यस्तो छ भरतपुर कोभिड ल्याव को कथा

९ असार, चितवन । २९ वर्षे युवावस्था । झट्ट हेर्दा कसैले पनि भन्दैन कि डा. नितु अधिकारी कोभिड विरुद्धको युद्धकी कमाण्डर हुन् । चैत २४ गतेबाट डा. नितुले सम्हालेको कोभिड ल्याबले साढे दुई महिनाको अवधिमा करिब ६ हजार बढी स्वाब परीक्षण गरेको छ । तीमध्ये १०६ जनामा संक्रमण पुष्टि भएको छ । आफूभन्दा कयौं वर्ष अनुभवी पाका प्राविधिकहरुको नेतृत्व गर्दै उनीहरूको विश्वास जितेर कोभिड ल्याब हाँकीरहेकी छन् डा. नितुले ।

भरतपुर महानगरपालिकाको पहलमा स्थापना गरिएको ल्याब चैत २४ गते भरतपुर अस्पतालले जिम्मा लिएपछि स्वाभाविक रुपमा त्यसको नेतृत्व गर्ने अवसर, चुनौती दुवै आयो अस्पतालकी माइक्रोबायोलोजिष्ट डा. नितु अधिकारीलाई ।

ल्याबको प्राविधिक कामको अलावा व्यवस्थापकीय कमी कमजोरी नहोस् भनेर उनी उत्तिकै सजग रहन्छिन् । ल्याबमा काम गर्ने आफ्नो टिमका सदस्यहरुको सुख दुःख बुझ्ने, उच्च सम्मान गर्ने, हौसला बढाउने, व्यवस्थापनका लागि आवश्यक सामाग्री जुटाउन उनी आफैं कुद्छिन् ।

टेकुको केन्द्रीय प्रयोगशालासँगको समन्वयदेखि भरतपुर अस्पतालका पदाधिकारीहरुसँग निरन्तर संवाद, छलफल, योजना बनाउने काममा समेत उनको दिन बित्छ ।

यसबाहेक हिजोआज उनको टाउको दुखाइको अर्को विषय बनेको छ, विना जानकारी विभिन्न जिल्लाबाट पठाइने स्वाब । सरकारले तोकिदिएको निर्देशिका र गाइडलाइनभन्दा बाहिर गएर स्वाबहरु संकलन गरी पठाउने र छिटो परीक्षणका लागि दबाव दिने क्रम बढेकाले उनी हैरान छिन् ।

निजी अस्पताल र मेडिकल कलेजहरूले समेत अप्रेशन गर्नुअघि बिरामीको कोरोना परीक्षणका लागि स्वाब पठाउने गरेका छन् । राजनीतिक दवाव र सोर्सफोर्स पनि उत्तिकै आउँछ । तर, त्यसलाई पनि बिस्तारै पचाउँदै सबैको विश्वास जित्दै काम गरिरहेकी छिन् डा. अधिकारीले ।

उमेर सानै भए पनि महत्वपूर्ण जिम्मेवारी पाएकाले आफू निकै सम्हालिएर काम गरिरहेको डा. अधिकारी बताउँछिन् । घर परिवार छाडेर महिनौंदेखि क्वारेन्टिनमा बसेका प्राविधिक कर्मचारीहरूले आराम गर्ने अवस्था पनि छैन ।

उनको नेतृत्वमा रहेको ल्याबमा चितवन मेडिकल कलेजबाट रोशन मिश्र र रुशन पिया, क्यान्सर अस्पतालका प्रदीप हमाल र दीपक सुवेदी, स्वास्थ्य कार्यालय भरतपुरका विश्वास गौतम, भरतपुर अस्पतालका मनिराम महतो, सुमित्रा पौडेल र सुरेश खतिवडा गरी नौ जना प्राविधिक तथा दुई जना सहयोगी कर्मचारी खटिरहेका छन् । विहान ९ बजेबाट राति एक/दुई बजेसम्म लगातार ल्याबमा काम भैरहेको हुन्छ ।

सुरुवाती दिनमा स्वाब पनि कम संकलन हुने हुँदा खासै चाप थिएन । तर पछिल्ला दिनमा भने व्यस्तता बढेको छ । सकभर कसैको पनि पोजेटिभ रिपोर्ट नआओस् भनेर हरेक दिन बिहानको कामना गर्दै आफूहरुले काम सुरु गर्ने गरेको स्मरण डा. अधिकारी गर्छिन् । तर, कहिलेकाहीँ सोचेभन्दा धेरै मानिसहरूको पोजेटिभ रिपोर्ट आउँदा मन खिन्न हुन्छ । पोजेटिभ केस आउनु भनेको ल्याबका कर्मचारीले थप दुःख पाउनु पनि हो ।

क्वारेन्टिनमा राखिएका व्यक्तिहरूको छिटो परीक्षण होस् भनेर पुलमा राखेर चेक गर्ने गरिएको छ । एकपटकमा पाँच/पाँच जनाको हाल्ने गरिन्छ । त्यसमा कुनै पोजेटिभ आएमा फेरि एक–एक गरेर परीक्षण गर्दा निकै समय लाग्छ । एउटा नमूनाको परीक्षण गर्दा ८ देखि ९ घण्टासम्म लाग्ने डा. अधिकारीले बताइन् । बेग्लाबेग्लै परीक्षण गर्दा समय र रिएजेन्ट थप खर्च हुन्छ । ल्याबको क्षमता कम छ । सीमित स्रोत र साधन छ, तर जिम्मेवारी र भूमिका गहन छ ।

‘दिनहुँ औसत तीन सयभन्दा बढी स्वाब परीक्षण गरिरहेका छौं, विहानदेखि राति अबेरसम्म निरन्तर लागिरहेका छौं, न त खानाको ठेगान छ, न त सुत्नको,’ डा. नितु भन्छिन् ‘बाहिरको संसार कस्तो छ भनेर नदेखेको कयौं दिन हुन लाग्यो ।’

‘हामीले नलडे को लड्ने ?’

भरतपुर अस्पतालको प्रयोगशाला प्रमुख भएकै कारण डा. अधिकारीलाई नै कोभिड ल्याबको कमाण्ड सम्हाल्ने अवसर मिल्यो । सुरुमा अस्पतालले कोभिड ल्याब प्रमुखको पत्र दिएपछि उनलाई कताकता मनमा डर पनि लाग्यो । मनमा अनेक कुरा खेले । तर, उनले सोचिन् आखिर यो संकटमा हामी नलडे को लड्ने ? उनलाई श्रीमान डा. रञ्जन भट्टले पनि हौसला प्रदान गरे । प्राप्त जिम्मेवारीबाट दायाँबायाँ गर्ने ठाउँ पनि थिएन । भाग्ने कुरा पनि थिएन । ‘जोखिम त छँदै छ, तर देश र जनताका लागि केही गर्छु भन्ने भावना र अठोट पैदा भयो,’ आत्मविश्वासी हुँदै डा. अधिकारीले भनिन्, ‘कोरोनासँग लड्न गोली र राइफल दिएर सेना पठाएर त हुँदैन, हामीले नै लड्नुपर्दछ, त्यसैले हामी यो अर्को युद्धमा होमियौं ।’

उनलाई हौसला र ऊर्जा प्रदान गर्ने कामसमेत सबैतिरबाट भयो । सबैको साथ पनि उनले पाइन् । परिवार तथा साथीभाइको हौसलाले उनलाई प्राप्त जिम्मेवारी सानो उमेरमा प्राप्त अवसर जस्तो लाग्यो । निकै कष्ट सहेर देश र जनताका लागि काम गरिरहेकोमा गर्व महसुस भएको उनी बताउँछिन् ।

यहाँ काम गर्ने प्राविधिक कर्मचारीहरूको पीडा निकै दुःखदायी छ । विहान आएर पीपीई लगाएपछि एकपैटक राति मात्रै खोल्छन् । पीपीई लगाएको कारण दिसा पिसाब गर्न निकै कठिनाइ हुन्छ । हिँजोआज भने डाइपर लगाएर काम गर्न थालेका छन् । पिसाब आए त्यसमै गर्छन् ।

श्रीमानको साथ

चितवनमै जन्मिएकी नितुले नेपालगञ्ज मेडिकल कलेजबाट एमबीबीएस र धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट माइक्रोबायोलोजी र संक्रामक रोगमा एमडी गरेकी छन् ।

स्वास्थ्य मन्त्रालयबाट करारमा डेढ वर्षअघि नियुक्ति पाएर भरतपुर अस्पतालमा कार्यरत डा. अधिकारीका श्रीमान डा. रञ्जन भट्ट भरतपुर क्यान्सर अस्पतालको प्रयोगशाला प्रमुख हुन् ।

दुवैजनाको विषय पनि मिल्ने पेशा पनि एउटै भएकाले समस्याहरु सहजै बुझ्नै र काम गर्ने ऊर्जा प्रदान गर्ने गरेको डा. अधिकारी सम्झन्छिन् ।

घरमा बच्चा नभएकाले उनलाई काम गर्न केही सहज भएको छ । ल्याबमा काम गर्ने अन्य प्राविधिकहरुलाई भरतपुर अस्पतालले नजिकैको होटल ग्लोबलमा राख्ने व्यवस्था गरेको छ । तर, उनी भने श्रीमानलाई क्यान्सर अस्पतालले प्रदान गरेको क्वाटरमा नै बस्ने गर्छिन् ।

‘मलाई केही सहज छ, श्रीमान पनि एकै फिल्डको हुनुहुन्छ, घरमा बालबच्चा र बुढाबुढी पनि छैनन् त्यसैले हामीसँगै बस्छौं,’ उनले भनिन्, ‘श्रीमानले केही सहयोग र सल्लाह सुझाव पनि दिनुहुन्छ, परीक्षण, सुरक्षा, व्यवस्थापन लगायतका विषयमा पनि कुरा हुन्छन् ।’

ल्याबको काम सकेर राति जुनसुकै बेला भए पनि क्वाटरमा नै जाने गरेको डा. अधिकारीले बताइन् । ‘ल्याबदेखि क्वाटरसम्मको दुरी झण्डै पाँच किलोमिटर होला, म लेडिज मान्छे, जान डर लाग्छ, तर के गर्नु,’ डा. अधिकारीले भनिन्, ‘डर लागेर गाडी कुदाएर भाग्छु, सुरक्षाको प्रत्याभूति भएन ।’

राति जति अबेर भए पनि उनी विहान उठेर श्रीमानलाई खाना पकाएर छाडेर फेरि ल्याबमा आउने गरेको बताउँछिन् । बेलुका श्रीमानले पकाएको खान्छिन् । ‘बिहान घरमा खासै केही खान मन लाग्दैन, ल्याबमा आएर दिउँसो तीन बजेतिर खाजा खान्छु त्यसपछि एकैपटक राति घरमा पुगेर खाने हो,’ डा. अधिकारीले भनिन् ।

उनका श्रीमान डा. रञ्जन पनि श्रीमती कहिले आउँछिन् भनेर खाना कुरेरै बसिरहेका हुन्छन् । डा. भट्ट भन्छन् ‘दिनभरि कामले थाकेर आएको हुन्छ, मैले सपोर्ट गर्छु, हौसला र ऊर्जा दिन्छु ।’

क्यान्सर अस्पतालको ल्याब प्रमुख भएकाले व्यवस्थापनका कामहरु सिकाउने गरेको डा. भट्टले बताए । ‘देश र जनताप्रतिको गहन जिम्मेवारी हाम्रो काँधमा आएको छ, धेरै मान्छे यही रिपोर्ट कुरेर बसिरहेका हुन्छन्, जनताका लागि काम गर्दा थप जिम्मेवारीवोध गराउँछ,’ डा. भट्ट भन्छन् ।

ल्याबमा काम गरेदेखि डा. नितु माइतसमेत जान पाएकी छैनन् । ‘बुवा सुगरको रोगी हुनुहुन्छ, माइत जान पनि डर लाग्छ,’ उनी भन्छिन्, ‘बुबाले अनुहार मात्रै भए पनि हेर्छु छोरी आऊ न भन्नुहुन्छ, कहिलेकाहीँ भिडियो कल गर्छु ।’

क्षमता विस्तार आवश्यक

सुरुमा कोरोना परीक्षणका लागि काठमाडौंको टेकुमा पठाउनुपर्ने बाध्यताको अन्त्य मात्रै भरतपुर कोभिड ल्याबले गरेको छैन, अन्य जिल्लाका स्वाबहरु समेत परीक्षण गर्दछ ।

सुरुमा खास गरी चितवन र यस आसपासका जिल्लालाई मात्रै लक्षित गरेर कोभिड ल्याब स्थापना गरिएको भए पनि अहिले चितवन, नवलपरासी, धादिङ, कपिलवस्तु, पर्वत, अर्घाखाँची, बाग्लुङ, मकवानपुर, सल्यान लगायतका ११ जिल्लाबाट संकलन गरी ल्याइएका स्वाब परीक्षण हुँदै आएका छन् ।

भरतपुर अस्पताल मातहत रहेको ल्याबमा अहिले झण्डै आठ सय भन्दा बढी स्वाब परीक्षणका लागि पालो कुरिरहेका छन् । ‘दिनमा ३ सयभन्दा बढी टेस्ट गर्न सक्ने अवस्था छैन, क्षमता नै कम छ जनशक्ति पनि अभाव छ,’ डा. अधिकारीले भनिन्, ‘स्वाब राख्न मिल्ने अवस्था पनि छैन ।’ प्रयोगशालामा सुरुमा किनिएको एक मात्रै फ्रिज सानो भएको छ । दैनिक दुई सयजति नमूना थपिन्छन् । फ्रिजमा ४ देखि ८ डिग्री सेन्टिग्रेडको तापक्रममा स्वाब राख्ने गरिन्छ ।

ल्याबमा नमूनाको चाप बढ्दै गएसँगै तनाव पनि बढ्दै गएको छ । एकातिर प्राविधिक कम छन् भने अर्कोतिर स्रोत साधानको अभाव हुन थालेको छ ।

ल्याब प्रमुख डा. अधिकारीले कामको चाप निकै थपिएकाले यही अवस्थामा कहिलेसम्म काम गर्न सकिन्छ भन्ने कुरा महत्वपूर्ण भएको बताउँछिन् । ल्याबमा काम गर्ने कसैले पनि सामान्य आरामसमेत गर्न पाएका छैनन् । ‘कुनै साथी, कुनै कारणले बिरामी भए समस्या थपिँदै जान्छ, धपेडी र तनाव छ,’ डा. अधिकारी भन्छिन्, ‘ल्याबलाई दुई सिफ्ट गराउने बारेमा पनि सोच्नुपर्छ होला अब ।’

ल्याबका आफ्नै दुःख पनि छन् । जसोतसो एडजस्ट गर्दै प्राविधिकहरुले सीमित स्रोत र साधानमा काम गरिरहेका छन् ।

फ्रिजको क्षमता विस्तार, पीसीआर मेसिन थप, सेफ्टी क्याबिनेट थप गरिनुपर्ने डा. अधिकारी बताउँछिन् । अहिले ल्याबमा एनपीएचएलले दिएको बीएसएल २ बी क्याविनेट छ । परीक्षण गरिएका स्वाबलाई समेत सुरक्षित तरिकाले राख्नुपर्ने भएकाले तत्कालै क्षमता बिस्तार गर्नुपर्ने डा. अधिकारीको भनाइ छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालयको निर्णयले मुलुकलाई राजनीतिक दुर्घटनातिर लगेको

८ असार, काठमाडौं । नेपाली कांग्रेसका सांसद जीतेन्द्रनारायण देवले अंगीकृत नागरिकताका विषयमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालयको निर्णयले मुलुकलाई राजनीतिक दुर्घटनातिर लगेको बताएका छन् ।

सोमबार राष्ट्रिय सभाको बैठकमा बोल्दै कांग्रेस सांसद देवले नेकपाको निर्णय अत्यन्त अदूरदर्शी, अपरिपक्व, मुलुकमा साम्प्रदायिक दङ्गा भड्काउने र प्रकारान्तरले मुलुकलाई नै विभाजनमा लैजाने खालको भएको टिप्पणी गरेका हुन् ।

गत शनिबार नेकपा सचिवालय समितिको बैठकले नेपाली नागरिक पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्र नागरिकता दिने निर्णय गरेको थियो । नेकपाको उक्त निर्णयअनुसार नै प्रतिनिधि सभाको राज्य व्यवस्था समितिले नेपाली पुरुषसँग बिहे गरेकी विदेशी महिलालाई ७ वर्षपछि मात्र नेपाली नागरिकता दिने व्यवस्था राखेर नागरिकतासम्बन्धी विधेयक बहुमतले पास गरेको छ।

तर कांग्रेस नेता देवले यो विषयले मुलुकलाई मुठभेड र गम्भीर राजनीतिक दुर्घटनातिर लैजाने बताए । नागरिकताको उक्त प्रावधानको विरोधमा वीरगञ्जदेखि राजविराजसम्म प्रदर्शन भइरहेको भन्दै नेता देवले कांग्रेस र मधेशवादी पार्टीलाई हेप्ने रणनीतिले दुर्घटना निम्त्याउने बताए ।

‘नेपाली कांग्रेस र अन्य मधेशवादी पार्टीलाई तपाईं‌हरू यसरी हेप्ने, नेपाली कांग्रेस, मधेशवादी दललाई हेपेर तपाई‌ं एक्लै यो देश सञ्चालन गर्न, सम्भव हुन्छ ?’ उनले भने ‘पोलिटिकल एक्सिडेन्ट हुन्छ । सहमति नतोड्नुस् ।’

२०६३ सालमा तत्कालीन मधेशवादी दल, एमाले, माओवादी र नेपाली कांग्रेसबीच राष्ट्रिय सहमतिका आधारमा नागरिकता ऐन बनेको भन्दै उनले अहिले एक्कासी यसलाई उल्ट्याउन नहुने देवले बताए ।

‘तपाईंहरू गलत बाटोमा जानुभएको छ । तपाईंहरूलाई लाग्दो हो । नयाँ जनवादी क्रान्तिको बेला आइसक्यो । चिनियाँ मोडलको समाजवाद स्थापना गर्ने बेला आइसक्यो । अब संविधान जेसुकै होस्’ उनले भने ‘तपाई‌ंहरूको निर्णय मस्ट एक्स्ट्रिमिस्ट (उग्रवादी) हो । तपाईंहरू उग्रवादमा फस्दै हुनुहुन्छ । तपाईंहरू अत्यन्त अपरिपक्व बाटोमा जाँदै हुनुहन्छ ।’

नेता देवले अगाडि भने, ‘मुलुकमा आगो लगाउने काम कांग्रेस र अन्य सबै पार्टीहरूसँग भिड्ने काम, मुलुकलाई बन्दी बनाएर सामन्तवादीहरूलाई मलजल गर्ने काम गर्दै हुनुहुन्छ ।’

नेता देवले यो निर्णयमा पुनर्विचार गर्न नेकपा नेताहरूलाई आग्रह गरे । ‘नभए भोलि कम्युनिस्ट एकातिर कांग्रेस र मधेसवादी अर्कोतिर भएर मुलुकलाई राजनीतिक ध्रुवीकरणमा लैजाने मुठभेड गराउने र प्रकारान्तरले संघीय लोकतान्त्रिक गणतन्त्रलाई पल्टाइदिने दुर्घटनामा लगिदिने काम तपाईंहरू नगर्नुस् ।’

कम्युनिस्ट पार्टीले नेपालले भारत र चीनसँग समदुरीमा सम्बन्ध राख्ने भने पनि यो निर्णयले चीनतर्फ ढल्काएको नेता देवले बताए ।

‘तपाईंहरूको २ वर्षको क्रियाकलापमा तपाई‌ंहरू समदुरीको सिद्धान्तमा रहनुभएन । तपाईं‌हरूको फरेन पोलिसी एकपाखे भयो। एउटा छिमेकीतिर तपाईंहरू लैजाँदै हुनुहुन्छ’ उनले भने ‘तपाईंको पार्टीले लानोस् हामीलाई भन्नु केही छैन, तपाईं‌हरू ५० चोटी मिटिङ गर्नुस् चिनियाँ कम्युनिस्ट पार्टीसँग हमीलाई भन्नु केही छैन । तर यो राष्ट्रचाहिँ समदुरीकै सिद्धान्तमा जानुपर्छ । चीन र भारतसँग मित्रताको सम्बन्ध कसैलाई अगाडि/पछाडि गर्नुहुन्न ।’

नेकपाको निर्णयले २००७ सालदेखि नेपालमा स्थापित परराष्ट्र सम्बन्धमै प्रहार भएको नेता देवले बताए । सत्तारुढ दलले नेपाललाई चीनको क्याम्पमा लगेको सन्देश प्रवाह भइरहेको पनि उनले बताए।

‘२००७ सालदेखि फरेन पोलिसीको फन्डेसनमा सत्ताधारी पार्टीले एकपछि अर्को प्रहार गर्दै लगेको छ’ उनले भने ‘अब हामी चिनियाँ क्याम्पमा गयौं भन्ने म्यासेज गइरहेको छ । के यो ठिक भइरहेको छ । यसले यो मुलुकको डेमोक्रेसीलाई संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो गर्छ । हाम्रो आन्तरिक राष्ट्रवादलाई बलियो गर्छ ?’ उनले भने ।

नेपाल र भारतबीच सदियौंदेखि सा‌ंस्कृतिक सम्बन्ध रहेको भन्दै यसमाथि आक्रमण नगर्न पनि नेता देवले सचेत गराए । ‘राजनीतिक भनेको माइन्डले चल्छ, तर कल्चरल रिलेसन हर्ट टु हट हुन्छ, हृदयको सम्बन्ध हो त्यो । कसैको संस्कृतिमाथि आक्रमण गर्ने तपाईंलाई कुनै अधिकार छैन’ उनले भने ।

कम्युनिस्ट पार्टीभित्र बिहार र उत्तर प्रदेशमा नेपालका मधेशी समुदायको सम्बन्धले गर्दा उताबाट आउने बुहारीले नेपालको राष्ट्रियता खतरामा परेको भन्ने व्याख्या हुने गरेको नेता देवले बताए ।

‘त्यसैले नेपालको राष्ट्रियतालाई बचाउनका निमित्त बिहार र यूपीसँग नेपालका मधेशीहरूको वैवाहिक सम्बन्धलाई प्रकारान्तरमा योजनाबद्ध र व्यवस्थित ढंगले बिस्तारै बिस्तारै तोड्नुपर्छ समाप्त गर्नुपर्छ भन्ने नेकपाको मान्यता हो’ उनले भने ।

नेपाल र भारतको सम्बन्ध कुनै पार्टीले स्थापना नगरेको भन्दै नेता देवले जबरजस्ती बिहेबारी रोक्ने हिसाबले अघि बढ्नु राजनीतिक दुर्घटना निम्त्याउनु भएको उनले बताए ।

‘बाई फोर्स भारतसँगको सम्बन्ध कट गर्ने भन्ने मानसिकता पालेर चिनियाँको झोलामा नेपाललाई लैजाने भन्ने मानसिकता पालेर क्लासिकल आइडोलोजीको आधारमा जुन काम गर्दै हुनुहुन्छ । भोलि राजनीतिक दुर्घटना भयो भने तपाई‌ंहरू मिलेरसँगै जेल जानुपर्छ’ नेता देवले भने ।

बिहार र यूपीसँगको वैवाहिक सम्बन्ध तोडेर नेपालको राष्ट्रियता बलियो हुन्छ भन्ने चिन्तन खोक्रो राष्ट्रवादी भएको उनले बताए । ‘यो निर्णय एन्टी नेसनालिज्म, एन्टी मधेशी नेस्नालिजममा आधारित छ । यो प्रगतिशील पार्टीले राख्ने मानसिकता होइन, मार्क्सवादी, लेनिनवादी अन्तर्राष्ट्रियवादी कम्युनिस्टले राख्ने मानसिकता होइन, त्यो मानसिकता अत्यन्त मण्डलेवादी राष्ट्रवाद हो’ नेता देवले भने।

नेपालीको विलासी राष्ट्रवाद : जन्म र मृत्यु संस्कारदेखि श्राद्धसम्म भारतकै भर !

दीपकराज जोशी

नवाफी रवाफी कवाफी छ नेता,
विलासी गिलासी सुवासी विजेता ।
प्रजातन्त्रको ढ्वाङ रित्तो करायो,
जमाना अनौठो नयाँ आज आयो

– महाकवि लक्ष्मीप्रसाद देवकोटा
 
कुनै बेला देवकोटाले लेखेको पंक्ति अहिले झनै सार्थक  भएको छ । म ‘भिगन’ भएकाले माछामासु, दुग्धजन्य पदार्थ र जनावरबाट आएको कुनै पनि उत्पादन प्रयोग गर्दिनँ । जसले खान्छ, प्रयोग गर्छ त्यसलाई म घृणा पनि गर्दिनँ ।


सकभर मासुजन्य पदार्थ नखानू, कम खानू वा खानै पर्ने भए आफ्नै देशमा उत्पादन भएको मात्र खानू । मेरो यो आलेखमा आएको अभिव्यक्ति भिगन परिप्रेक्ष्यमा आधारित छ ।

नेपालीले गत वर्ष भारतबाट आयातित २ अर्ब ६५ करोड १८ लाख ८५ हजार रुपैयाँ बराबरको खसी तथा बोकाको मासु, १ करोड १५ लाख ७१ हजार रुपैयाँ बराबरको राँगाको मासु र १७ लाख ७९ हजार रुपैयाँ बराबरको भेडा तथा च्यांग्राको मासु खाए ।


करीब २७ अर्बको तेलमा मासु भुट्नुपर्‍यो । तेलमा भुटेर, तारेर मात्र कहाँ हुन्छ र ? मासु पकाउन ४ अर्ब ८५ करोडको प्याज, ३० करोडको गोलभेडा, ४३ करोडको कागती, ६१ करोडको लसुन, ८ करोडको अदुवा, १६ करोड ७६ लाखको बेसार, १७ करोड १३ लाख बराबरको तोरी पनि भारतबाटै आएको हाल्नुपर्‍यो । 

उता मासु पाक्दै, चाख्दै गर्दा टेलिभिजनमा इन्डियन कार्यक्रम पनि हेर्नुपर्‍यो । मासु मात्रै खाँदा त मज्जा आउने कुरा भएन । विदेशबाट आयात गरेको करीब २२ अर्ब जतिको मदिरा पनि पिउनुपर्‍यो । मदिरा पिउँदै झण्डै १२ करोड ६१ लाख रुपैयाँ बराबरको १ करोड ११ लाख प्याकेट आयातित तास पनि खेल्नै पर्‍यो ।

बुद्धको देशमा अहिंसामा विश्वास गर्ने हामीले मासु त खायौं तर बाहुन भएर जातै फाल्नु त भएन, त्यसैले  जनैपूर्णिमा १ अर्ब बराबरको आयातित जनै पनि लगाउनै पर्‍यो ।

ताजा तथ्यांक त थाहा भएन तर केही वर्षअघि वर्षको ६४ करोड १० लाख रुपैयाँ बराबरको खुर्सानीले जिब्रो पिरो पनि नबनाएको होइन । यो त भयो मासु खानेको कुरा । 

गुन्द्रुक खाने पनि कहाँ कम छौं र ? आर्थिक वर्ष २०७५/७६ मा १ अर्ब २१ करोड ९२ लाख ७० हजार रुपैयाँ बराबरको गुन्द्रुक आयात गरेर पनि खाएकै हो । त्यति मात्रै कहाँ हो र ? सुपारी, ल्वाङ, सुकमेल पनि भारतबाटै आएको खाइयो । त्यसपछि खाएको मासु अपच हुन्छ कि भनेर भारतबाटै आउने हजमोला पनि खाइयो । मासु पचेपछि बाँकी कामका लागि ट्वाइलेटमा भारतमै बनेको कमोटमा बसरे भारतबाटै आएको ट्वाइलेट पेपरले आची पनि पुछियो ।

बोर्डर पारिको हजामले चलाएको सैलुनमा गएर आफूलाई चिटिक्क बनाएर नयाँ हिन्दी फिल्ममा करिना कपुरले लगाएको जस्तै लेहङ्गा लगाएर करीब १ अर्ब ८६ करोड बराबरको आयातित कस्मेटिक्सले सजिएकी पत्नी/प्रेमिकालाई सरर इन्डियन मोटरसाइकल र कारमा राखेर फिल्म हलमा गई नेपाली फिल्म हेर्न लायक नै छैन भन्दै ‘फस्ट डे फस्ट शो’ हिन्दी फिल्म हेर्न पनि छुटाइएन । 

आजकलको फिल्म हेरेर घर फर्केपछि रोमान्टिक मूडलाई लगाम लगाउन त सक्ने कुरा भएन । त्यसैले १३ करोड ५३ लाख रुपैयाँ बराबरको आयातित  कण्डम प्रयोग गरेर रोमान्टिक मूडलाई तृप्त पनि पारियो । जसले कण्डम प्रयोग गरेन, उसले फेरि ९ महिनापछि बच्चाका लागि ४ अर्ब ६६ करोड बराबरको आयातित खाना र दूधलाई नकार्न पनि  सक्ने भएन ।
 
बिहान पकाएको मासु टन्न खाएपछि सोफामा लम्पसार पल्टिएर राष्ट्रवादको नाममा प्रशान्त तामाङ, अर्थर गन अरू थुप्रैलाई पटक–पटक भोट हालेर आफूलाई नेपाली हुँ भनेर चिनाउन पनि पछि परिएन तर जनकपुरमा बस्ने तराईबासी, जसले पुस्तौंदेखि  आफ्ने देशमा खेतीकिसानी गर्दै केही हदसम्म भए पनि भारतीय आयात रोक्ने कोसिस गरिरहेको छ, उसलाई कहिल्यै पनि नेपाली हो भनेर मनले स्वीकार गर्न सकिएन ।


भारतबाट आयातित रङलाई चिनियाँ पिच्कारीमा हालेर फागु पूर्णिमामा पिच्कारी पनि हानेकै छौं । गुट्खा, पानपराग जस्ता अरू वस्तुको त कुरै नगरौं, बर्सेनि डेढ अर्बको मसला, ११ करोडको फूल आयात गरेर तिहार पनि मनाइरहेकै छौं । मरेर दाहसंस्कार गर्दा पनि करीब १ अर्ब बराबरको धूप भारतबाट आयात गरेर पनि प्रयोग गरिरहेकै छौं ।अरू देशको संगीत सुन्नु हुन्न, फिल्म हेर्नु हुन्न भन्ने पनि होइन तर आफ्नो संस्कृति, सामाजिक मूल्यमान्यता र अर्थ व्यवस्थालाई धरासायी बनाएर अरूलाई पोस्ने काम पनि त गर्नुभएन । पहिचान झण्डा, टोपी, सगरमाथा, बुद्धमा होइन, आत्मानिर्भरतासँग गाँसिएको हुन्छ ।

८ अर्ब ९७ करोड ८६ लाख रुपैयाँको वनस्पति तथा जैविक घ्यू, कफी तथा चिया ६ अर्ब ८६ करोड, वार्षिक ५० करोडको चुइगम, ५ करोड ४५ लाख रुपैयाँको टीका, टिकुली, ब्याङ्गल र पोते, २ अर्ब ४७ करोडको मेहन्दी, जमरा वार्षिक १ करोड २२ लाखको जौ, तिहारमा १ अर्ब ४६ करोडको मसला र ६१ करोड ५५ लाखको बत्ती आयात हुन्छ । हामी जन्मनु अघिदेखि मृत्यु संस्कार हुँदै श्राद्ध गर्दासम्म पनि अरुमा निर्भर गर्छौं ।

यी त केवल थोरै उदाहरण मात्र हुन् । वाह ! कस्तो विलासी जीवनशैली छ हाम्रो ! होइन त ? यही हो हामी नेपालीको तीतो यथार्थ । जसलाई हामीले मिठोसँग लिइरहेका छौं ।

त्यसपछि राष्ट्रियताको भूत सवार भयो हामीलाई अनि नेपाली टोपी लगाएर नेपाली झण्डासहित भारतीय विस्तारवाद मुर्दावाद भनेर फेसबूकमा स्टेट्स हालेपछि हामी नेपालीलाई कसले छुने ? दुःख लाग्छ तर यही हो हाम्रो राष्ट्रियता । आत्मनिर्भर हुन नसक्नेले राष्ट्रियता कुरा छाडिदिए हुन्छ । यस्तो राष्ट्रवाद खोक्रो आडम्बर र ढोङभन्दा बाहेक केही होइन ।
 
भारतसँग लड्न हातहतियारको नाममा खुकुरीको के कुरा ? हामीसँग हँसिया पनि छैन (भए पनि  भारतबाटै आयातित नै होला) । तै पनि भारतपछि हट (गो अफ इन्डिया) भनेर खुकुरी देखाउँदै टिकटक भिडियो बनाउन हामी पछि परेनौं । 
 
मैले बुझेको गुलामीको परिभाषा अलि फरक छ । नेपाल कहिल्लै गुलाम बनेन तर नेपालीहरू आफ्नै देशमै गुलाम (आर्थिक गुलाम, सांस्कृतिक गुलाम) भए विदेशीहरूबाट र जो देशमा छैनन् उनीहरू संसारभर गुलामी गर्न जान बाध्य भए । हामी जन्मनु अघिदेखि मृत्यु संस्कार हुँदै श्राद्ध गर्दा पनि पनि हामी अरूमा निर्भर छौं । जुन देशका मानिसहरू जन्मनु अघिदेखि मर्दासम्म कसैको भर पर्छन् भने यसलाई गुलामी नभने के भन्ने ? यो परिस्थिति सिर्जना हुनुमा हामी हरेक नेपाली जिम्मेवार छौं ।

आफूलाई चाहिने आवश्यक चिज पनि उब्जाएर वा उत्पादन गरेर खान नसक्ने हामी नेपाली नागरिक अझै स्वाभिमान, समृद्धि र राष्ट्रियताको कुरा गर्छौं । तपाईंलाई राष्ट्रको चिन्ता छ र समाजको समृद्धि चाहनुहुन्छ भने आचरण र जीवनशैली समाजलाई सही दिशामा लाने खालको बनाउनुहोस् । यदि बानी, व्यवहार, आचरण र जीवनशैली परिवर्तन गर्न सक्नुहुन्न भने, मुख बन्द गर्नुहोस्, कलम चलाउन छोड्नुहोस् । 

विश्वव्यापीकरणको युगमा सबै कुरा आफैंले  उत्पादन  गर्न पनि सकिन्न, जुन आर्थिक रुपमा व्यावहारिक पनि छैन । आयात–निर्यात विश्वव्यापी सत्य कुरा हो । यसलाई पूर्णतया नकार्न पनि सकिन्न । अरू देशको संगीत सुन्नु हुन्न, फिल्म हेर्नु हुन्न भन्ने पनि होइन तर आफ्नो संस्कृति, सामाजिक मूल्यमान्यता र अर्थ व्यवस्थालाई धरासायी बनाएर अरूलाई पोस्ने काम पनि त गर्नुभएन । पहिचान झण्डा, टोपी, सगरमाथा, बुद्धमा होइन, आत्मानिर्भरतासँग गाँसिएको हुन्छ ।

नेपालीको विलासी राष्ट्रवाद : जन्म र मृत्यु संस्कारदेखि श्राद्धसम्म भारतकै भर !सरकार बन्ला, विघटन होला, व्यवस्था परिवर्तन होला तर समाज यही तरिकाले गइरह्यो भने कहिल्यै परिवर्तन हुनेछैन । जीवन जिउने २ तरिका छन्, जो भइरहेका छन्, तिनलाई हुन दिनुहोस् र चुपचाप हेरेर/सहेर बस्नुहोस् वा चित्त बुझ्दैन भने त्यसलाई बदल्नका निम्ति आफ्नो ठाउँबाट आफूले गर्न सकिने जिम्मेवारी लिनुहोस् ।

कोरोना भाइरसको नाममा कालोबजारी गर्नेलाई कारवाही गर्ने नेविसंघको चेतावनी

५ फागुन, काठमाडौैँ÷ नेपाल विद्यार्थी संघका महामन्त्री दिपक भट्टराईले कोरोना भाइरसको नाममा कालोबजारी गर्नेलाई कडा कारबाही गरिने चेतावनी दिनुभएको छ । विश्वब्यापी कोरोनाको महामारी बढ्दै गर्दा भट्टराईले यस्तो चेतावनी दिनुभएको हो । उहाँले कोरोना भाइरसको संक्रमण हुन नदिन पुर्वतयारीको आवश्यकता औलाउनु भएको छ ।

रेडियो अन्नपूर्ण नेपालको कार्यक्रम मूल प्रवाहमा कुराकानी गर्दै उहाँले विपद्को बेला कालोबजारी गरेर जनतालाई दुख दिनेविरुद्ध आफुहरु लागिपरेको उल्लेख गर्नुभयो ।

वीपी विचार राष्ट्रिय समाज पोर्चुगलको संयोजकमा शेखर गजुरेल

४ चैत, काठमाडौैँ÷ वीपी विचार राष्ट्रिय समाजको पोर्चुगल शाखाको संयोजकमा शेखर गजुरेललाई नियुक्त गरिएको छ । वीपी विचार राष्ट्रिय समाजका सहसभापति गोविन्दराज जोशीले गजुरेललाई समाजको विधानको धारा १५ को दफा ४ बमोजिम नियुक्त गर्नुभएको हो । विदेशस्थित नेपाली समुदायबीच क्रमश ः समाजको संगठन एबम विस्तार गदै जान सकिने ब्यवस्था गरे अनुसार पोर्चुगलमा समाजको संगठन गठन गर्ने प्रयोजनका लागि संयोजकको विशेष जिम्मेवारी प्रदान गरिएको हो ।

सहसभापति जोशीले विधान , नियमावली, कार्यादेश एवम केन्द्रीय कार्यसमिति, नेपालको निर्देशनको अधिनमा रहेर सदस्यता वितरण गरि यो परिपत्र जारी गरिएको मितिले १ बर्षभित्र बढीमा २१ जनाको कार्यसमिति गठन गर्न गजुरेललाई निर्देशन दिनुभएको बताइएको छ ।  कार्यसमितिमा सभापति,उपसभापति,सचिव,सहसचिव,कोषाध्यक्ष, र सदस्यहरु समावेश गरि २१ जनाको कार्यसमिति गठन गर्नुपर्नेछ ।

प्रजातन्त्र सेनानी लालध्वज गुरुङकी धर्मपत्नी अमृताको निधनप्रति वीपी विचार राष्ट्रिय समाज दुःखीत

२८ फागुन, काठमाडौैँ÷ नेपालको प्रजातान्त्रिक आन्दोलनका सेनानी लालध्वज गुरुङकी धर्मपत्नी अमृता गुरुङको ९३ बर्षको उमेरमा निधन भएको छ ।
२०१७ साल पुष १ गतेको तत्कालिन राजा महेन्द्रको अप्रजातान्त्रिक र अराष्ट्रिय कदमको विरुद्धमा नेपाली काँगे्रसले सन्चालन गरेको शसस्त्र क्रान्तिका अगुवा लालध्वज र उक्त शसस्त्र क्रान्तिद्धारा चितवनको भरतपुरमा भएको आक्रमणको अग्रणी स्वर्गीय सेनानी लालध्वजकी धर्मपत्नीको २०७६ साल फागुन २७ गते निधन भएको हो ।

उहँँको चितवनको भरतपुर महानगरपालिकाका वडा नंवर १९ स्थित आफ्नै निवासमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।  स्वर्गीय अमृता गुरुङको निधनप्रति वीपी विचार राष्ट्रिय समाजले गहिरो दुःख ब्यक्त गरेको छ । उहाँको निधनप्रति वीपी विचार राष्ट्रिय समाजका सभापति केवी गुरुङ तथा सहसभापति गोविन्दराज जोशीले मृत आत्माको चीर शान्तिको कामना गदै सम्पूर्ण शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्नुभएको हो ।

काँगे्रस नेतृ सीता गुरुङको दाबी ः सभापति देउवालाई असफल बनाउन पार्टीभित्रै चलखेल

२५ फागुन, काठमाडौैँ÷ पूर्वमन्त्री एवं नेपाली काँगे्रसकी केन्द्रीय सदस्य सीता गुरुङले पार्टी सभापति शेरबहादुर देउवालाई असफल बनाउन पार्टीभित्र चलखेल भैरहेको आरोप लगाउनुभएको छ । १४ औैँ महाधिवेशनलाई निर्धारित समयमा सम्पन्न गराउन सभापति देउवाले विभाग गठन गर्नेदेखी क्रियाशील सदस्य वितरणको कार्यलाई तिब्रता दिएको उहाँको दाबी छ । सभापति देउवाले विभाग गठन लगायतका काममा वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतसँग समन्वय गर्न खोजेको भएपनि पौडेल पक्षीय नेताहरुले बहिस्कार गरेपछि बाध्य भएर देउवाले भातृ संगठन विस्तार, क्रियाशील सदस्यता वितरणको कार्यलाई तिब्रता दिएको उहाँको तर्क छ ।

रेडियो अन्नपूर्ण नेपालको कार्यक्रम मूलप्रवाहमा कुराकानी गदै उहाँले पार्टीलाई पुस्तान्तरण कुन रुपमा गर्ने भन्ने विषयमा नेतृत्वले सोच्नुपर्ने समय आएको बताउनुभयो ।

कोरोना सन्त्रास ः नेविसंघद्धारा काठमाडौैँमा १ हजार थान मास्क वितरण

२५ फागुन, काठमाडौैँ÷ नेपाली कांग्रेसको प्रमुख भातृ संगठन नेपाल विद्यार्थी संघ नेविसंघले मास्क वितरण गरेको छ । कोरोनाभाइरस संक्रमणको उच्च जोखिममा नेपाल पनि रहेकोले सतर्कता अपनाउनका लागि भन्दै नेविसंघले आज काठमाडौंको बानेश्वरमा एक हजार थान मास्क वितरण गरेको हो ।

२५ फागुन, काठमाडौैँ÷ नेपाली कांग्रेसको प्रमुख भातृ संगठन नेपाल विद्यार्थी संघ नेविसंघले मास्क वितरण गरेको छ । कोरोनाभाइरस संक्रमणको उच्च जोखिममा नेपाल पनि रहेकोले सतर्कता अपनाउनका लागि भन्दै नेविसंघले आज काठमाडौंको बानेश्वरमा एक हजार थान मास्क वितरण गरेको हो ।

विश्व स्वास्थ्य संगठनले नेपाललाई पनि कोरोनाभाइरस फैलन सक्ने उच्च जोखिममा रहेको सूचीमा राखेको छ । नेविसंघ भ्याली ईञ्जिनियरिङ कलेजका सभापति विनोद जोशी, महामन्त्री महेश्वरी कुँवरलगायतले मास्क वितरण गरेका हुन्। नेविसंघले देशैभर निस्शुल्क मास्क वितरण अभियान नै सुरू गर्ने नेविसंघ नेता अनुराग साहले जानकारी दिनुभयो ।

कांग्रेसले कोरोनाभाइरस संक्रमण सचेतनाका लागि भातृ संस्थालाई परिचालन गर्ने निर्णय यसअघिनै गरिसकेको छ ।

कांग्रेसकी सांसद डा. डिला संग्रौला भन्छिन : प्रिन्टिङ प्रेस प्रकरणको सत्यतत्थ्य बाहिर आउनुपर्छ

२३ फागुन,काठमाडौैँ÷ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौला पन्तले नेपालमा कोरोना भाइरस जसरी नै भ्रष्टाचार मौलाएको दाबी गर्नुभएको छ । आज बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद संग्रौलाले नेपालमा कोरोनाले तर्साएको जस्तै भ्रष्टाचारले पनि तर्साएको बताउनुभएको हो ।

उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यलाभको कामना गर्दै दृढ इच्छाशक्तिका कारण प्रधानमन्त्रीले शारीरीक रोग जित्न सफल भएको तर, भ्रष्टाचारलाई जित्न नसकेको बताउनुभयो ।

प्रधानमन्त्रीले भ्रष्टाचारीलाई संरक्षण गरेको भन्दै उहाँले प्रिन्टिङ प्रेस खरिदमा भएको भ्रष्टाचारको सत्यतथ्य बाहिर आउनुपर्ने बताउनुभयो । पुर्वमन्त्री गोकुल बाँस्कोटालाई कारबाही हुनुपर्नेमा उहाँको जोड छ ।

कोरोना भाइरसको कहर : सरकारको तयारी नपुगेको गगन थापाको आरोप

२३ फागुन, काठमाडौैँ÷ नेपाली काँगे्रसका सांसद गगन थापाले विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसलाई लिएर सरकारले ावशेष सजगता अपनाउनुपर्ने बताउनुभएको छ ।

नयाँ बानेश्वरस्थित संसद भवनमा बसेको प्रतिनिधि सभा बैठकमा उहाँले  नेपाल हालसम्म कोरोनाको संक्रमण नदेखिएपनि जोखिममुक्त नरहेको भन्दै विषेश सजगता अपनाउनु पर्नेमा जोड दिनुभएको हो ।

सार्वजनिक महत्वको प्रस्ताव दर्ता गर्दै थापाले नेपाल भित्रिने र बाहिरिने विदेशी तथा स्वदेशी नागरिकहरुको सम्बन्धमा पनि सरकार प्रष्ट नरहेको बताउनुभयो । उहाँले विदेशी नागरिकहरु निर्वाद रुपमा नेपाल प्रवेश गरिरहेको बताउनु भयो ।