के युद्धमा जालान् भारत र चीन?

,

42

मजस्तो ‘नन प्रोफेसनल’ लेखकले प्रायः आफ्नो मोजमस्ती, आमोदप्रमोद, भावना र अभिव्यक्ति सम्प्रेषण हेतु लेख्छन्। यसको पहिलो लक्ष्य एवं सर्त ‘स्वान्त सुखाय’ नै हुन्छ।

चीन-भारत र विश्वका अन्य कतिपय शक्तिशाली राष्ट्रहरुको काम कारवाहीले वर्तमानको परिदृश्य भीषण युद्ध उन्मुख हुँदै गइरहेको यथार्थलाई नजरअन्दाज गर्न सकिन्न। चीन- भारत बीच लद्दाखको गलवान घाटीमा भएको हिंस्रक भिडन्त विश्व शान्ति हरण गर्ने दिशाको संकेत होइन भन्ने आशा र विश्वास राख्नु सहज एवं बुद्धिमत्तापूर्ण आँकलन हुन सक्दैन।

यसै प्रकरणबारे एकजना पत्रकार मित्रसँग गफ हुँदा उहाँको अभिव्यक्तिले मलाई यसबारे लेखन विवश तुल्यायो। निश्चय पनि युद्ध विषयक लेख्दा मलाई कुनै सुखद अनुभूति हुँदैन।
निकट भविष्यमा चीन समावेश रहेको कुनै युद्ध भएको खण्डमा पहिलो कुरा त त्यसको श्रेय कोरोना भाइरसलाई जान्छ। चीनमाथि कोही जाइलागे अथवा चीन कसैमाथि जाइलागे ‘विवेक र प्रज्ञारहित’ इतिहासले त्यसको मूल कारणमा कोरोना भाइरस रहेको प्रमाणित गर्न किञ्चित पनि धक् मान्दैन।

विषयवस्तुमा प्रवेश गर्नुभन्दा पहिला विश्वप्रसिद्ध अर्थशास्त्रीहरुको भविष्यवाणी बारम्बार स्मृतिमा सल्बलाइरहेको छ। अधिकांश अर्थशास्त्रीहरुको परिकल्पनामा आउँदो एक दशकभित्र चीन विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र भएको देश हुनेछ। अर्थात वर्तमानमा २१ ट्रिलियन डलरको सबैभन्दा ठूलो अर्थतन्त्र भएको अमेरिका, १४ ट्रिलियन डलरको दोश्रो ठूलो अर्थतन्त्र भएको चीनबाट अत्यन्त फरक अन्तरले तेश्रो स्थानमा खुम्चिने छ। अर्थशास्त्रीहरुको ‘प्रोजेक्शन’मा २०३० सम्ममा चीनको अर्थतन्त्रले ६४ ट्रिलियन डलरको ग्राफ छुनेछ, भारतले ४६ ट्रिलियन डलरमा पुगेर (भारत वर्तमानमा ६ नम्बरको अर्थतन्त्र २ दशमलब ८४ ट्रिलियन डलर) अमेरिकालाई ३१ ट्रिलियन डलरको तेस्रो नम्बरमा खुम्च्याइदिने छ।

तर कुनै प्रकारले चीन र भारत युद्धमा गुथ्थमगुत्था भए भने निश्चय पनि अमेरिकाको बादशाहत कायम रहने छ। चीन र भारत बाहेक संसारको अन्य कुनै पनि देशसँग अर्थको मामलामा अमेरिकालाई पछि पार्न सक्ने क्षमता छैन।

चीन युद्धोन्मुख छ, भारत युद्धलोलुप छ। दुबै देश बीच निकट भविष्यमा हुन सक्ने सम्भावित युद्धको स्थानीय र क्षेत्रीय कारण र समस्या आदिको विश्लेषण गर्नुअघि यदि २०३० बारेको वैश्विक अर्थतन्त्रको परिकल्पनालाई महत्त्व दिइँदैन भने त्यस्ता सबै विश्लेषण एकांगी र अर्थहीन हुने छन्।

नबिर्सौँ- चीन र भारत युद्धमा होमिए भने त्यसबाट लाभान्वित हुनेमा अग्रणी अमेरिका, रूस र यूरोपियन देश नै हुने छन्। कोरोनाले थिलथिलो पारेको यी देशका अर्थतन्त्रलाई स्वास फेर्न युद्धजन्य सामग्रीको बिक्री हुनु अति आवश्यक छ। यो नहुँदा यिनीहरुलाई टिक्नै गाह्रो हुने अवस्था छ। युद्ध नभएको खण्डमा केही वर्षसम्म यिनीहरुको अर्थतन्त्र धानेको टेक्नोलोजी र अस्त्र शस्त्रको ग्राहक कुनै अर्को ग्रहबाट आउने होइन।

वर्तमानमा चीन विश्वको दोश्रो अर्थतन्त्र हुनुका साथै सैन्यशक्तिमा विश्वको तेश्रो शक्ति हो। पहिलो शक्तिबारे भनिराख्नु परेन, दोश्रो शक्ति रूस हो। चौथो नम्बरमा भारत नै आउँछ। हुन त अणु आयुध शक्ति सम्पन्नता हासिल गरेका देशहरुमा सैन्यशक्तिको चर्चा गर्दा पहिला-दोश्रो -तेश्रोको चर्चा गर्नुको कुनै औचित्य हुन्न। यस्ता देश बीच युद्ध भएको खण्डमा जीतको भविष्यवाणी गर्नु सम्भव छैन, हो मानवता पराजित हुने निश्चित छ। उत्तर कोरियासँग विश्वका समस्त शक्ति राष्ट्र थर्कमान हुनुको कारण यति मात्रै हो, ऊसँग पनि २०-३० वटा अणु बम छन्।

तेश्रो र चौथो सैन्य शक्ति संपन्न राष्ट्र के कस्ता कुराले सम्पन्न छन्? तपाईँलाई जान्न मन लाग्यो होला? सैन्य शक्तिमा ‘ग्लोबल फायर इंडेक्स’ बाट सैन्य शक्तिको मूल्याङ्कन हुन्छ र यो जति कम भए त्यति नै बलियो मानिन्छ। अहिलेसम्म ‘जिरो पावर इन्डेक्स’मा कुनै राष्ट्र पुगेको छैन। चीन यस ‘क्याटेगरी’मा ० दशमलब ०६९१ ‘पावरइंडेक्स’ का साथ तेश्रो तथा भारत ० दशमलब ०९५३ ‘पावरइंडेक्स’का साथ चौथो नंबरमा छ। पहिलो र दोश्रो नंबरमा शीतयुद्धका नाइकेहरु क्रमशः ० दशमलब ०६०६ तथा ० दशमलब ०६८१ अंकका साथ रहेका छन्।

२०१९ को तथ्यांक अनुसार सबै किसिमका सेनामा २०,३५००० सक्रिय सैनिक लिएर चीन विश्वकै सबैभन्दा बढी सक्रिय सैनिक हुने देश हो। यसका साथै चीनसँग ५,१०००० ‘रिजर्भ फोर्स’ पनि छ। तपाईँले परम्परागत रूपमा सुनेको जल ( नेभी), थल (ग्राउन्ड), नभ (एयरफोर्स) सेनाका अतिरिक्त आधुनिक विश्वमा सेनाका केही नयाँ अवतार पनि थपिएका छन्। ती हुन्- ‘रकेट फोर्स’ र ‘स्ट्रेजिक सपोर्ट फोर्स।’

‘रकेट फोर्स’ शब्दले नै बुझिन्छ ,’स्ट्रेजिक सपोर्ट फोर्स’ अन्तर्गत साइबर – स्पेस -इलेक्ट्रानिक ‘वारफेयर’ को काम हुन्छ। १७७ बिलियन डलर वार्षिक बजेट रहेको चीन यस मामलामा विश्वको दोश्रो रैंकिंगमा पर्छ।

१४,४४,५०० सक्रिय सैनिकका साथ भारत यस मामलामा चीन पछि दोश्रो नम्बरमा आउँछ। तर २१ लाख ‘रिजर्भ फोर्स’ रहेको भारतका दुबै सैन्य संख्या जोड्दा विश्वकै सबैभन्दा ठूलो सैनिक संख्या भएको देश हुन पुग्छ। अर्थात यसले चीनको ‘पीएलए’ – पीपुल्स लिबरेशन आर्मीलाइ उछिन्छ। भारतको वार्षिक सैन्य बजेट चीनको तुलनामा आधाभन्दा कम जम्मा ६७ बिलियन डलर रहे पनि रैंकिंगमा यो चीनपछि तेश्रो नम्बरमा आउँछ। विदेशी मुद्रा मौज्दातमा भने चीन विश्वकै अग्रणी छ। अप्रिल २०२० को तथ्यांक अनुसार चीनसँग ३१०० अर्ब डलरको सञ्चिति छ। भारत यस मामलामा धेरै पछाडि ४६८ अर्ब डलरको सञ्चितिका साथ आठौँ नम्बरमा छ। युद्धको समयमा यही सञ्चिति देशको सबैभन्दा ठूलो शक्ति साबित हुन्छ।

सामरिक शक्तिको कुरा गर्दा चीनसँग सबै खाले ‘एयरक्राफ्ट’को संख्या ३,२१० रहेको छ भने भारतसँग २,१२३ ‘एयरक्राफ्ट’ रहेका छन्। ‘एयरक्राफ्ट’मा सबैभन्दा शक्तिशाली मानिने ‘कम्ब्याट (combat) एयरक्राफ्ट’ चीनसँग १,२३२ छन् भने भारतसँग यिनको संख्या ५३८ छ। ‘कम्ब्याट एयरक्राफ्ट’ नै ‘एयरफोर्स’ को सबैभन्दा घातक साधन हो। यिनले आकाशमा भिडन्त गर्नुका साथै आकाशबाट पृथ्वीमा सफल लक्ष्यभेदन गर्न सक्छन्। भारत र चीन बीच युद्ध भएको खण्डमा तिब्बतको उचाइ दुबै देशलाई अफाप सिद्ध हुने छन्। प्रायः ‘कम्ब्याट एयरक्राफ्ट’ मा जेट इन्जिन हुन्छ। जेट इन्जिन सक्रिय हुन अक्सिजन आवश्यक हुन्छ। ५-६ हजार मिटरसम्म त तिब्बतकै उचाइ छ। दुबै देशका ‘कम्ब्याट’ विमानले यो उचाइ पार गर्न यो भन्दा माथिबाट उडेर लक्ष्यमा पुग्नु पर्ने हुन्छ। यस कारणले यी विमानको अस्त्र शस्त्र बोक्ने क्षमता एक तिहाइभन्दा पनि कम हुन जान्छ।

विश्वका चार देशसँग हजारौँ किमीमाथि घुमिरहेकास्याटेलाइटलाई टुक्राटुक्रा पार्ने क्षमता छ। चीन भारतबाहेक यस पंक्तिमा अमेरिका रूस नै अग्रणी छन्। तर आफ्नो बाहेक अन्य देशकास्याटेलाइटलाई सटिकलोकेटगर्ने क्षमता अमेरिका रूस बाहेक चीनभारत दुबैसँग छैन। हो,’लोकेटभए पछि टुक्राटुक्रा पार्ने क्षमता भने चीन भारतसँग छ।

यसैगरी चीनसँग ‘अट्याक एयरक्राफ्ट’ ३७१ र भारतसँग १७२ छन्। चीनसँग रहेको ‘जे-२०’ नामक ‘ एयरक्राफ्ट’ ले एकै पटकमा १२ वटा लक्ष्यमा आक्रमण गर्न सक्छ भने भारतसँग रहेको ‘सुखोई एयरक्राफ्ट’ले एकै पटकमा १६ वटा लक्ष्य भेदन गर्न सक्छ। चीनसँग सैनिक र युद्ध सामग्री ओसार पोसार गर्ने २२४ ठूला विमान छन् भने भारतसंग यिनको संख्या २५० छ।

युद्धमा हेलिकप्टरको बेग्लै महत्व हुन्छ। चीनसँग हेलिकप्टर संख्या ९११ छ भने भारतसँग ७२२ छन्। भारतसँग एमआई-१७ भी-५ र चिनूक जस्ता आधुनिक हेलिकप्टर छन्। ‘अटयाक हेलिकप्टर’ चीनसँग २८१ छन् भने भारतसँग जम्मा २३ वटा छन्। तर भारतसँग एमआई -२४ र अपाचे जस्ता अति उन्नत र नया प्राविधि सम्पन्न हेलिकप्टर छन्। अपाचे हेलिकप्टरको विशेषता के छ भने यसमा रहेको गनले निशाना लाउनु पर्दैन। पाइलटका आँखाले जता हेर्छन्, अटोमेटिक रूपमा गनले त्यही ‘फायर’ गर्छ। अर्थात यसको गन पाइलटको आँखाले नै सञ्चालित हुन्छ।

थल सेनासँग शक्तिको रूपमा चीनसँग ३५,००० ट्यांक छन्, भारतसँग जम्मा ४,२९२ ट्यांक छन्। अर्को युद्ध सामग्री ‘आर्म्ड भीहाइकल’ चीनसँग ३३,००० र भारतसँग ८,६८६ छन्। ‘सेल्फ आर्टलरी’ चीनसँग ३,८०० र भारतसँग २३५ छन्। चीनसँग ‘फिल्ड आर्टलरी’ ३,६००, भारतसँद्बग ४,०६० छन्। चीनसँग ‘रकेट लञ्चर ‘ २,६५० तथा भारतसँग २६६ छन्।

‘नेभी’को मामलामा चीनसँग जहाज संख्या ७७७ छ भने भारतसँग यो संख्या २८५ छ। अति विशाल ‘एयरक्राफ्ट कैरियर’ जहाज चीनसँग २ वटा र भारतसँग जम्मा १ छ। ‘साइलेन्ट किलर’ का नामले कुख्यात ‘सबमरिन’ चीनसँग ७४ र भारतसँग १६ वटा मात्रै छन्। भारतका अधिकांश ‘सबमरिन’ पुराना तथा पुरानो प्राविधियुक्त छन्। भारतले यो कमी पूरा गर्न अमेरिकाको ‘सबमरिन हन्टर’ भनिने ‘पी-८ आई’ विमान राखेको छ। यो विमानले माथि आकाशबाट पानीमुनि रहेका ‘सबमरिन’लाई ‘लोकेट’ गरी निशाना बनाउन सक्छ।। ‘नेभी’ सँग हुने अर्को जहाज जसलाई ‘ड्रेस्टायर’ भनिन्छ, यस्ता जहाज चीनसँग ३६ र भारतसँग १० मात्रै छन्। यसैगरी अर्को घातक जहाज जसलाई ‘फ्रिगेट’ भनिन्छ, चीनसँग ५२ तथा भारतसँग १९ रहेका छन्। समुद्रमा ‘पेट्रोलिङ’ गर्ने जहाज चीनसँग २२० र भारतसँग १३९ छन्। क्षेत्रफल, स्थानीय समस्या र छिमेकी शत्रुको आँकलन गर्दा चीनसँग रहेको सैनिक उपकरण बढी भए पनि भारत उसको तुलनामा कमजोर छैन। कारण चीनले भारतसँगको युद्धमा आफ्ना सबै शक्ति भारतविरुद्ध होम्न सक्दैन। आफ्नो विशाल क्षेत्रको सुरक्षा, स्थानीय समस्या र छिमेकको सुरक्षामा उसले आँखा चिम्लन मिल्दैन।

परम्परागत सैन्य शक्ति बाहेक दुबै देशसँग पर्याप्त भन्दा पनि पर्याप्त मात्रामा ‘क्रूज’ ,’बैलेस्टिक’ ,’इंटरकन्टिनेन्टल’,र ‘हाइपर सोनिक’ मिसाइल छन्। सबैभन्दा चर्को र विनाशकारी भनेर चिनिने एटम बम चीनसँग झण्डै ४०० र भारतसँग झण्डै १५० रहेका छन्। के यत्रा विघ्न सैन्य शक्ति भएको देश बीच युद्ध भयो भने विनाश बाहेक अन्य केही परिणाम आउने अपेक्षा गर्न सकिन्छ?

चीनलाई पनि थाहा छ- भारतलाई पनि थाहा छ किनकि जब म जस्तो सामान्य लेखकलाई थाहा छ भने यी देशका सरकार र सेनालाई थाहा छैन भन्ने विश्वास गर्न सकिन्न। चीन र भारतका बीचको उच्च हिमाली सीमाले ‘ग्राउन्ड आर्मी’ सँग भएका ठुलठूला घातक /मारक ट्यांकको त्यति साह्रो उपयोग हुन सक्दैन। दुबैका बीच ‘नेभी’को उपयोग पनि सीमित नै हुन्छ। बढी भूमिका ‘एयरफोर्स’ कै हुन्छ, क्रूज, बैलेस्टिक र विभिन्न मिसाइलकै हुन्छ। दुबैसँग घरमा बसी बसी एक अर्काको जुनसुकै शहर ध्वस्त गर्न सक्ने क्षमता छ।

अलिक फरक चर्चा गर्दै समाप्तितिर उन्मुख हुन चाहन्छु। अबको हुने जुनसुकै युद्ध अति नै ‘हाइटेक’ हुन्छ। यस्तो ‘हाइटेक’ कि यसले ‘हाइटेक’ प्रणालीलाई नै ध्वस्त बनाइदिन्छ। तपाईँलाई विदित नै छ ‘हाइटेक’ को सम्बन्ध ‘स्याटेलाइट’सँग हुन्छ। पृथ्वी सतहबाट ४ सय किमी माथि (लो अर्थ अर्बिट) देखि ४०००० किमी माथि ( हाई अर्थ अर्बिट) फनफनी घुमिरहेका ‘सैटेलाइट’ले अनेक तवरले हामीलाई ‘हाइटेक’ हुने सुविधा उपलब्ध दिएका छन्।

विश्वका चार देशसँग हजारौँ किमीमाथि घुमिरहेका ‘स्याटेलाइट’लाई टुक्राटुक्रा पार्ने क्षमता छ। चीन र भारतबाहेक यस पंक्तिमा अमेरिका र रूस नै अग्रणी छन्। तर आफ्नो बाहेक अन्य देशका ‘स्याटेलाइट’ लाई सटिक ‘लोकेट’ गर्ने क्षमता अमेरिका र रूस बाहेक चीन-भारत दुबैसँग छैन। हो,’लोकेट’ भए पछि टुक्राटुक्रा पार्ने क्षमता भने चीन र भारतसँग छ।

अब हुने युद्धमा सबैभन्दा चर्को मूल्यमा बिक्ने कुरा यही ‘टेक्नोलोजी’ हुनेछ। युद्धमा संलग्न देशले एक अर्काका अनेक थरिका ‘स्याटेलाइट’ ध्वस्त गरेर एक अर्कालाई पंगु बनाउने होडबाजी हुन्छ। युद्धको फैसला जल, थल, नभबाट होइन, सुदूर अन्तरिक्षमा गरिएको ‘अप्रेसन’ले निर्धारित गर्छ। चीनले यस कुरामा गहिरिएर विचार पुर्‍याउनुपर्ने आवश्यकता छ। वर्तमान परिस्थिति अनुसार अमेरिकाले भारतलाई यो प्रविधि सहजै उपलब्ध गराउँछ। रूससँग भारतको पुरानो विशेष सम्बन्ध नै छ। आर्थिक लोभले रूसले यो प्रविधि चीनलाई दिनसक्छ भन्ने सम्भावनालाई इन्कार गर्न सकिन्न। तर, तर, तर यो यस्तो युद्ध हुनेछ जसले पहिला हान्यो- ‘द गेम इज ओभर।’ आफ्ना ‘स्याटेलाइट’ ध्वस्त भएपछि सबै प्रविधि हुँदाहुँदै पनि ‘स्याटेलाइट’को सहयोग बिना केही गर्न सकिन्न।

चीन र भारतबीच रहेको ३,४८८ किमी बोर्डर अथवा गलवान घाटी, नाथुला पास वा तवांग घाटीको केही विवादित भूमिका लागि के दुबै देशले युद्ध गर्न न्यायोचित हुन्छ?

यसबारे पहिलो कुरा चीनले भारतलाई १९६२ को भारत (जुन बेला त्यहाँका सैनिकसँग राम्रा हथियार त के राम्रा जुत्तासम्म थिएनन्।) सम्झिने भूल गर्नु हुन्न। चीन तेश्रो नम्बरको शक्तिशाली देश हो भने भारत पनि चौथो नम्बरको सैन्य शक्ति भएको देश हो। छिमेकी र घरेलु शत्रुको हिसाब गर्दा त चीनको सामर्थ्य भारतभन्दा पनि कम हुन जान्छ। दोश्रो कुरा १९६२ पछि पटकपटक चीनबाट सीमाना उल्लंघन हुँदा भारतमा नेहरू -गान्धीको ‘सेक्युलिरिजम’मा हुर्केका सत्तासीन थिए जसले चीनको ‘प्रोपोगन्डा र बार्गेनिङ’ सामु घुँडा टेके। अहिले भारतमा’ नैनम छिदन्ति शस्त्राणि नैनम दहति पावकः’ मा विश्वास गर्नेहरु सत्तासीन छन्।

गलवानमा भएको हिंस्रक झड़प मत्थर हुन्छ कि यसले झनै व्यापकता लिन्छ अर्थात दुबै देशबीच युद्ध हुने कि नहुने यसको एकलौटी निर्णय गर्ने अधिकार चीनसँग रहेको छ। भारत आफैँ युद्धमा जाँदैन तर एक इन्च पनि पछाडि सर्दैन। यसबाहेक विश्वका अन्य शक्ति जसरी पनि यी दुबैको भिडन्त गराउने सुरसारमा छन्।

भारतको तर्फबाट ‘ट्रेडवार’ शुरू नै भइसक्यो। नागरिक स्तर र सरकारी स्तर दुबैबाट चीनलाई प्रतिबन्ध लाउने एकपछि अर्को निर्णय भइरहेका छन्। संसारभरिकै मान्यता विपरीत ‘लाइन अफ एक्चुअल कन्ट्रोल” मा भारत सरकारले आफ्ना सैनिकलाई हथियार बोक्ने र प्रयोग गर्ने सम्मको अनुमति दिइसकेको छ।

निकट भविष्यमा संसारकै स्वरुप परिवर्तन गर्न सक्ने महायुद्ध हुने अथवा टर्ने चिनियाँ राष्ट्रपतिकै बुद्धि र विवेकमा निर्भर छ। अमेरिकी राष्ट्रपति निर्वाचनसम्म उनले संयम कायम राख्न सके भने चुनावको परिणाम जे भए पनि (ट्रम्प नै निर्वाचित भए पनि, यसकै सम्भावना प्रतिशत बढी छ) विश्वको राजनीतिक र अन्य परिदृश्य परिवर्तित हुन्छन्। अमेरिकाले अहिले नै दक्षिणी सागरमा दुईवटा ‘फ्लिट’ तैनाथ गरे पनि यो सैन्य रणनीतिको धमासबाज़ी मात्रै हो। अमेरिका चीनसँग आफै युद्धमा होम्मिने काम गर्दैन।

अमेरिकाको सारा प्रयास २०३० मा आर्थिक रूपमा उसलाई पछार्ने चीन र भारतलाई भिडाउने हो। चीन-भारतले यो कुरा नबुझेका होइनन् तर ‘विनाश काले विपरीत बुद्धि’ यी दुईका सन्दर्भमा के कति सत्य साबित हुन्छ त्यो निकट भविष्यमै साबित हुन्छ।

असार १०, २०७७ मा प्रकाशित

42

प्रतिक्रिया दिनुहोस्